देशकै सबैभन्दा पुरानो ब्याङ्क वेस्टप्याकले २ करोड ३० लाख पटक कानुन तोडेको पाइएपछि नियामक संस्था अस्ट्र्याकले अस्ट्रेलियाको व्यावसायिक इतिहासकै सबैभन्दा ठुलो जरिवाना सम्बन्धी कारबाही अगाडी बढाएको हो।
यसभन्दा पहिले अस्ट्रेलियाको सबैभन्दा धेरै नाफा कमाउने प्रमुख ब्याङ्क - कमनवेल्थ ब्याङ्कलाई आर्थिक शुद्धीकरण विरुद्ध गएर आपराधिक क्रियाकलाप गरेको आरोपमा अस्ट्र्याकले ७० करोड २० लाख डलर जरिवाना गराएको थियो।
वेस्टप्याकलाई तिराउन लगाइएको रकम भने उसले आसा गरेको भन्दा ठुलो रहेको छ।
गत अप्रिलमा वेस्टप्याकका त्यति बेला भर्खरै नियुक्त भएका प्रमुख कार्यकारी अधिकृत पिटर किङले अस्ट्र्याकलाई आफूहरूले ९० करोड डलरसम्मको मात्र जरिवाना तिर्न सक्ने बताएका थिए।

तर, नियमन संस्थाले आफ्नो दण्डको दायरा बढाउँदै बाल यौन दुराचारी ग्राहकहरूले गरेका तर रिपोर्ट नगरिएका लेनदेन बारे थप अनुसन्धान गर्ने र ब्याङ्कले अस्ट्र्याकलाई खबर गर्नुपर्ने अन्य थप कारोबार बारे पनि खोजतलास हुने बताएपछि भने वेस्टप्याक हच्केको थियो।
हाल अनुमोदनका लागि सङ्घीय अदालतमा पेस गरिएका कागजातहरूमा, थप जोखिमपूर्ण ग्राहकहरूको विवरण समावेश गरिएको छ।
अस्ट्र्याकका प्रमुख कार्यकारी निकोल रोजले भने यस्तो ठुलो दण्ड दिँदा त्यसले अन्य कम्पनीहरूलाई कडा सन्देश जाने बताएकी छिन्।
उनी भन्छिन् कि वेस्टप्याक माथि गरिएको कारबाहीबाट अरू वित्तीय संस्थाहरूले पाठ सिकेर अपराधीहरूले आफ्नो आर्थिक कारोबार प्रणालीबाट फाइदा लिन नसक्ने गरी काम गर्नुपर्नेछ।
"वेस्टप्याकबाट भएका उल्लङ्घनका घटनाहरूले 'गम्भीर तथा प्रणालीगत प्रकृति"लाई दर्शाउँछ," रोजले भनिन्।

आफ्नो संस्थाले ती २ करोड ३० लाख चोटि अन्तर्राष्ट्रिय कारोबार गर्दा आर्थिक नियमहरूको पालना नगरी ती लेनदेन बारे अस्ट्र्याकलाई रिपोर्ट नगरेको वेस्टप्याकका किङले स्वीकार गर्दै सो ऐतिहासिक जरिवाना तिर्न आफू राजी भएको बताएका छन्।
“यी गल्तीहरू फेरि नहोस् भनेर सुनिश्चित गर्न हामी यी मामिलाहरू समाधान गर्न प्रतिबद्ध छौँ। यो मेरो पहिलो प्राथमिकतामा रहेको छ। हामीले प्रासङ्गिक उत्पादनहरू बन्द गरेका छौँ र सबै सम्बन्धित ऐतिहासिक लेनदेन बारे रिपोर्ट गरेका छौँ," उनले एक विज्ञप्तिमा भने।
अन्तर्राष्ट्रिय कारोबार गर्दा आर्थिक नियमहरूको पालना नगरी ती लेनदेन बारे अस्ट्र्याकलाई खबर नगर्नु बाहेक वेस्टप्याकले आफ्ना ग्राहकहरूद्वारा बाल शोषणको लागी भुक्तानी गर्दा हुने ढाँचामा गरिएका शङ्कास्पद कारोबारको पनि उचित मात्रामा अनुगमन नगरेको अस्ट्र्याकले पाएको थियो।
बिहीबार अस्ट्रेलियाली शेयर बजार - एएसएक्स खुल्नु पूर्व सो संस्थालाई बुझाइएको ९३ पेज लामो स्पष्टीकरणमा वेस्टप्याकले थप ७६,००० असङ्गतिहरू पनि स्वीकार गरेको छ।
यी मध्ये केही भने गम्भीर वित्तीय अपराध न्यूनीकरण र प्रबन्ध गर्न ब्याङ्कको व्यापक कार्यक्रमका समस्याहरूसँग सम्बन्धित छन्।

अब वेस्टप्याकले जरिवाना तिर्न सेप्टेम्बर मसान्तमा अन्त्य हुने वार्षिक वासलातमा थप ४० करोड ४० लाख डलर विनियोजन गर्नेछ जसमा अस्ट्र्याकको कानूनी खर्च बापतको ३७ लाख ५० हजार डलर पनि समावेश छ।
अगस्टमा आफूले अन्तरिम लाभांश वितरण नगर्ने बताई सकेको ब्याङ्कका लागि जरिवाना तिर्न खासै कठिन भने हुने छैन।
"यो सम्झौताले "हाम्रा सबै सरोकारवालाहरूलाई अझ निश्चितता प्रदान गर्दछ किनकि हामीले प्रतिक्रिया स्वरूप योजनामा भएका सबै उपायहरू कार्यान्वयन गर्न जारी राखेका छौँ र समीक्षाबाट प्राप्त सिफारिसहरूको कार्यान्वयन पूरा हुनेछ"।
हाल वेस्टप्याक र अस्ट्र्याक बिच अदालत बाहिर भएको यो सम्झौतालाई सङ्घीय अदालतले स्वीकृति प्रदान गर्नुपर्नेछ किनकि नियमन संस्थाले गत नोभेम्बर महिनामा ब्याङ्क विरुद्ध मुद्दा दायर गरेको थियो।
सो मुद्दा दायर भएपछि वेस्टप्याकका तात्कालिक प्रमुख कार्यकारी ब्रायन हार्टजर र अध्यक्ष लिन्डसी म्याक्सटेड दुवैको बहिर्गमन भएको थियो।

उता, अस्ट्रेलियन सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट्स कमिसन (एसीक) भनिने शेयर बजार सुरक्षण तथा लगानी आयोगले पनि वेस्टप्याक सञ्चालक समितिका कुनै सदस्यले कर्पोरेसन एक्ट वा निगम ऐन अन्तर्गत उत्तरदायी छन् कि भनेर अझै छानबिन गरिनै रहेको छ।
त्यसै गरी अस्ट्रेलियन प्रुडेन्सियल रेगुलेसन अथोरिटि भनिने एक वित्तीय संस्थाहरू माथि अनुगमन गर्ने संस्थाले एसीकद्वारा ब्याङ्किङ्ग एक्जिक्युटिभ अकाउ्टेबिलिटि रेजिम वा ब्याङ्कका कार्यकारीहरूलाई उत्तरदायी बनाउने नियमानुसार पनि केही कदम चाल्न सकिन्छ कि भनेर पनि हर्न अनुरोध गर्ने बताएको छ।
