अस्ट्रेलियामा बढ्दै गरेको बहुसांस्कृतिक केन्द्रहरू मध्ये एकमा स्वास्थ्य अधिकारीहरूद्वारा स्थापना गरिएका सामुदायिक क्लिनिकहरूले सांस्कृतिक रूपमा उपयुक्त मिडवाइफ भनिने सुँडेनीहरूबाट हेरचाह गर्ने प्रबन्ध मिलाइएको छ।
मल्टीकल्चरल सेन्टर फर वूमन्स हेल्थ नामक उक्त संस्थाकी प्रमुख कार्यकारी अधिकृत एडेल मर्डुलोका अनुसार बाहिरबाट आउने गर्भवती महिलाहरूको प्रमुख समस्या भनेको भाषा र संस्कृतिबाट उब्जने बाधाहरू नै हुन्।
भाषाको समस्या र सांस्कृतिक कारणहरूले गर्दा आप्रवासी महिलाहरू अस्पताल त्यति जान नरुचाउने कारण गर्भावस्थाका महिलाहरूले महत्त्वपूर्ण चेक-अपको सुविधाबाट वञ्चित हुनुपर्ने अवस्था रहेको उनको उनको ठम्याई छ।

“अस्ट्रेलियाली निर्देशिका भन्छ कि तपाईंले गर्भधारण गरेको पहिलो १० हप्ता भित्र चिकित्सकलाई भेट्न जानुपर्छ तर यो कुरा सबैलाई थाहा हुन्छ भन्ने छैन।”
“विशेष गरी, आप्रवासी महिलाहरूको हकमा त त्यस प्रकारको जानकारीसम्म पहुँच पनि नहुन सक्छ, जस्तै कि किन जाने र कहाँ जानुपर्छ भन्ने बारे। त्यसैले मेरो बिचारमा पहुँच एक ठुलो मुद्दा हो,” मर्डुलोले एसबीएस समाचारलाई भनिन्।
अन्य स्थानीय महिलाहरूको तुलनामा आप्रवासी पृष्ठभूमिका महिलाहरूले, गर्भावस्थाका समयमा हुने जेस्टेस्नल डाइबेटिज भनिने गर्भाकालिन मधुमेह तथा प्रि-एक्लाम्प्सिया भनिने उच्च रक्तचाप, शरीरमा अत्यधिक मात्रामा तरल पदार्थ अडिने र पिसाबमा प्रोटिनको मात्रा धेरै हुने अवस्था जस्ता जटिलताको अनुभव पनि भोग्नुपर्ने उनी बताउँछिन्।
डा एडेल मर्डुलोका बिचारमा एउटै छाना मुनि यी सबै समस्याहरूको निदान गर्न सामुदायिक क्लिनिकहरूले ठुलो भूमिका खेल्न सक्छ।
“यस्ता सामुदायिक क्लिनिकहरूमा गर्भवती अवस्थाका महिलाकै भाषा बोल्ने मानिसहरू उपलब्ध हुने र उनीहरू गर्भाधान गरेका महिलाहरूको कार्यालय वा घरसम्मै पनि पुग्न सक्ने भएकाले यो एक बेजोडको संयोजन हो,” उनले स्पष्ट पार्दै भनिन्।
यस्ता सामुदायिक क्लिनिकहरूमा प्ले ग्रुप, निःशुल्क आहार, आर्थिक सल्लाहकार लगायत सुँडेनी सेवा पनि उपलब्ध हुने बताइएको छ।

यस्तै एक केन्द्र - वेस्ट मोरेटन हेल्थमा कार्यरत न्याटली पूलका अनुसार, आफू काम गर्ने क्लिनिकले बिरामीहरूलाई आत्मविश्वास र निरन्तरता प्रदान गर्ने भएकाले निकै सफल रहेको बताउँछिन्।
क्विन्सल्याण्डको पश्चिमी मोरेटन क्षेत्रमा दुई वर्ष अघि खुलेको रेडब्याङ्क सामुदायिक क्लिनिक पछि नजिकैको गूड्नामा खुलेको एक अर्को क्लिनिकले पनि १५,००० भन्दा बढी मानिसहरूलाई सेवा दिइसकेको छ जसमा लगभग आधा जसो त अस्ट्रेलिया बाहिर जन्मेका व्यक्तिहरू नै थिए।
उक्त क्लिनिककी प्रबन्धक रोज ड्याशका अनुसार आफूहरू सुँडेनी सम्बन्धित सेवा प्रदान गर्नु प्राथमिकताका आधारमा सबैभन्दा माथि रहेको छ।
“विदेशबाट आउने धेरै महिलाहरूले सन्तान जन्माउनु अघि यहाँका अस्पताल र त्यहाँको संरचना देखेकै हुँदैनन् र गइहाल्न पनि खोज्दैनन्।”
“हाम्रो आस चाहिँ धेरै भन्दा धेरै महिलाहरूले सन्तान जन्माउनु पूर्व उचित स्वास्थ्य सेवा पाउन् भन्ने नै हो,” उनले एसबीएस समाचारसँग भनिन्।

रेडब्याङ्क स्थित सामुदायिक क्लिनिकमा आफ्नो अन्तिम मध्यको एक चेक-अपका लागि २४ आइपुगेकी सोन्याले आफ्नो सहज गर्भावस्थाको श्रेय उक्त केन्द्रमा कार्यरत आफ्नी सुँडेनीसँग स्थापना भएको राम्रो सम्बन्धलाई दिन्छिन्।
“उनलाई मेरो बारेमा सबै थोक थाहा छ, उनलाई मेरो इतिहास आदि पहिल्यै थाहा भएकाले यहाँ पटक पटक आउँदा निकै सजिलो हुन्छ।”
“आफूलाई चिन्ने, बुझ्ने व्यक्ति पाउँदा सहज छ,” उनले भनिन्।
“म पहिला अस्पताल गएकी थिएँ। निकै टाढा रहेको उक्त अस्पताल पुग्दा अहो कति पर आउनुपर्ने भनेर सोच्दै थिएँ - मलाई सामुदायिक केन्द्र जानुहुन्छ भनेर सोध्नुभयो। मेरो घरभन्दा जम्मा केही मिनेटको दुरीमा रहेको ठाउँ जान पाउँदा त मलाइ ढुङ्गा खोज्दा देउता मिले झैँ भयो। यसले मलाई मातृत्वको लागि निकै सहज वातावरण बनाइदिएको अनुभूति भएको छ।”
आफ्नो दोस्रो सन्तान जन्माउने क्रममा यस्तै सामुदायिक क्लिनिक पुगेकी रोडा केन्याले पनि आफ्नो अनुभव निकै राम्रो रहेको बताइन्।
“म यही पृष्ठभूमिका मानिससित मात्र काम गर्छु भन्ने कर्मचारी पाउँदा म एकदमै खुसी भएँ किनकि उनीहरू मेरो कुरा राम्ररी बुझ्थे,” सोमाली पृष्ठभूमिकी उनले भनिन्।

