नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले नेपालको प्रतिनिधित्व गरेका थिए भने चीनका विदेश मन्त्री वाङ जीले चीनको प्रतिनिधित्व गरेका थिए।
नेपालमा सन् २०१५ मा भूकम्प गएपछि संसारको सर्वोच्च शिखर सगरमाथाको उचाइ फेरिएको धेरै अनुमान गरिएपछि यसको उचाइ फेरी मापन गरिएको हो।
नेपालको एउटा टोलीले सन् २०१७ मा सगरमाथाको उचाइ फेरी नाप्ने काम सुरु गरेर सन् २०१९ को मे महिनामा सगरमाथामा एउटा ग्लोबल पोजिशनिङ सिस्टम राखेको थियो। यो प्रक्रिया पुरा गर्न दुई वर्ष र करिब १३ करोड रुपैयाँ खर्च लागेको थियो।
सन् २०१९ मा चीनले पनि सगरमाथाको उचाइ नापेको थियो र दुवै देशको उही नतिजा निस्केको थियो। यसले नेपालको प्राविधिक क्षमता पनि बढेको देखिएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली बताउँछन्।
"यो नेपालको आफ्नो जनशक्ति, आफ्नो साधन श्रोत र आफ्नो व्यवस्थापन, आफ्नो प्रविधिको माध्यमबाट मापन गरिएको, प्रशोधन गरिएको र अन्तिम रूप दिइएको अत्यन्त महत्त्वपूर्ण अभियान हो।
आज सगरमाथाको मात्रै नयाँ उचाइ घोषणा भएको छैन, नेपालीहरूको प्राविधिक क्षमताको पनि एउटा नयाँ उचाइ घोषणा भएको छ।"

यो भन्दा अगाडि सगरमाथाको उचाइ नाप्ने काम भारतले गरेको थियो र त्रिकोणमिति प्रविधिद्वारा पुष्टि गरिएको थियो।
गत वर्ष चिनिया राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा नेपाल-चीन सिमानामा रहेको सगरमाथाको उचाइ दुई देशले एकै चोटि सार्वजनिक गर्ने सहमति गरिएको थियो।
दुई देशका प्रतिनिधिले क्रिष्टल बलमा छोएर नयाँ उचाइ एकैसाथ सार्वजनिक गरेपछि सगरमाथालाई नेपाल-चीन मित्रताको प्रतीकको रूपमा पनि लिइएको छ।
सन् २०१५ को भूकम्प पछि नेपालका थुप्रै स्थानका उचाइ घटबढ भएका थिए, र यसै क्रममा नेपालमाथि सगरमाथाको उचाइ पुष्टि गर्ने दबाब बढिरहेको थियो।
यस भन्दा अघि सगरमाथाको आधिकारिक उचाइ ८८४८ मिटर मानिएको थियो। त्यस्तै, एउटा सर्वेक्षणले सगरमाथाको उचाइ ८८५० मिटर र अर्कोले सगरमाथा माथिको हिउँलाई बेवास्ता गर्दै चट्टानी भाग मात्रै नाप्दा ८८४४ मिटर पनि देखाएको थियो ।

