अस्ट्रेलियाको सीमा नीतिका कारण भर्खर आमा भएकाहरूमा देखिने पोस्ट नेटल डिप्रेसन बढ्ने चिन्ता व्यक्त गरिएको छ।
सीमा बन्द हुँदा सहयोगका लागी आफ्ना अभिभावकहरू अस्ट्रेलिया आउन नपाए पछि उनीहरूको मानसिक स्वास्थ्यमा असर परेको धेरै महिलाहरूले बताएका छन्।
उनीहरूले आफूहरूको यो चिन्तालाई व्यक्त गर्दै प्रधानमन्त्रीकी श्रीमती जेनी मोरिसनलाई पत्र लेखेका छन्।
जेनी मोरिसनले विगतमा आफूलाई पोस्ट नेटल डिप्रेसनबाट छुटकारा पाउन परिवारको साथ र सहयोगले भूमिका खेलेको बताएकी थिइन।
सिड्नी निवासी बच्चाकी आमा एलेक्जेन्ड्रा पार्करले जेनी मोरिसनको पोस्ट नेटल डिप्रेसनको सङ्घर्ष बारे पढेकी र जेनीको सङ्घर्षलाई उनले महसुस पनि गरेकी थिइन्।
प्रधानमन्त्री पत्नीले आफ्ना दुई छोरीहरूलाई जन्म दिइसके पछिको आफ्नो जीवनबारे कुरा गर्दै कसरी आफूले छोरीहरू जन्मिए पछि आफूमा देखिएको डिप्रेसनबाट साथी र परिवारको सहयोगले छुटकारा पाएको भन्ने बारे यही वर्षको सुरुवातमा बताएकी थिइन्।

एलेक्जेन्ड्रा पार्करलाई पनि आफ्नो भर्खर जन्मिएको बच्चा सँग समय बिताउनु पर्ने त्यस्तो महत्त्वपूर्ण समयमा मानसिक स्वास्थ्य समस्याबाट गुज्रँदा कस्तो हुन्छ भन्ने नमिठो अनुभव रहेको छ।
तर जेनी मोरिसनको भोगाइ भन्दा भिन्न एलेक्जेन्ड्राको भोगाइ किन रह्यो भने उनले जेनीको जस्तो पोस्ट नेटल डिप्रेसनको समयमा आफ्नो परिवारको साथ र सहयोग पाउन सकिनन्।
पार्करले बच्चा जन्मिए पछि बेलायतबाट आफ्ना अभिभावक ल्याउन दिन हालेको निवेदन अस्वीकृत भयो।
उनले चिकित्सक र मानसिक स्वास्थ्य सल्लाहकारको पत्रलाई प्रमाणको रूपमा पेस गरिन् पनि।
तर, अभिभावकलाई अस्ट्रेलियामा आप्रवासनका हिसाबले परिवारको अत्यन्त निकट सदस्यका रूपमा नलिइने भएकाले एलेक्जेन्ड्रा पार्करका आमा बुवाले यात्रा छुट पाउन सकेनन्।
पार्करको निवेदनलाई तीन पटक अस्वीकार गरिसकिएको छ।

उनले जेनी मोरिसनको अवस्थाबारे सुनेर आफूलाई पिडा भएको भन्दै धेरै आमाहरू आफ्नो परिवारको साथ नपाउँदा यस्तै समस्यासँग जुधी रहेको बताएकी छन्।
"मैले त्यो लेख पढेको छु जहाँ जेनी मोरिसनले यो स्वास्थ्य समस्यासँग जुध्न सर्वप्रथम सहयोग उपलब्ध हुनु पर्ने भनेकी छिन्। उनले परिवार, चिकित्सक र साथीहरूको साथ पाएको पनि उल्लेख गरेकी छिन जहाँ अगाडि उनको कथन छ कि परिवारसँग हुँदा समस्यामा रहेका महिला र पुरुषहरूलाई धेरै सहयोग गर्छ।"
दुई बच्चाकी आमा पार्कर भन्छिन्, बच्चा जन्मिसके पछि डिप्रेसन र एङ्जाइटीका कारण आफूले अनुभव गरेको दुर्बलता - यदि आफ्नो आमासँगै भएको भए धेरै फरक हुन्थ्यो।
र, मानसिक रोगलाई यात्रा छुट दिने 'कम्प्यासनेट रिजन' वा दयाको भावले प्राप्त हुने छुट अन्तर्गत नराखिएकोमा दुःख लागेको छ।
"सरकारले मानसिक रोगलाई कारुणिक हिसाबले नहेरेको देखेर विश्वास नै गर्न सकेकी छैन।"
अस्ट्रेलियामा रहेका नेपाली नवअभिभावकका अनुभव चाहिँ कस्तो छ त?
एलेक्जेन्ड्रा पार्करको जस्तै समस्या नेपाली पृष्ठभूमिका नयाँ आमा बुबालाई पनि परेको छ।
यात्रा प्रतिबन्धले नेपालमा रहेका अभिभावकहरू अस्ट्रेलिया आउन नसक्दा उनीहरूले साथ र सहयोगको अभाव अनुभव गरेका छन्।
तीन महिनाकी छोरीकी आमा मेधा निरौला भन्छिन् कि श्रीमान् एक महिनाको बिदा पश्चात् काममा फर्किए पछि उनलाई एक्लोपनाको महसुस भएको थियो।
"घरमा बस्ने हुँदा खेरि नयाँ आमालाई चाहिँ हल्का सहयोगको नभए जस्तो लाग्दो रहेछ ... एक्लै बच्चासँग बस्नु पर्दाखेरि एक्लै फिल हुँदो रैछ," उनी भन्छिन्।
“त्यस्तो बेलामा आमा बुवा भएको भए दिनभरि कुरा गर्न साथी हुन्थ्यो जस्तो लाग्दो रैछ।”
निरौला र उनका श्रीमान् प्रज्ज्वल वस्ती अहिलेसम्मको आफूहरूको अभिभावकका रूपमा तय भएको यात्राबाट दङ्ग छन्।

नवअभिभावकहरूले हामीसँग गर्नुभएको कुराकानी सुन्नुहोस्:null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा यहाँबाट नि:शुल्क डाउनलोड गर्न सक्नुहुन्छ।
यस्तै अनुभव अनिता ढकाल र ईशान कुँवरको पनि छ।
बच्चासँग धेरै समय बिताउँदा निकटता अझै बढेको अनुभव गरेका छन् उनीहरूले।
तर ढकाल भन्छन् कि पाँच महिना अगाडी आफ्नो छोरी जन्मिने समयमा भने आफूले के गर्ने भनेर सोच्नै सकेका थिएनन्।
"अस्पतालमा भिजिटरहरू आउन नदिने थिए; त्यो बेलामा त केही सोच्न नै नसकिँदो रैछ," उनले एसबीएस नेपालीसँग भने।
“म त ब्लाइन्ड नै भएको थिए।”
तर बिस्तारै घरमा साथहरूसँगको भेटघाट र नेपालमा रहेका आमा बुबा एवं आफन्तहरूसँग भिडियो कल मार्फत कुराकानी पछि भने केही सहज भएको उनीहरूको अनुभव छ।
सबिना पोखरेललाई पनि आमा बुबा अस्ट्रेलियामा आफूसँगै भइदिएको भए धेरै सजिलो हुन्थ्यो भन्ने छ।

श्रीमानका साथै आफैँ पनि काममा फुल टाइम फर्कनु पर्ने भएपछि घरमा एक वर्षको छोरा कसैको भरमा छोड्न नपाउँदा भने चिन्ता लागेको उनको भनाई छ।
"सुरु सुरुमा त म यति नर्भस हुन्थे, काम त गए तर मेरो मन यही छोरा मै हुन्थ्यो," पोखरेलले भनिन्।
“मलाइ सबैभन्दा ठुलो पिर चाहिँ (छोराले) मलाई बिर्सिन्छ कि जस्तै लाग्थ्यो।”
उता, सन्दीप ठकुरी र प्रदिना सिंह आगामी सेप्टेम्बरमा परिवारको नयाँ सदस्यलाई स्वागत गर्न आतुर छन्।
अरू नवअभिभावकहरू जस्तै आफूहरूको आमाबुवा सीमा बन्दका कारण अस्ट्रेलिया आउन नपाउने हुँदा थोरै पिर लागेको उनीहरू बताउँछन्।
सिंह भन्छिन् कि जस्तोसुकै परिस्थितिका लागि पनि उनीहरू तयारी गरिरहेका छन्।
“हामी मानसिक रूपमा तयार छौँ ... सबैभन्दा खराब परिस्थितिको कल्पना गर्दै त्यसको लागी दुवै जना तयार छौँ।”

सम्बन्धित सामाग्री:

विवादित बनेको आफ्ना केही फोटोहरू बारे अभिनेत्री प्रियङ्का कार्की यसो भन्छिन्
















