SKIP TO MAIN CONTENT

कोरोना सङ्कट: भिक्टोरियामा थप ५६ मानिसमा सङ्क्रमण, थप कडा व्यवस्था लागू गर्ने तयारी

मङ्गलवार बिहान सार्वजनिक गरिएको सरकारी आँकडा अनुसार भिक्टोरियामा सोमवार थप ५६ जनामा कोभिड-१९ को सङ्क्रमण देखिएको छ।

Victorian Premier Daniel Andrews
Victorians self-isolating due to coronavirus with no access to food and essential supplies will receive emergency relief packages Source: AAP

2 min read

Published


Skip to article content

एक स्थानीय रेडियो स्टेसनसँग बोल्दै प्रिमियर ड्यानियल एन्ड्रुजले द्रुत रूपमा सङ्क्रमणका मामिलाहरू बढ्नु गम्भीर चिन्ताको विषय रहेको बताएका छन्।

“यदि भिक्टोरियाली समुदायले यस विषयलाई गम्भीरताकासाथ नलिए यो सङ्ख्या निरन्तर बढिरहनेछ,” उनले ट्रिपल एम रेडियोसँग बोल्दै भने।

एन्ड्रुजले आज साँझ हुने प्रधानमन्त्री स्कट मरिसनसँगको राष्ट्रिय क्याबिनेट बैठकपछि थप कडा कदमहरू चाल्न आफू पछि नहट्ने बताए।

“यो त पहिलो चरण मात्र हो। अब दोस्रो चरण लागू गरिने छ र त्यस पछि पनि अवस्था हेरेर थप कडाइ लागू गर्नुपर्ने स्थिति आउन सक्छ।”

“भाइरसलाई फैलनाबाट रोक्न जस्तो सुकै पनि उपाय अवलम्बन गर्न सकिनेछ,” उनले भने।

भिक्टोरियालीहरूले आफ्नो जीवन यापनमा व्यापक फेरबदल गर्नुपर्ने पनि प्रिमियर एन्ड्रुजको भनाई छ।

“धेरै मानिसहरूले सामाजिक दुरीको अभ्यास गरिरहेका छैनन् र अरू सामान्य अवस्थामा झैँ जीवन यापन गरिरहेका छन्। यदि यही क्रम जारी रह्यो र भाइरस फैली नै रह्यो भने थुप्रै मानिसहरूले आफ्नो ज्यान गुमाउने छन्,” उनले अगाडी भने।

ड्यानियल एन्ड्रुजले युवाहरू पनि अन्य जोखिम उमेर समूहका मानिसहरू जस्तै बिरामी हुने र उनीहरूलाई पनि सङ्क्रमण भए सघन उपचार आवश्यक पर्ने चेतावनी दिए।

“तपाईँ एक हट्टाकट्टा नौजवान हुनुहुन्छ र मलाइ त खाली रुघा खोकी लाग्ने त हो नि भनेर सोच्दै हुनुहुन्छ भने तपाईँ गलत सोच्दै हुनुहुन्छ।”

उनले बितेको हप्ता विदेशबाट फर्केका हजारौँ मानिसहरूलाई क्वारेन्टिनमा बस्नुपर्नेमा विशेष जोड दिएका छन्।

“यदि प्रहरीले तपाईँको घरको ढोका ढक्ढकाउन्दा तपाईँ घरमा भेटिनुभएन भने, मानिलिनुहोस् कि तपाईँ एकदमै ठुलो समस्यामा पर्नुहुनेछ।”

पछिल्लो विवरण सहित भिक्टोरिया राज्यमा मात्र हालसम्म ४११ जनालाई कोरोनाभाइरसले सङ्क्रमित गरिसकेको छ।

कोरोनाभाइरसको प्रमुख लक्षणका रूपमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने र घाँटी दुख्ने, थकान र सास लिन गाह्रो हुने सङ्घीय सरकारको स्वास्थ्य विभागको वेबसाइटमा उल्लेख छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।

यदि तपाईँ सास फेर्न सङ्घर्ष गर्दै हुनुहुन्छ वा आपतकालिन स्वास्थ्य समस्यामा हुनुहुन्छ भने ००० (ट्रिपल जिरोमा) कल गर्नुहोस्।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now