रिजनल भिक्टोरियामा बस्नेलाई कोभिड-१९ परीक्षण गराउन राज्य सरकारको आग्रह

लक्षण देखापर्नासाथ कोरोनाभाइरसको परीक्षणका लागि अगाडि आउन राज्य सरकारले रिजनल भिक्टोरियामा बस्ने मानिसहरूलाई प्रोत्साहन गरेको छ।

Jenny Mikakos

Source: AAP

भिक्टोरियाको क्षेत्रीय तथा ग्रामीण भेकमा कोरोनाभाइरस भित्र-भित्रै फैलिरहेको आशङ्काका बिच राज्य सरकारले ती सङ्क्रमणका घटनालाई य‍थाशिघ्र पत्ता लगाउन मानिसहरूलाई परीक्षणका लागि आग्रह गरेको हो।

ज्यानुअरी महिना यता रिजनल भिक्टोरियामा ९० परीक्षण केन्द्रहरूबाट करिब ३ लाख ६० हजार परीक्षण सम्पन्न भइसकेको राज्य सरकारको भनाई छ।

रिजनल भिक्टोरिया मध्ये जीलङमा सबैभन्दा बढी सङ्क्रमणका मामिला रहेकोमा गएको हप्ता यता भने मेलबर्न भन्दा करिब १०० किलोमिटर पश्चिममा रहेको ब्यालाराट सहरमा सङ्क्रमण वृद्धिदर माथि उक्लिएको देखिएको छ।

त्यसै गरी अर्को ठुलो क्षेत्रीय सहर बेन्डिगोमा सङ्क्रमण दर स्थिर रहेता पनि चिन्तायोग्य सङ्ख्यामा बिरामी मानिसहरू रहेको बताइएको छ।

राज्यकी स्वास्थ्य मन्त्री जेनी मिकाकोसले यी तीनै प्रमुख क्षेत्रीय सहरहरूमा रहस्यमयी सङ्क्रमणका घटनाहरू रहेको उल्लेख गर्दै आपतकालिन स्थितिको समन्वय गर्न इन्सिडेन्ट म्यानेजमेन्ट टिम्स (आएमटी) भनिने घटना प्रबन्धन टोलीहरूको गठन गरिएको बताइन्।

"यो एकदमै सरुवा भाइरस हो र यसबाट रिजनल भिक्टोरिया अछुतो छैन," उनले भनिन्।

"हरेक सङ्क्रमणलाई पत्ता लगाउन र अरू फैलन नदिन हामीले आवश्यक सबै कदम चाल्न जरुरी छ।"

मिकाकोसका अनुसार मानिसहरूले परीक्षणका लागि उपस्थित भइदिए, समुदायलाई सुरक्षित राख्न ठुलो टेवा मिल्नेछ।

भिक्टोरियाली स्वास्थ्य अधिकारीहरूले आएमटीको काम परीक्षणका अलावा सङ्क्रमित मानिसहरूलाई कल्याणकारी सेवा तथा सहायता उपलब्ध गराउनु समेत रहेको बताएका छन्।

बेन्डिगोको हकमा स्थानीय स्वास्थ्य सेवाले कन्ट्याक्ट ट्रेसिङको काम गरिरहेको र बल्क बिलिङ गर्ने जीपीका क्लिनिकहरू मार्फत निःशुल्क परीक्षणको व्यवस्था मिलाइएको पनि जेनी मिकाकोसले बताएकी छिन्।

मानिसहरूले लाट्रोब विश्वविद्यालय अन्तर्गतको रुरल हेल्थ स्कुल, बेन्डिगो हेल्थ हस्पिटल रेस्पिरेटोरी क्लिनिक र बेन्डिगो रेस्पिरेटोरी क्लिनिकमा गएर पनि आफूहरूलाई कोरोनाभाइरस भए-नभएको जँचाउन सक्ने बताइएको छ।

सोही अनुसारको व्यवस्था ब्यालाराटमा पनि उपलब्ध गराइएको मिकाकोसले जानकारी दिइन्।

"हामी चहान्छौं कि मानिसहरूलाई परीक्षण गर्न कुनै किसिमको बाधा अड्चन नहोस्," उनले भनिन्।

"त्यसैले हामीले परीक्षण स्थलहरूको दायरा बढाएका छौँ र सङ्ख्या थप गरेका हौँ।"

स्वास्थ्य मन्त्रीले अल्वरी-वड्ङ्गामा कोभिड रिजनल रेस्पन्स युनिट सेवा सुरु गरिएको पनि जानकारी दिइन्।

आफ्नो नजिकैको परीक्षण केन्द्रको बारेमा थाहा पाउन https://www.dhhs.vic.gov.au/where-get-tested-covid-19 जानुहोस्।

fc2d7def-0aed-4f99-86a9-b01c3c0d2ec6

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।  

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्: 

88df8a89-2c04-41a7-baa8-58337fe4219c


Share

3 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now