संयुक्त राज्य अमेरिकामा १ लाख ३३ हजार बढीको कोभिड-१९ का कारण मृत्यु भएको, २० लाख बढी सङ्क्रमित भएको र दैनिक नै नयाँ रेकर्ड राख्ने गरी सङ्क्रमित र मृतकहरूको सङ्ख्याबारे खबरहरू आइरहँदा देशका राष्ट्रपतिले भने सबैभन्दा खराब समय काटेको बताएका हुन्।
उनले अब विश्वकै सबैभन्दा ठुलो अर्थतन्त्रलाई सुचारु गर्न भाइरस सङ्क्रमण नियन्त्रणका लागी जारी गरिएको प्रतिबन्धहरू हटाएर देशलाई खुल्ला गर्ने तर्फ निर्देशिका तयार पार्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
राष्ट्रपति ट्रम्पले कोभिड-१९ सँग लड्न आफ्नो 'आक्रामक कदमले' प्रभावकारी काम गरेको पनि दाबी गरेका छन्।

युरोपेली राष्ट्रहरू जर्मनी, डेनमार्क, फिनल्यान्ड लगायतले निकै सजगता पूर्वक केही क्षेत्रहरूलाई खुल्ला गर्ने निर्णय गरेका छन्।
तर न्युजील्याण्डकि प्रधानमन्त्री जसिन्डा आर्डेनले देश पूर्णतया सामान्य अवस्थामा आउन धेरै समय लाग्ने बताएकी छन् भने बेलायत तथा बेल्जियमले लकडाउनलाई थप्ने निर्णय गरेका छन्।
विश्व स्वास्थ्य सङ्गठनले पनि खोप निर्माण नहुन्जेल सम्म अवस्था सामान्य हुन नसक्ने बताएको छ।
अमेरिका धेरै लामो समय सम्म बन्द अवस्थामा बस्न नसक्ने प्रतिक्रिया दिँदै आएका राष्ट्रपति ट्रम्पले अब नयाँ सङ्क्रमितहरूको सङ्ख्यामा कमी आउन थालेको दाबीका साथ प्रतिबन्धहरूलाई खुल्ला गर्ने बताएका हुन्।
यस अघि उनले विश्व स्वास्थ्य सङ्गठन चीन केन्द्रित रहेको भन्दै सङ्गठनलाई प्रदान गर्ने गरिएको अनुदान रोक्का गर्ने निर्णय गरेका थिए।
ट्रम्प र विश्व स्वास्थ्य सङ्गठनको जुवारी:
विश्व स्वास्थ्य सङ्गठनलाई प्रदान गर्ने गरेको अनुदानलाई स्थगित गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको सर्वत्र आलोचना भएको छ।
कोभिड-१९ बाट सङ्क्रमितहरूको सङ्ख्या २० लाख काटेको परिस्थितिमा अमेरिकाले सङ्गठनको साथ छोड्नुलाई विश्वभरका राष्ट्र प्रमुखहरूले खराब कदम भएको बताएका छन्।
कोभिड-१९ बाट सबैभन्दा बढी प्रभावित अमेरिकाले सङ्गठनको कदम चित्त बुझ्दो नभएको भन्दै आर्थिक सहयोग नगर्ने निर्णय गरिरहँदा अन्य राष्ट्रहरूले पनि यो महामारी नियन्त्रणका लागी आफ्नो देशको परिस्थिति सुहाउँदो उपायहरू अवलम्बन गरेका छन्।
संयुक्त राज्य अमेरिका विश्व स्वास्थ्य सङ्गठनलाई सबैभन्दा ठुलो राशिको आर्थिक सहयोग गर्ने राष्ट्र हो।
गत वर्ष सन् २०१९ मा अमेरिकाले सङ्गठनलाई ४० करोड अमेरिकी डलर भन्दा बढी रकम सहयोग गरेको थियो जुन सङ्गठनको कुल बजेटको १५ प्रतिशत हो।
सङ्गठनले चीनलाई बढी प्राथमिकता दिएको भन्दै राष्ट्रपति ट्रम्पले उक्त सहयोग रकम रोक्का गर्ने निर्णय गरेका छन्।
तर सङ्गठनले ट्रम्पको उक्त भनाइलाई लक्षित गर्दै कसैले पनि यो महामारीलाई आफ्नो व्यक्तिगत राजनीतिको लागी प्रयोग गर्न नहुने बताएको थियो।

ट्रम्पको उक्त निर्णयलाई लिएर अन्य राष्ट्रका नेताहरूबाट भने खेद प्रकट गरिएको छ।
अस्ट्रेलियाका ट्रेजरर जस फ्राइडेनबर्गले अमेरिकाको निर्णयलाई एक सार्वभौम राष्ट्रको निर्णयको रूपमा सम्मान गर्ने भए पनि अस्ट्रेलिया उक्त निर्णयको पछि नलाग्ने स्पष्ट पारेका छन्।
राष्ट्रपति ट्रम्पको सङ्गठनलाई लिएर असन्तुष्टि भनेको विश्व स्वास्थ्य सङ्गठन 'चीन केन्द्रित' हुनु र कोरोना भाइरसलाई लिएर चीनले चालेको कदमको समर्थन गर्नु भनेका छन्।
तर चिनिया विदेश मन्त्रालयका प्रवक्ता ज़ाओ लिजियानले पुरा पृथ्वीको भलाइका लागी पनि अमेरिकाले सङ्गठन प्रतिको आफ्नो कर्तव्य पुरा गर्नु पर्ने बताएका छन्।
त्यस्तै विश्व स्वास्थ्य सङ्गठनका प्रमुख निर्देशक टेड्रस अधानम गेब्रिएससले अमेरिकाको उक्त कदम दुखद भएको बताएका छन्।
विश्व स्वास्थ्य सङ्गठन अन्तर्गतको आपतकालिन स्वास्थ्य कार्यक्रमका निर्देशक डा. माइक रयानले कोभिड-१९ को जोखिम बारे अन्य राष्ट्रहरूलाई सचेत गराउन ढिला गरिएको भन्ने राष्ट्रपति ट्रम्पको आरोप अस्वीकार गरेका छन्।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।
