सङ्घीय सरकारको आर्थिक गतिविधि बारे अद्यावधिक गराउने क्रममा ट्रेजरर् जस फ्राइडनबर्गले बिहीबार बजेट घाटा बारे ती जानकारी क्यानबेरामा सार्वजनिक गरेका हुन्।
सोही अवसरमा बोल्दै ट्रेजरर् फ्राइडेनबर्गले चालू आर्थिक वर्षको बजेट घाटा अघिल्लो वर्षमा भन्दा करिब १०० अर्वले बढ्ने अनुमान पनि गरेका छन्।
"यी कठोर सङ्ख्याले हामीले सामना गर्ने कठोर वास्तविकतालाई प्रतिबिम्बित गर्दछ," उनले आर्थिक तथा वित्तीय अवस्था बारे अद्यावधिक गराउँदै पत्रकारहरूलाई भने।
"कोरोनाभाइरसको प्रभावले राजश्व असुलीमा ठुलो गिरावट आएको छ र सरकारी भुक्तानीमा ठुलो वृद्धि भएको छ।"
गत आर्थिक वर्षको अन्त्यसम्ममा राष्ट्रिय ऋण ४८८.२ अर्व रहेकोमा चालू आर्थिक वर्ष सकिने अवधिसम्म सो ऋण भार बढेर ६७७.१ अर्व पुग्ने बताइएको छ।
कुल गृहस्थ उत्पादनको लगभग एक चौथाइ रहेको अघिल्लो आर्थिक वर्षको राष्ट्रिय ऋण हाल चालू आर्थिक वर्षको अन्त्यसम्ममा भने बढेर एक तिहाइ पुग्ने अनुमान रहेको छ।
सरकारले आर्थिक मन्दीको प्रभावलाई कम गर्न झन्डै ३०० अर्व डलर खर्च गरिसकेको छ जुन अस्ट्रेलियाको कुल कुल गृहस्थ उत्पादनको १५ प्रतिशतको हाराहारी हुन आउँछ।

यसै गरी, फ्राइडेनबर्गले अस्ट्रेलियाको बेरोजगारी दर डिसेम्बर महिनामा हालसम्मकै सर्वाधिक ९ प्रतिशत पुग्ने अनुमान गरेका छन्।
ट्रेजरर्ले भने कि यसरी पैसा खर्च गरिँदा करिब ७०,००० रोजगारी जोगाउन सरकार सफल हुनुका साथै बेरोजगारी दरलाई पहिले अनुमान गरिएको भन्दा ५ प्रतिशतले कममा सीमित गर्न सकिएको छ।
आधिकारिक बेरोजगार दर जुनमा ७.४ प्रतिशत थियो र २०२०/२१ मा औसत बेरोजगारी दर ८.७५ प्रतिशत हुने अनुमान गरिएको छ।
राजश्वमा कमी हुँदै गर्दा सङ्घीय सरकारले जबकीपर र जबसीकर जस्ता सामाजिक भत्ताका लागि करिब १६४ अर्व डलर खर्च गर्न विनियोजन गरिसकेको छ।
उता, विश्वको कुरा गर्दा भने, अभूतपूर्व रूपमा करिब ११ खर्व डलर खर्चेर विश्व अर्थव्यवस्थालाई निरन्तरता दिन खोजिरहेको अवस्था छ।
फ्राइडनबर्गले विश्वको अन्य कुनै पनि राष्ट्रको तुलनामा अस्ट्रेलियाले सङ्कटको यस घडीमा, आर्थिक रूपले राम्रै प्रदर्शन गरिरहेको बताए।
"हाम्रो ऋणको भार बढे पनि तुलनात्मक हिसाबले भन्नुपर्दा अन्य तुलनिय देशहरूको भन्दा हामी राम्रो अवस्थामा छौँ।"
विशेष गरेर भिक्टोरियामा कोरोनाभाइरसको दोस्रो लहरले निम्त्याएको चुनौतीहरूका कारणले गर्दा उनले भविष्य प्रतिको दृष्टिकोण अनिश्चित बनेको बारे टिप्पणी गर्दै भने, "(यो) भाइरससँग लड्ने क्रममा हाम्रो राष्ट्रिय आर्थिक सुधारको गति र गतिलाई त्यसले कसरी असर गर्न सक्छ भन्ने बारे यस घटनाले हामीलाई नराम्ररी झकझक्याइदिएको छ," उनले भने।
अर्थमन्त्री माथियस कोर्मनका अनुसार भने त्यस बेलासम्म सरकार आगामी एक दशककै मध्यम स्तरको आर्थिक प्रक्षेपण गर्ने स्थितिमा हुनेछ।
बजेटको बेला सम्ममा भिक्टोरियाको दोस्रो लकडाउनको प्रभाव बारे पनि विस्तृत जानकारी आउने बताइएको छ।
एक अनुमान अनुसार भिक्टोरियामा देखिएको कोरोनाभाइरसको दोस्रो लहरको प्रभावले देशको अर्थतन्त्रमा करिब ३.३ अर्वको खती हुनेछ।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे थप जानकारी यहाँ उपलब्ध छ।
रुघा खोकी वा चिसो लागेको लक्षण देखा परे तपाईंले घरमा नै बसेर आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गरी परीक्षणका लागि समय मिलाउनुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो भने वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा भने ००० (ट्रिपल जिरो)मा फोन गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

