संस्कृतविद् तेजेश्वरबाबु ग्वंगः का अनुसार वैशाख महिनामा नयाँ वर्ष मनाउनका मुख्यतया दुई कारण छन्।
"वैशाखमा नयाँ वर्ष मनाउने दुई कारण छन्," ग्वंगः भन्छन्।
"पहिलो त विक्रम भन्ने नै एकदम पराक्रमी राजा, र उनले स्थापना गरेको संवत् हुनाले यस संवतको पहिलो दिनमा नयाँ वर्ष मनाइन्छ, दोस्रो चाहिँ यो समय वसन्त ऋतुको हो, जसलाई हामी ऋतुराज भन्छौँ। चारैतिर फूल फुलेको, नयाँ पालुवा पलाएको शक्तिशाली मौसम भएकाले पनि यो समयमा नयाँ वर्ष मनाइन्छ।"
नेपालमा नयाँ वर्ष विभिन्न तरीकाले मनाइने उनी बताउँछन्।
भौगोलिक अवस्थिति र ऋतुअनुसार मानिसहरूले आ आफ्नै तरीकाले यो समयमा चाड मनाउँछन्। ती मध्ये भक्तपुरमा निकै भव्य रूपले बिस्केट जात्रा मनाउने गरिन्छ।

भक्तपुरमा भैरवको रथ तानेर तौमढी भन्ने ठाउँमा लिङ्गो ठड्याएर यो चाड मनाउने गरिन्छ।
यो चाड स्थापना गर्नुको पछाडि एउटा लोककथा भएको ग्वंगः बताउँछन्।
"एक जना राजाकी छोरी कामिनी अर्थात् धेरै यौन कामना भएकी थिइन्।
उनलाई हरेक रात भक्तपुरको एक जना केटाले पहरा दिन जानुपर्थ्यो। र उनको कोठामा रात बिताएपछि भोलिपल्ट बिहान उसको मृत्यु भइराखेको हुन्थ्यो।
राती उनको नाकबाट दुई वटा किरा निस्कने रहेछन् र ती सर्पमा परिणत भएर ती केटालाई डस्ने रहेछन्।
रिपोर्ट सुन्नुहोस्। नेपालमा नयाँ वर्ष किन वैशाख महिनामा नै मनाइन्छ त?हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
यसै क्रममा एक जना राजकुमार आएर किराहरूलाई मारिदिन्छ। त्यसै कारणले यो पर्व मनाउन थालियो," ग्वंगः भन्छन्।
नेवा भाषामा 'बि' को अर्थ सर्प र 'स्याक' को अर्थ मार्ने भएकाले यो बिस्याक जात्रा सर्प मार्ने जात्रा भएको उनी बताउँछन्।
यस्तो कथाको प्रतीकात्मक अर्थ रहेको उनी बताउँछन्।
"नाक भनेको बास्ना सुँघ्ने अङ्ग हो, जसलाई यहाँ वासनाको प्रतीक मानिएको छ। वासनाको किरालाई मारेको भन्ने अर्थ यो कथाले दिएको छ।"
यो जात्रा मनाउँदा ग्वंगः सानो हुँदा थुप्रै गीतहरू गाएको उनी सम्झना गर्छन्, तर आजभोलि ती गीत, तिनका लय, र सम्बन्धित कथा र त्यसको अर्थ जान्ने मानिस घट्दै गएको उनी बताउँछन्।








