मे १५ लाई अन्तर्राष्ट्रिय परिवार दिवसका रूपमा मनाइने गरेकोमा यो दिवसले अन्तर्राष्ट्रिय समुदाय आफ्नो परिवारसँग नजिक रहनुको महत्त्वलाई झल्काउने गर्दछ।
नेपालीहरू माझ परम्परागत संयुक्त परिवारको अवधारणा त लोप हुँदै गएको छ नै, परिवारका सदस्य विदेशमा हुँदा पारिवारिक भेटघाटको आकार पनि झन् सानो हुँदै गएको छ।
तर अस्ट्रेलियाको मेलबर्न सहरमा बसोबास गर्ने राजेन्द्र पोख्रेल भने आफ्नो सानो पारिवारिक जमघटमा पनि २० देखि ५० जना सम्म भेला हुनु सामान्य हुने गरेको बताउँछन्।
"मेरो बुवा ममी कै सन्तान भन्दा हामी २५ छौँ हैन अनि मेरो सासू मा र ससुरा बुवा चाहिँ हामी सँगै बस्छौँ क्या। पछिल्लो १२/१३ वर्ष देखि। उहाँहरू समेत गर्दा त हामी परिवार मात्र भन्यो भने २७ जना जम्मा हुन्छौँ क्या घरमा।
"हाम्रो फेमिलीको सानो एकदम टिपिकल फेमिली ग्यादरिङ्ग गरौँ बर्थ डे सानो मनाइ दिउँ भन्दा पनि ५० जना चाहिँ हुनै पर्छ के घरमा छुटाउनै नमिल्ने।"
पोख्रेलका ९० वर्ष माथिका बुवा आमा देखि उनीहरूका पाँच सन्तान सबै महत्त्वपूर्ण पारिवारिक भेटघाटमा मेलबर्नमा नै जम्मा हुने गरेका छन्।

"मेरो सबभन्दा ठुलो चैँ दाजुको चाहिँ प्रोसेस भइरा'छ तर आउने जाने गरिराख्नु हुन्छ त्यसले गर्दा खेरि इम्पोर्टेन्ट फेमिली सेरेमोनीहरूमा हामी सबै जना नै हुन्छौँ। "
उनलाई विशेष गरी आफ्ना आमा बुवाको चौरासी गरेको क्षण अविस्मरणीय लाग्छ।
"दुबै जनाको (आमा बुवाको) चौरासी एकै ठाउँमा झन्डै २५० त्यति गेस्टहरू साथी भाइहरूलाई बोलाएर मेलबर्नमा हामीले सम्पन्न गर्न पाएका थियौँ। त्यो बेलामा चाहिँ एकदमै खुसी लागेको थियो।"
"जीवन कै सबैभन्दा उत्कृष्ट क्षण मध्येको एक भएको थियो हाम्रो सबै जना फेमिलीको।"
राजेन्द्र पोख्रेलसँगको पुरा कुराकानी सुन्नुहोस्: मेलबर्नका राजेन्द्र पोख्रेलको अस्ट्रेलियामा नै रहेको ४ पुस्ताको ठुलो परिवार हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
विदेशमा पनि आफन्तहरू आफ्नै वरपर हुने राजेन्द्र पोख्रेलको भन्दा ठ्याक्कै उल्टो अवस्था छ कीर्तिपुरकी सुमित्रा पाण्डेको।
अवकाश प्राप्त शिक्षक पाण्डे आफ्ना भएका दुई सन्तान अमेरिकामा भएकाले श्रीमान् श्रीमती मात्र घरमा बस्ने बानी परिसकेको बताउँछिन्।
"अरु बेला त सामान्य नै हुन्छ अब पकाउने, खाने यताउति समाज व्यवहार यसरी नै चलिराखेको छ। रमाइलै छ।"
तर चाडबाडको समय र बिरामी हुँदा भने छोरा छोरीको निकै याद आउने उनले बताइन।
"चाडबाड आउँदा, अलिकति अशक्त हुँदा अनि अब कहिले काहीँ अलि मिठो जस्तो खान मन लाग्दा चाहिँ छोराछोरीको याद धेरै आउँछ।"
दैनिक भिडियो कल र फोन गरेर छोरा छोरीसँग केही हद सम्म सामिप्यता महसुस हुने गरेको उनको भनाइ छ।

बेलाबेलामा उनीहरू भेट्न आफूहरू पनि अमेरिका जाने गरेको र छोरी पनि नेपाल आउने गरेको पाण्डेले बताइन।
तर उनी भन्छिन् सात र एक बर्षका दुई नातिनीहरूसँग सधैँ भेट्न र खेल्न पाए हुन्थ्यो भन्ने लाग्ने गरेको छ।
"(नातिनीहरूसँग) उनीहरूसँग बोल्न खेल्न पाए अब उनीहरूलाई खेलाउन पाए। उनीहरूलाई बोकौँ बोकौँ लाग्छ देख्दा खेरी है बोक्न पाइँदैन, हेर्न मात्र पाइन्छ।"
सामान्य अवस्थामा त ठिकै छ भनेर चित्त बुझाउने पाण्डे दम्पतीलाई बिरामी पर्दा र अप्ठ्यारो पर्दा भने कसले हेर्ला भनेर असुरक्षाको भावना आउने गरेको छ।
"त्यस्तो परिहालेला आउँदा पनि ५ /७ दिन त लागी नै हाल्छ। सबै कुरा मिलाएर आउनलाई त्यो अवस्थामा चाहिँ कल्ले गर्ला भन्ने एउटा असुरक्षाको भावना चाहिँ हुँदो रै'छ।"
सुमित्रा पाण्डेसँग गरिएको कुराकानी सुन्नुहोस्: विदेशमा रहेका छोराछोरीको 'चाडबाड र बिरामी हुँदा याद आउँछ' हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नजिकका आफन्तले घेरिएर बसेका राजेन्द्र पोख्रेल भने यसबाट आफ्नो सन्तानले हुर्कँदा राम्रो वातावरण र साथ पाएकोमा सन्तुष्ट छन्।
अस्ट्रेलियाको संस्कृति अनुसार आत्मनिर्भर हुन त सिकेका छन् नै उनी भन्छन् आदर सत्कार र नेपाली संस्कृतिलाई बुझ्ने र आफ्ना उमेर समूहका आफन्तबाट साथ समेत पनि पाएका छन्।
"साधारण सानो सानो कुराहरूमा पनि उनीहरूलाई हेल्प चाहियो भने, उनीहरू एक्लो हुँदैनन्। त्यहाँ सधैँ सहयोग हुन्छ त्यो एउटा एकदमै राम्रो फाइदा छ उनीहरूलाई। त्यसले पोजेटिभ मात्र दिन्छ जस्तो लाग्छ मलाई।"
