LIVE, FREE and EXCLUSIVE starting June 12 2026


Published
Updated
संयुक्त राज्यले उक्त बलूनलाई जासुसी यन्त्रको संज्ञा दिँदै गर्दा नेपालको उत्तरी छिमेकीले चाहिँ उक्त यान केवल मौसम अनुसन्धानका लागि छोडिएको र पश्चिमी वायुका प्रभावले अमेरिकी आकाशसम्म पुगेको बताएको छ।
केही समय यता मध्यपश्चिम अमेरिकामा पर्ने मोन्टानाको आकाश माथि एउटा अचम्म लाग्दो बलून निकै उचाईमा उडिरहेको स्थानीय बासिन्दाहरूले देख्दै गर्दा, अधिकारीहरूले पनि यो घटनालाई बडो चासोपुर्वक हेरेका छन्, किनकि उनीहरूको भनाइमा यो बलून चीनको हो।
बेजिङले पनि अमेरिकाको आकाशमा उडिरहेको उक्त बलून आफ्नो भएको बताएता पनि त्यसले केवल मौसम अनुसन्धान मात्र गर्ने र हावाको बहावका कारण आफ्नो मार्ग परिवर्तन गरेको स्पष्टीकरण दिएको छ।
अमेरिकी अधिकारीहरू भने चिनियाँ पक्षको भनाई पत्याइहाल्ने मनस्थितिमा छैनन्।
पेन्टागनका प्रवक्ता ब्रिगेडियर जनरल प्याट्रिक राइडर भन्छन् कि उक्त बलून जासुसी गर्न छोडिएको यन्त्र हो।
“हामीलाई के थाहा छ भने, यो निगरानी राख्ने बलून हो, र यो भन्दा बढी बताउन सक्ने स्थितिमा म छैन” उनले भने।पेन्टागनका प्रवक्ता ब्रिगेडियर जनरल प्याट्रिक राइडर
“यसले अमेरिकी वायु क्षेत्रको साथ साथै अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको छ र हामीले यो कुरालाई विभिन्न तह मार्फत सिधै चीनलाई भनिसकेका छौँ।”
संवेदनशिल जानकारी सङ्कलन हुन नदिन आवश्यक कदमहरू चालिएको पनि अमेरिकीहरूको भनाई छ।
ह्वाइट हाउसकी प्रवक्ता करिइन जँ-पेएँ भन्छिन् कि पहिले त्यो बलूनलाई नष्ट गर्ने सोचिएको थियो।
तर अमेरिकी रक्षा मन्त्री लोइड अस्टिन र अमेरिकी सेनाका सहप्रमुख जनरल मार्क मिल्लीले जमिनमा रहेका मानिसहरूको सुरक्षाका लागि बलूनलाई खसाल्ने योजना सही नरहेको भन्दै कडा सिफारिस गरेपछि उक्त योजनाबाट आफूहरू पछि हटेको उनले बताइन्।
र, यो सँगै कूटनैतिक सङ्कट सुरु भएको छ।
अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङकन बेजिङ जानै लाग्दा उक्त शङ्कास्पद बलून देखा परेको हो।
तर अब, उनको उक्त भ्रमण हाललाई रद्द गरिएको छ।
ब्लिङकन आफ्नो चीन भ्रमण रोकिए पनि अमेरिका चीनसँग कूटनैतिक संवाद जारी राख्न कटिबद्ध रहेको बताउँछन्।
“विश्वले संयुक्त राज्य अमेरिका र चीनले दुवैले हामी बिचको सम्बन्धलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्ने अपेक्षा राख्छ,” उनले भने।
यसैबिच, यी दुई ठुला शक्तिहरू बिच तनाव बढ्दै जाँदा अमेरिकाको पश्चिमी सहयोगी देशहरूलाई कस्तो प्रभाव पर्ने हो भनेर अनुमानका खेलहरू सुरु भइसकेका छन्।
विशेष गरेर अमेरिकाको बेलायत र अस्ट्रेलियासँग सुरु भएको ‘अकस’ गठबन्धनलाई लिएर चीन खुसी नदेखिएको बेला, यी दुई सहयोगी देशका प्रधानमन्त्रीहरू छिट्टै वासिङ्टन पुगेर नयाँ आणविक पनडुब्बी सम्बन्धी एक सम्झौतापत्रमा हस्ताक्षर गर्ने बताएको छ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङ भन्छिन् कि अकस सम्झौता अगाडी बढ्दा बेइजिङ खिन्न छ।
“युएस, युके र अस्ट्रेलिया सबैले अन्तर्राष्ट्रिय समुदायको आवाज मनन गरुन् भनेर हामी आह्वान गर्न चाहन्छौँ,” उनले भनिन्।
“क्षेत्रीय तथा विश्वको शान्ति एवम् सुरक्षाका लागि यस्तो ठोस कदम आवश्यक छ।”चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङ
यता, अस्ट्रेलियाली रक्षा मन्त्री रिचर्ड मार्ल्स हाल अमेरिकामा नै छन्।
उनी आफ्नो समकक्षी लोइड अस्टिनलाई भेट्न वासिङ्टन पुगेका हुन्।
त्रिपक्षीय सुरक्षा गठबन्धन अस्ट्रेलियाको लागि आवश्यक रहेको उप-प्रधानमन्त्री समेत रहेका मार्ल्सको भनाई छ।

अमेरिका र चीन दुवैले आफ्नो प्रभावमा पार्न खोजेको हिन्द प्रशान्त क्षेत्रमा यसले कस्तो प्रभाव पार्छ भन्ने कुरा हाल भविष्यकै गर्भमा छ।
र, ब्रिगेडियर राइडर हाललाई अमेरिका उक्त उपकरण माथि नजर गाडेर बसेको बताउँदै भन्छन्, “नर्दन अमेरिकन एयरोस्पेस डिफेन्स कमान्डले यसलाई नजिकबाट निगरानी गर्न जारी राखेको छ भन्नु बाहेक मसँग उपलब्ध गराउन धेरै नयाँ जानकारी छैन।”