यस हप्ताका प्रमुख समाचारमा,
- प्रधानमन्त्री शेरबहादुर देउवा सद्भावना भ्रमणमा शुक्रवार भारत गएका छन्। भ्रमणका क्रममा अन्तर्देशीय रेलवे लाइन, विद्युत् प्रसारण लाइन, स्वास्थ्य चौकीका भवन लगायतका विषयमा वार्ता हुने बताइएको छ। देउवा प्रधानमन्त्री भएपछिको यो उनको पहिलो औपचारिक विदेश भ्रमण हो। सीमा विवाद लगायतका मुद्दाले बिग्रिएको नेपाल भारत सम्बन्धमा सुधार गर्ने यस भ्रमणको उद्देश्य रहेको बताइएको छ।
- शुक्रवार देखि पेट्रोलियम व्यवसायीले पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेका छन्। पेट्रोलियम पदार्थको भाउ बढेको तर आफ्नो भाडा र कमिसन नबढेको भन्दै उनीहरूले त्यसो गरेका हुन्। व्यवसायीले शुक्रवार बिहानैदेखि ग्यास, डिजेल, पेट्रोल, हवाई इन्धन लगायत सबै प्रकारका पेट्रोलियम उठाउन छाडेका छन्। रुस र युक्रेनको द्वन्द्वका कारण विश्वभर बढिरहेको पेट्रोलियम पदार्थको मूल्यले नेपाललाई पनि असर गरेको छ। आफ्ना मागहरू पुरा नभए आइतबारदेखि पेट्रोलियम पदार्थको विक्री वितरण रोक्ने व्यवसायीहरूले बताएका छन्।
- यस हप्ता नेपालको मौसम खराब भएर कुहिरो लाग्नुका साथै थुप्रै ठाउँमा चट्याङ सहित वर्षा पनि भएको छ। प्रदूषण र न्यून चापीय वायु प्रणालीका कारण त्यस्तो भएको मौसमविदहरु बताउँछन्। अझै केही दिन मौसम यस्तै रहने र देशभर वर्षा हुनसक्ने बताइएको छ।
- र यस हप्ता अन्तर्राष्ट्रिय बाल साहित्य दिवस परेको छ। यसै सन्दर्भमा मैले नेपालकी एक जना बाल साहित्य लेखक आन्विका गिरीसँग कुराकानी गरेकी छु।
गिरीले हालसम्म थुप्रै वटा बाल साहित्यका पुस्तक लेखिसकेकी छिन्।
आन्विका गिरिसँगको पुरा कुराकानी सुन्नुहोस्:'केटाकेटीलाई उपदेश दिने भन्दा पनि उनीहरूलाई सुन्नु पर्छ': साप्ताहिक नेपाल सन्दर्भ हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
बाल साहित्य यात्राको सुरुवातका बारेमा उनी भन्छिन्, "केटाकेटीको कुरा सुन्नपर्छ, उपदेश दिनेभन्दा छलफल गर्नपर्छ भन्ने लागेको थियो। त्यसैबाट २०६१ सालमा हाम्रो कुरा पनि सुन्नुस् भन्ने किताब निकालेँ," गिरी भन्छिन्।
"त्यसपछि म धेरै समय बाल साहित्यमा सक्रिय भइन। पछि छोरी पढ्ने उमेरकी भएपछि सांस्कृतिक विविधता भएका र लैङ्गिकताप्रति संवेदनशील किताबहरू बजारमा खोज्दा नपाएपछि मैले लेखक भएपछि आफैँ लेखौँ भनेर लेख्न थालेकी हुँ।"
गिरीले नेपाली बाल साहित्यमा सांस्कृतिक विविधता भएका र लैङ्गिकताप्रति संवेदनशील किताबहरू कम भएको बताउँछिन्।
"मैले बाल साहित्यका किताब पढ्दा महिलाहरू मुख्य भूमिकामा भएको किताब एकदम कम पाएँ, र हिन्दु संस्कृति मात्रै धेरै देखाइएको पाएँ।"
"यसरी एक खालको मात्रै सामग्री पढ्न पाउँदा बालबालिकाहरूलाई घातक हुन्छ जस्तो मलाई लाग्छ, किनकि त्यस्तो हुँदा उनीहरूमा विविधता स्वीकार गर्ने क्षमता कम हुन्छ। त्यसैले मैले लेख्दा महिला पात्र मुख्य भूमिकामा राख्छु र सकेसम्म सांस्कृतिक विविधता ल्याउँछु," गिरी भन्छिन्।
बाल साहित्यमा अक्सर बालबालिकालाई उपदेश दिने र गाउँलाई अलि बढी रोमान्टिसाइज गर्ने प्रवृत्ति भएको गिरीको अनुभव छ।

"मानिसहरू बाल साहित्य लेख्न सजिलो छ भन्ने ठान्छन्। त्यसरी सजिलै लिँदा यस्तो भइरहेको छ," नेपालको बाल साहित्यको बारेमा उनी भन्छिन्।
"बाल साहित्य वयस्क साहित्य भन्दा फरक हुन्छ। बाल साहित्यको भाषा सरल र रोचक हुनुपर्छ, र स्पष्ट पनि हुनुपर्छ। बाल साहित्यमा थोरै शब्दमा कथा भन्नुपर्ने हुन्छ। त्यस्तै, बाल साहित्यमा चित्रको पनि महत्त्वपूर्ण भूमिका हुन्छ, तर नेपालमा लेखक र चित्रकार बिच अक्सर तालमेल हुँदैन, त्यो पनि समस्या छ।"
गिरीले समाजमा कमै कुरा हुने विषय बाल यौन दुराचारका बारेमा पनि एउटा पुस्तक लेखेकी छिन्, र यस्तो विषयमा अझ बढी कुरा गरिनुपर्ने उनको विचार छ।
"असल छुवाइ र खराब छुवाइ के हो भन्ने कुरा थाहा नभएर मैले पनि बाल्यकालमा दुःख पाएँ, र आज पनि बालबालिकाले यो विषयमा धेरै थाहा पाएका छैनन् र कुरा गर्ने मौका पाउँदैनन्। त्यसैले यस्ता कुरा बुझाउनै पर्छ भन्ने लागेर मैले एउटा पुस्तक लेखेकी हुँ। तर एउटा पुस्तकले पुग्दैन, अझ बढी लेखिनुपर्छ जस्तो मलाई लाग्छ।"




