चिकित्सकहरूले नै सुझाउने फेमम नाम एक उपकरण गर्भवतीको पेटमा छुवाए पछि, बच्चाको मुटुको धड्कन, कन्ट्राक्सन (सङ्कुचन), प्रसूति अवस्थाबारेको जानकारी एक एपका माध्यमबाट प्राप्त हुने बताइएको छ।
हाल ३६ हप्ताको गर्भ रहेकी बेकरले आफ्नो पहिलो सन्तान - जुडलाई यत्तिकै अवधिमा जन्माई सकेकी थिइन्।
उनका अनुसार, आफ्नो गर्भावस्था बारे थाहा पाउन समय लिएर स्वास्थ्य परीक्षण गर्न जाने भन्दा घरमै बसेर यी जानकारीहरू उपलब्ध भए धेरै मद्दत मिल्ने थियो।
“जुड समय भन्दा अगावै जन्मेकोले होला, म आफ्नो गर्भावस्थाको पछिल्लो अवधिमा आइपुग्दासम्म निकै नै सतर्क र चिन्तित हुनु स्वाभाविक नै जस्तो लाग्छ। त्यस कारण पनि गर्भावस्था मूल्याङ्कन गर्ने यस्ता उपकरणले निश्चय पनि म जस्तीलाई सहयोग गर्ने नै भयो नि,” उनले भनिन्।
अब, उनी जस्तै महिलाहरुलाई सहयोग छिट्टै उपलब्ध हुनेछ।
अस्पताल धाइ रहनुपर्ने झन्झटबाट मुक्ति

फेमम नामको एक यन्त्र, जसलाई “'भर्चुअल प्रसूति वार्ड' पनि भनेर नामकरण गरिएको छ, आगामी वर्षको मध्यसम्ममा तयार भई सक्ने अनुमान छ।
यसको प्रयोगबाट गर्भावस्थाका महिलाहरुले अस्पताल धाइ रहनुपर्ने झन्झटबाट मुक्ति पाउने आशा गरिएको छ।
विशेष गरेर, गर्भावस्थामा हुने मधुमेह, भ्रूणको सुस्त विकास र समय अगावै बच्चा जन्मने खतरा भएका महिलाहरूको लागी यो उपकरण निकै सहयोगी हुने आशा लिइएको छ।
यस कारणले पनि एडेल बेकर जस्ता आमा बन्न लागेका महिलाहरूलाई उक्त उपकरणले पक्कै पनि सहयोग पुर्याउने छ।
“मेरो बिचारमा यो यन्त्रले धेरै सहयोग दिनेछ। तीन वर्षको बच्चा लिएर प्रसूति र अन्य डाक्टरहरू कहाँ धाइरहन अवश्य पनि अफ्ठेरै हुन्छ, त्यसैले यस्ता सामानले केही हदसम्म भए पनि सुविधा दिन्छ नै,” बेकर भन्छिन्।
यो रिपोर्ट तयार पार्ने क्रममा हामीले हाल दोस्रो सन्तानको प्रतीक्षामा रहेकी एडेल बेकरसँग कुरा गर्दै गर्दा उनको ३ वर्षीय छोरा जुडले आफ्नी गर्भवती आमाको पेटमा टाँस्नका लागी ल्याइएको एलेक्ट्रोड्सको स्टिकर तान्दै खेलिरहेका थिए।
गर्भवती महिलाका निम्ती २१ औँ शताब्दी सुहाउँदो सेवा
मोन्याष विश्वविद्यालयमा एक स्वास्थ्य अनुसन्धानकर्ता रहेका विनायक स्मिथ फेममका निर्माणमा जुटेका मध्येका एक हुन्।
डा स्मिथ भन्छन्, यसले प्रसूति सेवालाई २१ औँ शताब्दीमा ल्याइपुर्याउने छ।
“खासमा भन्ने हो भने यो एक घरेलु अवलोकन प्रणाली हो र अहिलेसम्मकै सबैभन्दा विस्तृत भर्चुअल प्रसूति क्लिनिक। अनि, साँच्चीकै अर्थमा भन्नुपर्दा यसले गर्भावस्थामा रहेका आमाहरूलाई बहिरङ्ग अवस्थामा नै जाँच गर्ने सुविधा प्रदान गर्छ,” उनले बुझाउँदै भने।
फेममले कसरी काम गर्छ?

फेमममा भएको तारको एक टुप्पो जिउमा टाँसिए पछि, त्यसले फोनमा रहने एपसँग सम्पर्क राख्दै आमा एवं शिशु दुवैको मुटुका धड्कनका साथै मुटुमा सम्भाव्य रूपमा हुनसक्ने सङ्कुचन बारे पनि जानकारी बटुल्छ।
अनि, तत्काल ती जानकारीहरू गर्भवती महिलालाई जाँच गर्दै आएका प्रसूति चिकित्सक कहाँ पुग्छ।
कसले पाउँछन् त फेमम प्रयोग गर्न?
फेममका निर्माताहरूका अनुसार, उक्त यन्त्र सुरुवाती दिनहरूमा चिकित्सकहरूले उच्च जोखिमको गर्भावस्था भएका भनेर पहिचान गरिएका अस्ट्रेलियाभरका १० देखि १५ प्रतिशत महिलाहरूलाई उपलब्ध गराइने छ।
मोन्याष विश्वविद्यालयका प्रसूति चिकित्साका प्रमुख, प्राध्यापक युआन वालेस भन्छन् यसले ग्रामीण क्षेत्रमा रहेका महिलाहरूलाई धेरै फाइदा पुर्याउँन सक्नेछ ।
“हाम्रो लागि यसको प्रमुख फाइदा भनेकै उच्च जोखिममा भएका प्रसूति अवस्थाका महिलाहरूको अस्पतालसम्म आउनै पर्ने वाध्यात्मक अवस्थालाई केही हदसम्म भए पनि अन्त्य हुनु हो। आफ्नै घरमा बिना अवरोध हामी यो उपकरणको मद्दतले उनीहरूलाई राम्ररी जाँच्न सक्नेछौँ,” उनले फेममको फाइदाबारे स्पष्ट पार्दै भने।

विनायक स्मिथका अनुसार, समस्यामा रहेका शिशुहरूका बारेमा छिटो भन्दा छिटो जानकारी लिएर उनीहरूको तत्काल उपचार गराउन सक्ने वातावरण बन्ने आशा छ ।
“अस्पतालमा आफ्नो पालो पर्खेर बस्दा-बस्दै समस्याहरू देखा पर्ने गरेका छन्। फेममले यस्ता घटनाहरू हुन नदिन अग्रणी भूमिका खेल्न सक्छ र बेलैमा उपचार हुने कुरामा सहयोग पुर्याउने अपेक्षा हाम्रो छ,” स्मिथले आफ्नो धारणाको चिकित्सकीय रूपमा प्रमाणित हुन अझै बाँकी रहेको खुलासा गर्दै अगाडी भने।
फेममको घरेलु परीक्षण मेलबर्नमा आगामी वर्षको जनवरीमा गरिने बताइएको छ भने वर्षको मध्यसम्ममा देशैभर व्यावसायिक रूपमा यसलाई उपलब्ध गराइने लक्ष निर्माताहरूले लिएका छन्।





