चीन र नेपालको सम्बन्ध विवादास्पद भएको समयमा चिनिया विदेश मन्त्री वाङ यी भर्खरै नेपालको भ्रमणमा आएका थिए।
दक्षिण एसियाका विभिन्न देश हुँदै नेपाल छिरेका वाङको यो भ्रमण सार्थक भने नभएको बताइएको छ।
"यीको यो भ्रमणलाई उनको दक्षिण एसियाली देशको भ्रमणको सन्दर्भमा हेर्नुपर्छ। चीनले भारतसँगको सीमा विवाद लगायतका मुद्दालाई कत्तिको सम्बोधन गर्छ भन्नेमा पनि धेरै कुरा निर्भर गर्छ," अमिश मुल्मी भन्छन्।
"त्यो बाहेक, चीनले नेपालमा बिआरआईको कार्यान्वयन कसरी अघि बढाउने भन्ने बारेमा पनि बुझ्न चाहेको छ, जसमा चीन खासै सफल भएन जस्तो मलाई लाग्छ।"
यसबिचमा चीन र नेपालको सम्बन्धमा धेरै समस्या आएका छन्, जस्तै कि सीमा विवाद, महामारीपछि सीमा नखुल्नु, विद्यार्थी चीन फिर्ता जान नपाउनु, आदि।
"नेपालका हिमाली भेगका बासिन्दालाई र व्यापारीहरूलाई धेरै समस्या परेको छ। चीनले नेपालका यी समस्यालाई सम्बोधन गरेको छ भन्ने देखाउन सक्नुपर्छ," मुल्मी भन्छन्।

यो समयमा चीनको बढ्दो सक्रिय भूमिकाका बारेमा नेपालका चिन्ता बढिरहेको छ।
केही समय अगाडि चिनिया राजदूत होउ याङ्छीले कम्युनिस्ट पार्टीहरू मिल्नुपर्छ भनेको बारेमा होस् वा भर्खरै चीनले अमेरिकी परियोजना एमसीसीको बारेमा आधिकारिक रूपमा नकारात्मक धारणा दिएर होस्, चीनले नेपाली मुद्दाहरूमा बढी हस्तक्षेप गरेजस्तो देखिन्छ।
यो चिन्ताको विषय भएको मुल्मीको बिचार छ।
"यसले के देखाउँछ भने विश्वमा शक्ति राष्ट्रको रूपमा चीन बलियो भएको छ र अर्को राष्ट्रको आन्तरिक मामिलामा यसरी धारणा दिन हिचकिचाएको छैन। यस्तो समयमा नेपालको राजनीतिक परिस्थिति बुझ्नु पनि यीको भ्रमणको एउटा उद्देश्य हो," मुल्मी भन्छन्।
मुल्मीसँगको हाम्रो कुराकानी सुन्नुहोस्: नेपालले चीनलाई हेर्ने दृष्टिकोणमा किन आयो बदलाव? हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
चीनले नेपालका सबै राजनीतिक दललाई स्वागत गरेको भनेता पनि कम्युनिस्ट पार्टीहरूप्रति बढी झुकाव देखाएको स्पष्ट भएको मुल्मीको बुझाई छ, र नेपालका कम्युनिस्ट पार्टीहरू पनि धेरै मुद्दामा चिनिया पथको अनुशरण गरेको बताएका छन्।

"यसले एकातर्फ हाम्रै प्रजातन्त्रको बारेमा प्रश्न उठाएको छ भने अर्कोतर्फ नेपालमा चीनको छवि पनि बदलिँदै गएको छ," मुल्मी भन्छन्।
"चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने असल छिमेकीको जुन छवि बनाएको थियो, त्यो अब परिवर्तन हुँदै गइरहेको छ।"
दीर्घकालीन रूपमा यी समस्याको सम्बोधन गर्नका लागि नेपालले आफ्नै परराष्ट्र नीतिमा स्पष्टता ल्याउनु पर्ने मुल्मी बताउँछन्।
"नेपालको असंलग्न परराष्ट्र नीति छ, त्यसलाई राम्रोसँग परिभाषित गर्नुपर्छ। र नेपालको परराष्ट्र नीति सत्तामा भएका नेताहरू अनुसार परिवर्तन हुनुहुँदैन, त्यसमा निरन्तरता हुनुपर्छ। साथे हामीले कूटनीतिक वार्ता गर्दा अनुदानका बारेमा मात्रै होइन लगानीका बारेमा पनि कुरा गर्न सक्नुपर्छ, र छिमेकीहरूलाई उनीहरूका सुरक्षा चिन्ताका बारेमा सुनिश्चित पनि गराउन सक्नुपर्छ।"








