मुख्य बुँदाहरू
- परम्परागत रूपमा एन्ज्याक डेको परेड ग्यालिपोलीमा लडेकाहरूका लागि मात्र हुने गर्थ्यो। तर हाल भने यो विगतमा सैन्य पेसामा रहेका व्यक्ति वा उनीहरूका परिवारका लागि पनि हो, जसमा विविध पृष्ठभूमिका मानिसहरू पनि अटाउँछन्।
- एन्ज्याकहरूमा धेरै अस्ट्रेलियनहरू विभिन्न पृष्ठभूमिबाट आएका थिए।
- सांस्कृतिक रूपमा विविध पृष्ठभूमि भएका मानिसहरू पनि एन्ज्याक डेसँग जोडिन चाहन्छन्।
अस्ट्रेलिया र न्यु जिल्यान्ड सैन्य बलमा रही सेवा गर्ने, लड्ने र यसै क्रममा ज्यान गुमाएका व्यक्तिहरूको सम्मानमा देशभर रहेका अस्ट्रेलियनहरूले एन्ज्याक डे मनाउने गर्छन्। र यस दिनको सबैभन्दा महत्त्वपूर्ण कार्यक्रममा एन्ज्याक डे मार्च रहेको छ, जसमा उनीहरूको त्याग र बहादुरीको सम्मान गरिन्छ।
हरेक वर्ष २५ एप्रिलमा मनाइने यस मार्चलाई परम्परागत रूपमा पहिलो विश्व युद्धको समयमा ग्यालिपोलीमा लडेका अस्ट्रेलियन एन्ड न्यु जिल्यान्ड आर्मी कोर्प्स् (एन्ज्याक)का सदस्यहरू प्रति समर्पित गरिन्थ्यो।
यद्यपि, अहिले भने यसको स्वरूप बृहत् बनेको छ। र यसमा अब अस्ट्रेलियाको सैन्य बलमा विगतमा काम गरेका व्यक्ति र उनीहरूका सन्तान मात्र होइन अब त यस दिनलाई ग्यालिपोलीको लडाइँमा विपक्षमा रहेकाहरूले पनि मनाउँछन्।
सन् २००६ मा भिक्टोरियाको आरएसएलले पहिलो विश्व युद्धमा सहभागी भएका टर्किस पूर्व सैनिकहरूका सन्ततिलाई पनि एन्ज्याक डेको मार्चमा सहभागी हुन अनुमति दिएको थियो, जसले हालसम्म पनि निरन्तरता पाएको छ।
अस्ट्रेलियन म्युजियम एन्ड ग्यालरिज एसोसिएसन भिक्टोरियाको लाइफ अचिभमेन्ट अवार्ड विजेता जिन म्याकअस्लानले एसबीएससँग केही समय अगाडी गरिएको कुराकानीमा यस कार्यले विभिन्न राष्ट्रहरूलाई एक रूपमा स्वीकार गर्ने अस्ट्रेलियन संस्कृतिलाई झल्काउने बताएकी छिन्।
लामो समयदेखि अस्ट्रेलियन वार मेमोरियल र द स्राइन अफ रेमेम्बरेन्समा काम गरे बापत सम्मानित भएकी म्याकअस्लान यसले युद्धको प्रभावका कारण समाजमा समय बितेसँगै आएको परिवर्तन झल्काउने बताउँछिन्।
उनी भन्छिन्, इटालियन,जर्मन र जापनिज कैदीहरू युद्ध अन्त्यसँगै आफ्नो देश फर्किदा केहीले भने अस्ट्रेलियन जीवनशैलीलाई नै आत्मसात् गरेका थिए।
"विशेष गरी इटालियनहरू आफू बन्दी हुँदा नै स्थानीय कृषकहरूसँग मिलेर काम गर्ने भनेर यति लोकप्रिय थिए कि, उनीहरूलाई अस्ट्रेलियामा नै फर्केर यहीँ बस्न परिवारले कहिलेकाहीँ स्पन्सर गर्ने गर्थे।"
युकेमा जन्मिएका कलाकार र भारतीय मूलका अनुसन्धानकर्ता सङ्कर नेडिसन मेलबर्नमा बस्छन्।
द रिटर्न्ड एन्ड सर्भिसेस लिग (आरएसएल) भिक्टोरियामा कार्यरत उनी विविध समुदाय, पूर्व सैनिक र तिनीहरूका परिवारहरूसँग समन्वय गर्दै सांस्कृतिक कूटनीति र रणनीतिक नेतृत्वमा दक्खल राख्छन्।
र उनको लक्ष्य भनेको खोक्रो बयानबाजी भन्दा 'सकारात्मक राष्ट्रिय गौरव' जगाउनु हो।

इङल्यान्डमा हुर्किए पनि र रिमेम्बरेन्स डेका दिन पपीको फुल लगाउने गरेको भए पनि नेडिसनले आफ्ना पुर्खालाई कहिले पनि एन्ज्याकको इतिहाससँग जोडेका थिएनन्।
उनले जब युद्ध भएको समयका बारेमा अध्ययन गरे अनि मात्र उनलाई एन्ज्याकहरूमा कति सांस्कृतिक विविधता थियो भन्ने महसुस भयो।
र उनले आफ्नो कथाहरूमाथि पनि प्रश्न उठाए।
कलासँग सम्बन्धित भेटघाटहरूमा विभिन्न युनिभर्सिटी र प्राथमिक तथा माध्यमिक स्कुलका विद्यार्थीहरूलाई चिनियाँ एन्ज्याकहरूको बारेमा थाहा नै नभएको पाएँ।सङ्कर नेडिसन
"मैले मेरो आन्टीलाई सोधेँ र उहाँले हो तिम्रो हजुरबुवाले ब्रिटिश आर्मीका लागि मलेसियामा लड्नु भएको थियो भन्नु भयो। र मलाई यसका बारेमा त पटक्कै थाहा थिएँ।"
अस्ट्रेलियन वार मेमोरियलका अनुसार पहिलो विश्व युद्धमा लड्नेहरूको सूचिमा रहेका करिब ४२०,००० अस्ट्रेलियनहरू मध्ये धेरै विविध पृष्ठभूमिका रहेका छन्।
जसमा अस्ट्रेलियाका आदिवासी देखि ब्रिटिश, एसियन, ग्रीक र युरोपियन पृष्ठभूमिका पनि छन्।
झन्डै २०० चिनियाँ आप्रवासीहरूले प्रथम विश्वयुद्धमा अस्ट्रेलियाका तर्फबाट लडेका थिए।
अस्ट्रेलिया चाइना युथ एसोसिएसनमा काम गर्ने समयमा नेडिसनले चिनियाँ पृष्ठभूमिका विद्यार्थीहरूलाई एन्ज्याकमा कति सांस्कृतिक विविधता रहेको थियो भन्ने बारे थाहा नभएको पाएको बताउँछन्।
"जब उनीहरूले ढल्किएको टोपी लगाएका चिनियाँ व्यक्तिहरूलाई देखे उनीहरूलाई थाहा भयो कि अस्ट्रेलियाको इतिहासमा उनीहरू महत्त्वपूर्ण हिस्सा रहेका छन्।"
चीनमा जन्मिएका रुसी पृष्ठभूमिका एलेक्स इलिन ५० वर्ष अगाडी अस्ट्रेलिया आएका हुन्। र उनले सैन्य बलमा बिताएको समयले अस्ट्रेलियन संस्कृतिको बुझाइलाई फराकिलो पारेको थियो।
"दुई वर्ष अस्ट्रेलियन आर्मीका रूपमा काम गर्दा साँच्चिकै मेरो आँखा खुल्यो। मैले असली अजिहरूसँग काँधमा काँध मिलाएर नजिकबाट काम गर्दा अस्ट्रेलियन जीवनशैली, भाषा, बोली सबै कुरा बुझ्न मदत पुग्यो।"

तर केही सेना र उनीहरूका सन्तानका लागि ड्युटीबाट फर्किँदाको तितो अनुभव छ।
भियतनाम युद्धबाट फर्किदा मानिसहरू उक्त द्वन्द्व विपक्षमा रहेको एलेक्स इलिन सम्झिन्छन्।
मानिसहरूले आफूहरूलाई भियतनामबाट फर्किए पछि आफ्नो अनुहार नदेखाउन भने पछिको समय सम्झिँदै उनी भन्छन्, "हामी, जसलाई सरकारले अस्ट्रेलियाको लागि लड्न पठाएको थियो, फिर्ता आयौँ र लुक्नु पर्यो, मानिसहरूको टिप्पणीलाई माफ गर्नुपर्यो, लज्जित नै भएको जसरी।"
तर बब हकको नेतृत्वमा अस्ट्रेलियाले एलेक्स जस्ता दिग्गज सेनाहरूलाई घरमा स्वागत गर्ने परेडको थालनी गर्दै उनीहरूको सेवाको सम्मान गर्यो।
र उनले सन् १९८७ देखि अहिलेसम्म एन्ज्याक डे मार्चमा सहभागी हुन छुटाएका छैनन्।

गोर्खाली सेना र तिनका परिवारहरू पनि हरेक वर्ष ब्रिटिश कमनवेल्थ भेटेरन्स एन्ड डिसेनडेन्ट्स अन्तर्गत “द ब्रिगेड अफ गुर्खाज” को ब्यानर मुनि मार्चमा सहभागी हुने गर्छन्।
“आज हाम्रो दुखको अनि सुखको पनि सम्झना हो,” ब्रिटिश र अस्ट्रेलिया सेनामा सेवा गरेका लोकमान लिम्बुले सिड्नीको मार्टिन प्लेसस्थित परेड सहभागी हुँदै गर्दा केही वर्ष अगाडी एसबीएस नेपालीसँग बताए थिए।
गुर्खा नेप्लिज कम्युनिटी (जीएनसी)का राजन थापा ग्यालिपोलीसँग गोर्खाली गाथाहरू पनि जोडिएको बताउँछन्।
“हाम्रो गुर्खाको चाहिँ कसरी सम्बन्ध छ भने, हाम्रो पिता-पुर्खाहरू पनि लड्दै लड्दै ग्यालिपोलीमा पुगेका थिए।”
“जस्तै, समुन्द्र र चट्टानै चट्टान भएको एउटा ठाउँमा दुस्मनहरूको अड्डा थियो, गुर्खाहरूले वीरता र साहसका साथ त्यस ठाउँलाई कब्जा गरेका थिए। त्यो ठाउँलाई अहिले ‘गोर्खा ब्लफ’ भनी नामकरण गरिएको छ।"
केही वर्ष अगाडी मेलबर्नको स्राइन अफ रिमेमब्रेन्समा भएको कार्यक्रममा सहभागी नेप्लिज कम्युनिटी भिक्टोरियाका ठाकुर गुरुङले सन् १९९२ देखि मार्च गर्न थालेको बताए।
मुख्य यहाँ भूतपूर्व गुर्खा सेनाहरू र उहाँका आफन्तहरू हुनु हुन्छ - त्यो मात्र नभएर, जो पनि आएर खास यहाँ मार्च गर्न सक्नु हुन्छ।

सिख समुदायसँग पनि काम गरेका सङ्कर नेडिसन भन्छन् यो प्रक्रियाले मानिसहरूलाई आत्मविश्वासका साथ अस्ट्रेलियन समुदायका लागि गरेको योगदानलाई देखाउन मदत गरेको छ।
सिख समुदायका सेनाहरूले अस्ट्रेलियन समाजमा अब बाहिरको व्यक्ति जस्तो अनुभव नगर्ने उनको भनाइ छ।

एन्ज्याकको इतिहास बारे थप जान्नको लागि, अस्ट्रेलिया सरकारको एन्ज्याक पोर्टल र अस्ट्रेलियन वार मेमोरियलमा जानुहोस्।
