Kritant Niraula is budding cricketer
Kritant Niraula is budding cricketer
This article is more than 3 years old

अस्ट्रेलियामा हुर्केका नेपाली बालकहरूको क्रिकेट सपना

अस्ट्रेलियामा बसोबास गर्ने दोस्रो पुस्ताका नेपालीहरू खेलकुदमा भाग लिनु पर्दा के नेपाललाई प्रतिनिधित्व गर्लान् वा आफू हुर्किँदै गरेको देशको झन्डाबाट?

Published

Image: Kritant Niraula is a budding cricketer (Supplied by Krishna Niraula)

हालै भएको एक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा एसोसीएट देशहरूको तर्फबाट नेपालले उच्चतम सफलता पाउन सकेन।

उक्त असफलतासँगै यस वर्ष अस्ट्रेलियामा हुने टी२० प्रतियोगितामा नेपालले पनि भाग लिन थुप्रैको आशामा तुषारापात भयो। 

टि २० विश्वकप छनौट प्रतियोगिता भर नै नेपाललाई अलराउन्डरको अभाव प्रस्ट झल्किएको थियो।

यता, अस्ट्रेलियामा भर्खरै क्रिकेटमा छिरेका बाल खेलाडी कृतन्त निरौला आफ्नो पालोसम्ममा, नेपाल पनि अस्ट्रेलियासँग खेल्न सक्ने आशा राख्छन्।

आफैँ पनि अलराउन्डरको भूमिका निभाउँदै आएका निरौलालाई क्रिकेट प्रति लगाव र मोहको कथा पनि रमाइलै छ।

निरौलासँग गरिएको कुराकानी सुन्नुहोस्: “मलाई दुवै छोराहरूलाई लिएर बिग ब्यास वा अन्तर्राष्ट्रिय खेलहरू लैजान मन छ" हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

फुटबल, रग्बी र क्रिकेट

सिड्नीको पश्चिममा बस्ने निरौलाका बुवा कृष्ण एसबीएस नेपालीसँग कुरा गर्दै भन्छन् कि नेपालमा हुर्किँदै गर्दा खेलकुद र शारीरिक गतिविधिमा उनको औधी चासो थिएन।

तर पूर्वी नेपालका निरौलालाई अस्ट्रेलियामा हुर्केका आफ्नो छोराहरू भने यहाँ अन्य रैथाने बालबालिका जस्तै नै सानैदेखि केही खेलकुदमा लागिदिए हुन्थ्यो भन्ने भित्री इच्छा थियो।

त्यही भएर आफ्नो जेठो छोरा कृतन्त खेल्ने उमेरको हुनासाथ, फुटबलमा नाम लेखाएको कुरा संझिदै कृष्ण निरौला भन्छन्, खेलमा खासै चासो नदिएको भान भएपछि मन चसक्क भयो।

"फुटबल मन नपराए हो कि भन्ने ठानेर, रग्बीमा (छोराको) नाम लेखाएँ।"

"त्यसमा पनि केही हप्ता अलमलिएपछि छोरोले थप इच्छा देखाएन," उनले भने।

के गर्ने, कसो गर्ने भन्ने सोचमा मग्न निरौलाले अन्तत: क्रिकेट रोजे र क्रिकेटमा गएपछि चाहिँ छोरामा केही उत्साह छाएको उनको भनाइ छ।

खेलमा पनि छोराले राम्रै प्रगति गर्न थाले पछि भनि आफू ढुक्क हुन थालेको निरौलाले एसबीएस नेपालीलाई बताए।

हालै मात्र सबैभन्दा उन्नतिशील खेलाडीको पनि पुरस्कार पाएर, यस खेलसँग जोडिएको उत्साह कृतन्तले प्रदर्शन गरे पछि उनी झनै दङ्ग छन्।

क्रिकेटको मोह

Baibhav Niraula is a budding cricketer
Vaibhav Niraula Source: Supplied by Krishna Niraula

जेठो दाइ कृतन्तको क्रिकेटमा लगाव देखेर माहिलो सन्तान विभव पनि त्यस खेलमा आकर्षित हुन थालको कृष्ण निरौलाको भनाई छ।

उनी भन्छन् कि प्रत्येक हप्ता हुने खेलको प्रशिक्षणमा केही समय निकाल्नु परे पनि आफ्नो दुवै छोराहरूको खेलमा बढ्दै गरेको लगावले मनमा उमङ्ग छाएको छ।

“अस्ट्रेलियाको राष्ट्रिय खेलको रूपमा क्रिकेटलाई लिइन्छ र दुवै छोराहरूले यस खेलमा चासो देखाएकोमा मलाई खुसी लागेको छ,” उनले भने।

दुवै छोराहरूले खेल्न सुरु गरे पछि, ढुक्कैसँग मैदान मा गएर खेल हेर्ने मौका आफ्नो परिवारलाई नजुरेको कृष्ण निरौलाको भनाई छ।

“मलाई दुवै छोराहरूलाई लिएर बिग ब्यास वा अन्तर्राष्ट्रिय खेलहरू लैजान मन छ, तर कोभिड-१९ प्रकोपका कारण अहिलेसम्म मौका मिलेको छैन।”

अब आउने क्रिकेट सिजनमा भने त्यसमा केही प्रयास गर्ने उनले हामीसँगको कुराकानीका क्रममा खुलाए।

स्टेडियम नै गएर अन्तर्राष्ट्रिय खेल हेर्ने मौका अहिलेसम्म नजुरे पनि छोराहरूको अस्ट्रेलियाली टोलीप्रति सम्मान र मोह दुवै रहेको प्रस्ट पार्दै कृष्ण निरौला भन्छन् कि अस्ट्रेलियाको खेलमा कृतन्त र विभव दुवैले निकै ठुलो चासो राख्ने गर्छन्।

“अस्ट्रेलियाका सबै खेलहरू हेर्नमा रुचि राख्छन्- मेरो दुवै छोराहरू,” उनले भने।

“जेठोले त अहिले देखिनै राष्ट्रिय स्तरमा खेल्ने मनोकाङ्क्षा राखेको छ।”

नेपाली क्रिकेटको माया

नेपालको टोलीले कतै क्रिकेट खेलेको थाहा पाउने बित्तिकै कृतन्त र विभव दुबै दाजुभाई चाहे त्यो टिभीमा वा होस् वा इन्टरनेटमा, प्रतियोगिताहरूको प्रसारण हेर्न नछुटाउने कृष्ण निरौलाको भनाई छ।

“कतै पनि उनीहरूले प्रसारण भेटेनन् भने स्कोर अपडेट हुने वेबसाइटमा गएर भए पनि उनीहरू खेलको विवरणलाई नियाल्छन्,” उनले भने।

जेठो छोरो कृतन्तले त आफूले अस्ट्रेलियाको क्रिकेट टोलीमा प्रवेश नपाएको खण्डमा नेपालबाटै खेल्ने इच्छा समेत प्रकट गरेका छन्।

“खेल्नु, नखेल्नु आफ्नो ठाउँमा छ, तर उनले प्रयास गर्नमा कुनै कमी राख्लान् जस्तो मलाई लाग्दैन,” गर्व गर्दै निरौलाले भने।

क्रिकेटप्रतिको प्रेमेले गर्दा होला, अहिले उनका दुवै छोराहरू घर-छेउमा केही साथीहरू जम्मा गरेर क्रिकेटको अभ्यास गरि नै रहन्छन्।

त्यसबाहेक- हप्तामा दुई दिन त सामुदायिक क्लबबाट खेल्ने कुरा त छँदै छ।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now