यस वर्ष हुने सङ्घीय निर्वाचनको सम्भावनाको रूपमा तीन मितिहरू अगाडी आएका छन्।
मतगणना पश्चात् जित्ने र हार्ने वा कसले सरकार बनाउँछ भन्ने जस्ता कुराहरू अस्पष्ट भएता पनि, एउटा कुरा भने निश्चित छ कि २१ मे अगाडी नै मानिसहरूले अस्ट्रेलियामा आफ्नो मताधिकार प्रयोग गर्नेछन्।
चुनाव कहिले हुने हो त?
चुनावको मिति मे महिनाका अन्तिम तीन शनिवार मध्ये कुनै एक दिनलाई भनेर तोकिने सम्भावना अधिक रहेको बताइएको छ।
चुनाव ठ्याक्कै यहि दिन भनेर घोषणा चाहिँ प्रधानमन्त्री स्कट मोरिसनले गर्नेछन्।

नियम अनुसार प्रधानमन्त्री मारिसनले चुनावका घोषणा गर्नु अघि गभर्नर जनरल डेभिड हर्लीलाई भेटेर संसद् भङ्ग गर्न र निर्वाचनको लागि वैधानिक आदेश जारी गरिदिन अनुरोध गर्नुपर्नेछ।
यस्तो आदेश गभर्नर जनरलले संसद् भङ्ग भएको १० दिन भित्र गर्नु पर्नेछ।
“अस्ट्रेलियामा प्रतिनिधिसभा र सिनेटको आयु अधिकतम तीन वर्षको हुने गर्दछ, आधा जति राज्यका सिनेटरहरूको पदावधि जुन ३० अगावै सकिन्छ,” सिड्नी विश्वविद्यालय अन्तर्गतको स्कुल अफ सोसल एन्ड पोलिटिकल साइन्सेसकी राजनीतिशास्त्री सेरा क्यामरन भन्छिन्।
“यी मापदण्डहरूका कारण सिनेट र प्रतिनिधिसभा चुनावका लागि अन्तिम सम्भावित मिति यस वर्षको मे २१ हो, ता की जुलाई १ देखि नयाँ सिनेटरहरूले आफ्नो कार्यकाल सुरु गर्न सकुन्।”
सन् २०२२ को बजेट भाषण सामान्य भन्दा केही अघि अर्थात् २९ मार्चका दिनमा गरिने तय भएको छ।
सामान्यतया अस्ट्रेलियामा यो मे महिनाको पहिलो मङ्गलवारका दिन सार्वजनिक गरिने चलन छ।
सङ्घीय संसद्को वेबसाइटमा राखिएको यो पोस्टलाई आधार मान्ने हो भने, यदि बजेट भनेकै समयमा सार्वजनिक भएको खण्डमा, चुनावका लागि सम्भावित तीन मिति छन्: ७, १४ वा २१ मे।
यसको मतलब अप्रिलको सुरुवाती वा मध्यसम्ममा चुनावको घोषणा भइसक्नुपर्नेछ।
तर बजेटलाई सारेर चुनावको घोषणा पहिले हुन सक्ने सम्भावना पनि छ।
चुनावका लागि किन यी मितिहरू सम्भावित मानिएका छन्?
वेस्टर्न सिड्नी विश्वविद्यालयका उपकुलपति एवम् राजनीतिशास्त्री एन्डी मार्क्स भन्छन् कि राजनीतिज्ञहरूले देशवासीको लामो सप्ताहान्तलाई बिर्गान नचाहने भएकाले, केही शनिवार अरू शनिवारका तुलनामा चुनावका लागि उपयुक्त मानिन्छन्।
यसरी हेर्दा १६ र २३ अप्रिलका दिन इस्टर र एन्ज्याक डेको छुट्टी परेका कारण, यी शनिवार सम्भावित चुनाव मितिका रूपमा नदेखिने सम्भावना रहन्छ।
“चुनावको नतिजा र मितिका बारेमा पूर्व अनुमान लगाउनु खतरापूर्ण मानिन्छ, पछिल्ला केही वर्षमा हामी यो गर्नबाट डराएका छौं,” मार्क्स भन्छन्।
“यो गठबन्धन आफ्नो कार्यकालको अन्तिमसम्म जाने अपेक्षा छ, त्यसैले मे महिना अघि केही होला जस्तो त मलाई लाग्दैन, अप्रिलमा इस्टर र एनज्याक डे पनि पर्ने भएकाले यसले अझ बढी चुनौती खडा गरिदिन्छ (चुनावका लागि) र उनीहरू मानिसहरूका लामो छुट्टीमा हस्तक्षेप गर्न चाहँदैनन्।”
उता साउथ अस्ट्रेलियामा १९ र्माचका लागि राज्य स्तरको चुनाव तय भएको छ, यद्यपि यसलाई अनुरोधका आधारमा सार्न सकिनेछ।
चुनावको मिति तय गर्न के कुरामा भर पर्छ?
डा. क्यामरनको भनाइलाई आधार मान्ने हो भने प्रधानमन्त्री स्कट मोरिसन गठबन्धनले चुनाव जित्ने सम्भावित समय अनुरूप मिति तोक्नेछन्।
“सरकारले गत वर्षको सुरुमै चुनावका लागि घोषणा गर्न सक्छ कि भन्ने अनुमान गरिएको थियो।”
“किनभने अस्ट्रेलियाले कोभिड–१९ नियन्त्रणमा अन्य मुलुक भन्दा निकै राम्रो गरिरहेको थियो, तर अहिले परिस्थिति त्यस्तो छैन,” उनले भनिन्।
के चुनावी प्रचारप्रसार सुरु भइसकेको हो त?
यदि तपाईँले चुनावी प्रचारप्रसार भइसकेको हो जस्तो लाग्छ भने तपाईँ गलत हुनुहुन्न।
किनभने, आगामी जाडो महिनामा क्यानबेराको शक्ति सन्तुलन कसरी गर्ने भन्ने विषयमा अधिकांस पार्टीहरूले छलफल थालिसकेका छन्।
आफूले जितेमा यस्तो काम गर्छु भनेर प्राथमिकताहरू सार्वजनिक गर्नका लागि उनीहरू स्वतन्त्र रहेता पनि औपचारिक अभियान भने सुरु भएको छैन।
चुनाव नजिकिँदै गर्दा यस्ता अभियानहरू पनि बढ्दै गएको हामीले अनुभव गर्नेछौं।
“चुनाव आह्वान हुनु अगावै राजनीतिज्ञहरूले प्रचार सुरु गर्न सक्छन्, र अहिले हामीले अस्ट्रेलियाभर बिलबोर्डहरुमा प्रचार गरिएको पनि देख्न सक्छौ,” क्यामरन भन्छिन्।
“ठुला प्रचारहरू चाहिँ, चुनाव घोषणा भएपछि वा चुनावका केही दिन अघि मात्र हुन्छन्।”
कोभिड–१९ ले यसमा कस्तो असर गर्छ?
पछिल्लो दुई वर्षमा कोभिड–१९ का कारण हाम्रो जीवनका धेरै पक्षहरू उथलपुथल बनाइदिएको छ।
महामारीका बिच हुने यो चुनावमा व्यक्तिगत रूपमा आफै उपस्थित भएर भोट हाल्ने भन्दा पनि हुलाक मार्फत भोट हाल्ने मानिसहरूको सङ्ख्या धेरै हुने अनुमान गरिएको छ।

यसले चुनावको मतगणनालाई लम्ब्याउने छ भने चुनावकै दिन विजेता घोषणा हुने सम्भावना पनि कम रहन्छ।
अस्ट्रेलियाको निर्वाचन अयोगले गत जनवरीमा बताए अनुसार, स्वास्थ्य अधिकारीहरुसंँग सर-सल्लाह चलिरहेको छ।
चुनावका बेलासम्ममा कोभिड-१९ स्थिति कस्तो रहन्छ, धेरै कुराहरू त्यसमै निर्भर रहन्छन्।
“कोभिड-१९ महामारी बाहेक, सामाजिक सञ्जाल र अनलाइन समाचारहरूको बढ्दो लोकप्रियताका कारण डिजिटल अभियानहरू बढ्न सक्ने सम्भावना बढी छ,” सेरा क्यामरन भन्छिन्।
“कोभिड-१९ का कारण परम्परागत चुनावी प्रचारको तुलनामा विद्यमान प्रवृत्ति हाबी हुने अपेक्षा गर्न सकिन्छ।”
के चुनावमा दुई पटक भोट हाल्न जानु पर्ने अवस्था आउँछ?
सन् २०२२ को चुनाव दुई पटक गरी हुने सम्भावना रहेको बताउँदै राजनीतिशास्त्री क्यामरनको भन्छिन्, “प्रतिनिधिसभा र आधा सिनेटका लागि चुनाव विभाजन हुन पनि सक्छ।”
तर यो निकै कम सम्भावना भएको कुरा हो।
किनकि उनका अनुसार पछिल्लो पटक सन् १९७० मा मात्र यस्तो भएको थियो।
अर्थात् उक्त समयमा सिनेटका लागि मात्र चुनाव गराइएको थियो।
यदि मोरिसनले यो विकल्प रोज्छन् भने सिनेटको ७६ मध्ये ४० सिटका लागि मे महिना वा त्यस अघि नै निर्वाचन हुने र प्रतिनिधिसभाको १५१ सिटका लागि भने सेप्टेम्बरसम्ममा चुनाव हुनेछ।
मतदाता नामावलीको बारेमा के छ बुझ्नुपर्ने कुरा?
अस्ट्रेलियाली चुनाव आयोगले गत महिना ९६ प्रतिशत योग्य अस्ट्रेलियालीहरू (१ करोड ७० लाख मानिसहरू) मतदानका लागि दर्ता भइसकेको बताएको भने नामावलीमा नाम नभएका थप ५६०,००० लाई सम्पर्क गरिँदै छ।
इलेक्टोरल कमिस्नर टम रोजर्सले भने, "विश्वमै हाम्रो नामाङ्कनको दर उच्च छ र यसको श्रेय अस्ट्रेलियालीहरूलाई र लोकतान्त्रिक सहभागिताको बलियो रूपमा खडा आधारलाई जान्छ।"
नयाँ ठेगाना वा नाम प्रतिबिम्बित गर्न परिवर्तन गर्न मतदाता नामावलीमा विवरणहरू अद्यावधिक हुनुपर्छ।
aec.gov.au/enrol मा गएर यसलाई अद्यावधिक गर्न सकिन्छ।
