SKIP TO MAIN CONTENT

नेपाली स्पिन बलर सन्दीप लामिछाने होबार्ट हरिकेन्ससँग पुनः अनुबन्धित

चर्चित नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने फेरी अस्ट्रेलियाली मैदानमा देखा पर्ने भएका छन्।

Sandeep Lamichhane Hobart Hurricanes BBL
Source: AAP

2 min read

Published

Updated



Skip to article content

होबार्ट हरिकेन्सबाट आगामी सिजनको बिग-ब्यास लिगमा खेल्ने तय भएपछि २१ वर्षीय नेपाली क्रिकेटर एक पटक फेरी अस्ट्रेलियाली क्रिकेट मैदानमा देखा पर्ने भएका हुन्।

 

सन्दीप लामिछानेले सन् २०१८ मा मेलबर्न स्टार्सबाट बिग-ब्यास लिगको यात्रा सुरु गरेका थिए।

 

उक्त प्रतियोगिताको १० औं संस्करणदेखि भने नेपाली स्पिन च्याम्पियनले टास्मेनियाली टोलीबाट खेल्न थालेका हुन्।

 

उनले सो संस्करणका आठ खेलमा भाग लिँदै आठ विकेट नै झार्न सफल भएका थिए जसमध्ये उनको उच्चतम स्कोर २-२४ थियो।

 

आउँदो प्रतियोगितामा उनी पूरा समय नै उपलब्ध हुने होबार्ट हरिकेन्सले बताएको छ।

अनुबन्धित भएपछि लामिछानेले आफू फेरी अस्ट्रेलिया आएर खेल्न उत्साहित रहेको बताएका छन्।

 

पुरै सिजन आफू हरिकेन्सका लागि उपलब्ध हुने भएकाले यसपालि थप बलियो प्रदर्शन गर्नेमा उनी आशावादी देखिन्छन्।

 

“मैले हरिकेन्सबाट अघिल्लो सिजन खेल्दा मलाई धेरै रमाइलो भएको थियो,” उनले भने।

“यो वर्ष त पुरै टुर्नामेन्ट अवधिभर नै म त्यहाँ हुनेछु र टिमको सफलताका लागि ठुलै योगदान दिन सक्छु कि भन्ने लागेको छ।”

अघिल्लो साल आफ्नो टोलीमा उत्कृष्ट खेलाडीहरू रहेको बताउँदै उनले भने कि यसपालि पनि ती साथीहरूसँग खेल्न उनी लालायित छन्।

होबार्ट हरिकेन्सले सन्दीप लामिछाने भन्दा अगाडी कुनै अन्तर्राष्ट्रिय खेलाडीलाई आफ्नो टोलीमा समावेश गरेको थिएन।

 

होबार्ट हरिकेन्सका अनुसार लामिछानेका साथ बेन मक्डर्मट, क्यालब ज्वेल, ड'आर्सी सर्ट, जस कान, जोएल पेरिस, म्याक राइट, म्याथ्यु वेड, मिच ओवेन, नेथन एलीस, पिटर ह्यान्सकम्ब, राइली मेडेरिथ, स्कट बोल्यान्ड र टिम डेभिड हालसम्म अनुबन्धित भएका छन्।

 

बिग-ब्यासका अलावा उनले इन्डियन प्रिमियर लिग, दि हन्ड्रेड लगायत विश्वभरका थुप्रै टी-२० लिगहरूमा भाग लिँदै आइरहेका छन्।

 

 

 

 

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now