हरेक वर्ष अस्ट्रेलियामा अप्रिलको २५ तारिखलाई विश्वयुद्ध र अन्य विभिन्न लडाइहरूमा सेवा पुराएका र ज्यान गुमाएका मानिसहरूको सम्झना गर्ने समयको रूपमा लिइन्छ।
एन्ज्याक डे भनिने यो दिवश अस्ट्रेलियाका विभिन्न शहरहरूमा बिहानीपख “डअन सर्भिस”सँगै सुरू हुन्छ।
यसै गरी इतिहासका विभिन्न कालखण्डमा भएका द्वन्द तथा युद्धमा भाग लिएका भूतपूर्व सेना, तिनका आफन्तजन र स्कूले विद्यार्थीहरू पनि विशेष महत्त्वका साथ परेडमा भाग लिन्छन्।

एन्ज्याक डे परेडमा अस्ट्रेलिया, न्युजिल्याण्ड लगायत अन्य थुप्रै देशका भूतपूर्व सेनाहरूसँगै ब्रिटिश सेना अन्तर्गत सेवा गरेका नेपाली पृष्ठभूमिका भूतपूर्व सैनिकहरूले पनि भाग लिएका थिए।
गोर्खाली सेना र तिनका परिवारहरू हरेक वर्ष झैँ ब्रिटिश कमनवेल्थ भेटेरन्स एन्ड डिसेनडेन्टस अन्तर्गत “द ब्रिगेड अफ गुर्खाज” को ब्यानर मुनि मार्चमा सहभागी थिए।
“आज हाम्रो दुखको अनि सुखको पनि सम्झना हो,” ब्रिटिश र अस्ट्रेलिया सेनामा सेवा पुराएका लोकमान लिम्बुले सिड्नीको मार्टिन प्लेसस्थित एसबीएस नेपालीसँगको कुराकानीमा बताए।
आर्मीको जीवन त त्यस्तै हुन्छ - धेरै कुरा हुन्छ बिर्सिन नसक्ने। कति दुख हुन्छ, कति सुख हुन्छ। तर हामीले प्राय जस्तो सुख नै भन्नु पर्ला नि।
सन् १९१५ को २५ अप्रिलमा अस्ट्रेलिया र न्युजिल्यान्डका सेना हाल टर्कीमा पर्ने ग्यालिपोली पुगेका, र त्यहाँ भएको युद्धमा मारिएका हजारौँको इतिहासले यस दिनलाई अविस्मरणीय बनाएको सिड्नीका राजन थापा बताउँछन्।
“हाम्रो गुर्खाको चाहिँ कसरी सम्बन्ध छ भने, हाम्रो पिता-पुर्खाहरू पनि लड्दै लड्दै ग्यालिपोलीमा पुगेका थिए,” गुर्खा नेप्लिज कम्युनिटीका वर्तमान अध्यक्ष रहेका थापाले भने।
- सिड्नीमा भएको परेडको भिडियो यहाँ क्लिक गरेर र मेलबर्नमा भएको परेडको भिडियो यहाँ क्लिक गरेर हेर्न सक्नु हुन्छ।

ग्यालिपोलीसँग गोर्खाली गाथाहरू पनि जोडिएको कुरा उनले एसबीएस नेपालीलाई बताए।
“जस्तै, समुन्द्र र चट्टानै चट्टान भएको एउटा ठाउँमा दुस्मनहरूको अड्डा थियो,” थापाले भने।
गुर्खाहरूले वीरता र साहसका साथ त्यस ठाउँलाई कब्जा गरेका थिए। त्यो ठाउँलाई अहिले ‘गोर्खा ब्लफ’ भनी नामकरण गरिएको छ।
त्यस्तै, मेलबर्नको स्राइन अफ रिमेमब्रेन्समा भएको कार्यक्रमको सुरुवात गर्दै गुर्खा नेप्लिज कम्युनिटी भिक्टोरियाका अध्यक्ष ठाकुर गुरुङले २५ अप्रिल एन्ज्याक डे र ११ नोभेम्बरको रिमेमब्रेन्स डेलाई हरेक वर्ष मनाइने कामना व्यक्त गरे।
“हामीले मार्च गर्न थालेको चाहिँ सन् १९९२ बाट हो,” उनले एसबीएस नेपालीसँगको कुराकानीमा भने।
मुख्य यहाँ भूतपूर्व गुर्खा सेनाहरू र उहाँका आफन्तहरू हुनु हुन्छ - त्यो मात्र नभएर, जो पनि आएर खास यहाँ मार्च गर्न सक्नु हुन्छ।

भावी पुस्तालाई पनि मार्चमा संलग्न गर्न पाए हुन्थ्यो भनी मेलबर्नको मार्चमा उपस्थित कृष्णबहादुर राईले बताए।
“हामी यसरी गोर्खा परिवारको रूपमा चिनिनुलाई अलिकति ठुलाबडा बढेका, उहाँहरूको नाति-नातिनी छोराछोरी पनि सामेल गर्दै ल्याउन पाए, हाम्रो हराउने थिएन होला,” राईले स्मरण कार्यक्रममा बोल्दै भने।
पछि गएर (हाम्रो इतिहास नै) हराउन सक्ने स्थिति देखिन्छ यहाँ।
त्यस्तै, सबै एन्ज्याक सैनिक र ज्यान गुमाएकाहरूको सम्झनामा “लेस्ट वी फर्गेट” को नाराका साथ मेलबर्नको स्राइन अफ रिमेमब्रेन्स एक मिनेट मौन धारण पनि गरिएको थियो।







