Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

नातिनीहरू भेट्न अस्ट्रेलिया आउने तयारीमा हर्षित नेपाली हजुरबा हजुरआमा

nepali grandparents_nepali_dhanraj giri and family

अस्ट्रेलियाले नोभेम्बर महिनादेखि आफ्नो सिमाना खुलाएपछि नेपालबाट थुप्रै हजुरबा हजुरआमाहरू यस लकडाउनका बिचमा अस्ट्रेलियामा जन्मेका आफ्ना नातिनातिना भेट्न जान तयार भएका छन्। तीनै मध्येका एक जोडी, चितवनका धनराज गिरी र सीता गिरीसँग गरिएको कुराकानी यस साताको विशेष कुराकानीमा।


Published

Updated

By Sewa Bhattarai

Source: SBS



Share this with family and friends


अस्ट्रेलियाले नोभेम्बर महिनादेखि आफ्नो सिमाना खुलाएपछि नेपालबाट थुप्रै हजुरबा हजुरआमाहरू यस लकडाउनका बिचमा अस्ट्रेलियामा जन्मेका आफ्ना नातिनातिना भेट्न जान तयार भएका छन्। तीनै मध्येका एक जोडी, चितवनका धनराज गिरी र सीता गिरीसँग गरिएको कुराकानी यस साताको विशेष कुराकानीमा।


अस्ट्रेलियाले कोरोना महामारीका कारण मार्च २०२० मा आफ्नो सिमाना बन्द गरेपछि अस्ट्रेलिया जान नपाएका थुप्रै मानिस अब फेरि अस्ट्रेलिया जान पाउने भएपछि खुसी भएका छन्। 

यो डिसेम्बर महिनामा चितवनका धनराज गिरी र सीता गिरी अस्ट्रेलिया गएर आफ्ना नातिनीहरू भेट्न निकै उत्साहित छन्। धनराज र सीता गिरीले नाकाबन्दीका बिचमा जन्मेकी १४ महिनाकी नातिनी अलिशालाई भेट्न पाएका छैनन्। 

"कोरोना र लकडाउन नभएको भए हामी दुई वर्ष अगाडि नै गइसक्थ्यौँ।

लकडाउनले गर्दा आफ्नो परिवारलाई भिडियोमा मात्रै हेर्नु परेको छ," धनराज भन्छन्। 

गिरीका छोरा आरजु र बुहारी लक्ष्मी १३ वर्षदेखि अस्ट्रेलियामा बसिरहेका छन् र उनीहरू नर्सिङ होममा काम गर्छन्।

nepali grandparents_nepali_dhanraj giri and family
Source: Dhanraj Giri/ Supplied

सात वर्षकी ठुली छोरी र १४ महिनाकी सानी छोरी हुँदा उनीहरूलाई काम गर्नका लागि समय मिलाउन गाह्रो पर्छ, र उनीहरू पालैपालो काम गर्ने गरेको सीता बताउँछिन्।

"गत वर्ष सेप्टेम्बरमा कोरोना महामारी उचाइमा हुँदा अलिशा जन्मेकी थिइन्। हामी उतै हुने थियौँ तर हुन पाएनौँ। त्यहाँ छोरा बुहारीलाई निकै गाह्रो भयो। ठुली छोरी साथीकोमा छोडेर दुई जना मात्रै अस्पताल गएर सानी छोरी लिएर आए। छोरोले एक महिनाको बिदा मागेर पकाएर ख्वायो। अनि बुहारी तङ्ग्रिएपछि काममा गयो बल्ल!" सीता सुनाउँछिन्।

पुरा रिपोर्ट सुन्नुहोस्:नातिनीहरू भेट्न अस्ट्रेलिया आउने तयारीमा हर्षित नेपाली हजुरबा हजुरआमाहाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

धनराज र सीता नेपालबाट गएपछि छोरा बुहारीलाई अलिक सजिलो हुने उनीहरूको अपेक्षा छ।

"वहाँ गएर हामीले नातिनीहरूलाई हेरिदिएपछि उनीहरू मज्जासँग काम गर्न पाउँछन्। हामी गएपछि एक जनाले बच्चा ल्याउने, पुर्‍याउने, एक जनाले घरको काम गर्ने गरिन्छ," धनराज भन्छन्।

चौध महिनादेखि उनीहरू भिडियोमा नातिनीहरूलाई हेरेर चित्त बुझाई रहेका छन्।

"ठुली नातिनी मजाले नेपाली बोल्छे। सानीले पनि नमस्कार गर्ने भएकी छे," सीता दङ्ग पर्छिन्।

अध्यापन पेसामा ४२ वर्ष बिताएका धनराज साहित्यकार पनि हुन्, र उनी नातिनीहरूलाई आफ्नै गजल सुनाएर रमाइलो गर्ने गर्छन्।

"फोनमा मात्रै मान्दैनन्। म भिडियोमा गजल गाइदिन्छु। 'म एउटा जून हुँ भन्दै उदायौ रातमा मेरो,' भनेपछि नातिनी नाच्न थाल्छे। मोबाइल हातमा परेपछि बाबा भन्छे, नाच्न थाल्छे," धनराज गद्गद् छन्।

धनराज र सीताका दुई छोरी क्यानडामा भएकाले नेपालमा उनीहरू दुई जना मात्रै बस्ने गर्दछन्।

nepali grandparents_nepali_dhanraj giri and family
Source: Dhanraj Giri/ Supplied

अब अस्ट्रेलिया जाँदा घर एक जना छिमेकीको जिम्मामा छोडेर जाने योजना बनाइरहेका छन्।

तर, त्यसरी जाँदा सीतालाई भने त्यति सजिलो लाग्दैन।

"नातिनीहरूलाई देख्न त रमाइलै लाग्छ, बस्न चाहिँ म उता भन्दा यतै रमाउँछु। म अङ्ग्रेजी पनि बोल्दिन, उताको पैसा पनि चिन्दिन।"

"यता पैसा खेलाइरहेको मान्छे, उता त्यस्तो नहुँदा अप्ठ्यारो लाग्छ। बरु एकपल्ट आओ तिमीहरू पनि भनेको छोरा बुहारीलाई। उनीहरू मानेनन्, अब जानै पर्‍यो," सीता भन्छिन्।

हुन त यसपालि टिकटको मूल्य पनि विगतको भन्दा दुई गुणा बढी भएको धनराज बताउँछन्, उनीहरू यो भन्दा अघि पनि सन् २०१५ र २०१८ मा अस्ट्रेलिया गएका थिए। अनेक समस्या भए पनि नातिनीहरूको मायाले भने उनीहरूलाई बारम्बार अस्ट्रेलिया डोर्‍याएको छ। 

"म तीन वर्ष अघि अध्यापनबाट रिटायर भएँ। साहित्यमा पनि धेरै लागेँ। तर साहित्य मात्रै भनेर पनि जिन्दगी चल्दो रहेनछ। अनि मेरो मनमा एउटा प्रश्न आयो। अब हामी कसको लागि बाँच्ने? अब हामी बाँच्ने भनेको तेस्रो पुस्ताको लागि हो। म बालबालिकासँग रमाउँछु," धनराज भन्छन्।

"बालबच्चासँग रमाउने प्रौढ मानिसलाई मुटुको समस्या पनि कम हुन्छ रे!"


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now