गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको चुनाव नजिकिँदै गर्दा यस पटक पनि नेतृत्वदायी भूमिकाका पदका लागि महिला उम्मेदवारी निकै कम देखिएको छ।
अन्तिम सुची आउँदासम्म अध्यक्ष पदमा शून्य महिला उम्मेदवारी रहेको छ भने अन्य विभिन्न पदमा आधिकारिक महिला उम्मेदवारीको सङ्ख्या पनि ३० (नारी निकुञ्ज बाहेक) भन्दा कम नै रहेको छ।
अस्ट्रेलियामा रहेका नेपालीहरूलाई एकताबद्ध बनाउने उद्देश्यले सन् २००५ मा स्थापना भएको संस्था गैर आवासीय नेपालीसँग अस्ट्रेलियाको निर्वाचन जुलाई ३१ तारिखमा हुँदैछ।
यो निर्वाचन पछि उक्त संस्थाले दुई वर्षका लागि नयाँ कार्य समिति पाउने छ।
अहिलेसम्मका निर्वाचन र त्यसका परिणामलाई हेर्ने हो भने पुरुष हावी भएको संस्थाका रूपमा रहँदै आएको बताइएकोछ।
कतिपयले त एनआरएनएलाई “बोइज क्लब” वा केटाहरूको अखडा भन्ने नै पनि आरोप लगाएका छन्।
यस अघिको निर्वाचनमा एसबीएस नेपालीले गरेको रिपोर्टिङ क्रममा पनि निकै न्यून सङ्ख्यामा महिलाहरूको उपस्थिति रहेको देखिएको थियो।
तर यस पटको चुनावमा भने महिला सहभागिता केही बढेको बताउँछिन् न्यु साउथ वेल्सबाट उप-संयोजक पदमा उम्मेदवारी दिएकी सुकीर्ति भट्ट।

भट्टका अनुसार महिलाहरू एनआरएनको नेतृत्व पदसम्म नपुग्नुलाई सङ्घको विधान केही हदसम्म जिम्मेवार भएता पनि उनीहरूले त्यस किसिमका ठुला पदहरूका लागि आफू कतिको योग्य छु भनेर आत्म मूल्याङ्कन गर्नुपर्छ।
“यो पाली मैले महिलाहरूको पार्टीसिपेसन अलिक धेरै नै देखेको छु...धेरै नै खुसी लागि राखेको छ," उनले एसबीएस नेपालीसँग कुरा गर्दै भनिन्।
हाम्रो कुराकानी सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा यहाँबाट नि:शुल्क डाउनलोड गर्न सक्नुहुन्छ।
उनी अगाडी भन्छिन् कि गैर आवासीय नेपाली सङ्घका भगिनी संस्था नारी निकुञ्जमा महिलाहरूकै संस्था भएकाले महिलाको उपस्थिति हुने नै भयो।
मूलधारमा पनि निर्णय अधिकार भएका पदहरूसम्म महिलाहरूको उपस्थिति प्राय शून्य रहनुमा हाल सङ्घ भित्रको संरचना एक प्रमुख कारण रहेको पनि भट्टको ठम्याई छ।
यसका साथै, उनी महिलाहरूको सहभागिता बढाउनु भन्दा पनि त्यो उपस्थितिलाई अर्थपूर्ण बनाइनुपर्नेमा जोड दिन्छिन्।
भूमा लिम्बु गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको आइसिसी संयोजकका रूपमा कार्यरत छिन्।
“भन्ने बेला नारी आधा आकाश हो भन्ने तर बेला आउँदा मौका नदिने,” उनले भनिन्।
“महिलाहरू आईसीसी प्रेसिडेन्टका लागि पनि योग्य छन्, महिलाका लागि एउटै मात्र कमजोरी भनेको प्यानल बनाएर लग्ने र कुनै ठाउँमा लगाएर लडाइने गरिन्छ, पुरुषहरूमा महिलाको तल बसेर हामी काम गर्ने मानसिकता नै हुँदैन।”
महिलाहरू सबै पदका लागी योग्य भएता पनि अगाडी लिएर आउन नखोज्ने गरेको पाइएको पनि उनको भनाई छ।
यता यस पटकको चुनावमा राष्ट्रिय सचिवका लागि उम्मेदवारी घोषणा दिएकी सन्ध्या शाहलाई पनि पुरुषवादी सोच हावी नभएको भन्ने जस्तो चाहिँ लाग्दैन।
“केही हदसम्म पुरुषहरू जुन पदमा पनि आफू नै हुनपर्छ भन्ने सोच र महिला भएको टिममा रहँदा आत्मग्लानि हो कि भन्ने जस्तो लाग्छ,” उनले भनिन्।

नारी निकुञ्जमा करिब चार वर्ष नेतृत्व गरेकी शाहले यस पटकको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिन चाही के कुराले रोक्यो त हामीले उनलाई सोधेका थियौ।
“टिममा काम गर्ने भएकाले सबै साथीहरूको इच्छा र सरसल्लाह बमोजिम यस अघि स्टेट कोअर्डीनेटरमा फिर्ता लिएर राष्ट्रिय सचिवमा आवेदन दिएकी हुँ,” उनले भनिन्।
“निर्णायक तहमा गएर काम गर्न सक्छन्,तर केही महिलाहरूका केही परिधिहरू हुन्छन् त्यसले रोकिरहेको हुन्छ, एउटा महिलाको धेरै जिम्मेवारीहरू रहन्छन्।”
“महिलाहरूलाई धेरै कुरा मिलाएर मात्र बाहिर निस्कन पर्ने हुन्छ तर यसमा परिवर्तन होला।”
अगामी दिनमा महिलाको नेतृत्व टाढा नभएको शाहको भनाई छ।

यता न्यु साउथ वेल्स राज्यको महिला संयोजकमा उठेकी प्रतिज्ञा अधिकारी यस अघि उपाध्यक्ष पदमा महिलाहरूको सहभागिता निकै कम भएको स्विकार्दै भन्छिन् कि यस अघि रञ्जु वाग्ले थापा र भूमा लिम्बु उपाध्यक्ष हुनु बाहेक महिला सहभागिता कमै छ।
न्यु साउथ वेल्स राज्यले महिला संयोजकको उम्मेदवारी परेको पहिलो पटक भएको उनको भनाई छ।
“महिलाहरू यस्ता खालका अभियानमा सरिक हुन्–थुप्रै कुराहरू छन् सामाजिक, पारिवारिक,सांस्कृतिक र ती चिजहरूलाई चिर्दै महिलाहरू लिडरसिपमा आउनका लागि एकदमै सजिलो पनि छैन; उत्प्रेरणा दिने काम गर्यौ भने महिलाहरूको उत्तिकै सहभागिता हुन्छ र अध्यक्षमा पनि पुग्छ भन्ने मेरो विश्वास छ।”
उता, साउथ अस्ट्रेलियाबाट नारी निकुञ्जको राष्ट्रिय संयोजक पदका लागि उम्मेदवारी दिएकी मञ्जु खड्का पनि गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियामा महिला सहभागितामा केही बढोत्तरी भएको बताउँछिन्।
र, महिलाहरूको सहभागिता सङ्गठनमा बढाउन नारी निकुञ्जको भूमिका महत्त्वपूर्ण रहेको पनि उनले एसबीएस नेपालीलाई बताइन्।
खड्का भन्छिन् कि घर-परिवार लगायतका आफ्ना अन्य जिम्मेवारीहरू निर्वाह गर्दै सामुदायिक कार्यहरूमा लागि पर्नु महिलाहरूका निम्ति सहज त पक्कै छैन तर बिस्तारै उनीहरू अगाडि बढिरहेका छन्।
"उपाध्यक्षको पदमा त हामीले देखी नै सक्यौँ...अध्यक्षको पदमा पनि (महिलाहरू) छिट्टै नै आउनुहुन्छ," उनले भनिन्।
“आइस ब्रेक गरौँ”: केशव कँडेल, अध्यक्ष एनआरएनए अस्ट्रेलिया

कार्यकाल सकिन केहि दिन मात्र बाँकी रहेका वर्तमान अध्यक्ष केशव कँडेल महिलाहरूका उपस्थिति कम भएको स्विकार्छन्।
अस्ट्रेलियाको मन्त्रीपरिषद्मा पनि महिलाको उपस्थितिको आवाज उठी रहेको हुन्छ भन्दै उनले महिलाहरू आफैले पनि सहभागिता जनाउनु जरुरी रहेको कुरा औंल्याए।
तर एकै पटकमा परिवर्तन नआए पनि लडाई जारी राख्नु जरुरी रहेको उनको भनाई छ।
“यदि पुरुषहरूको कारण रोकिएको हो भने पनि यसका विरुद्ध लगातार लडौँ म यसमा तपाईँहरूको साथमा छु; महिलाहरूको पदको सवालमा मात्र नभएर सशक्तीकरण गर्ने कुरामा छलफल र सहकार्य गर्न म तैयार छु।”








