सफलताका साथ संदिप फर्किए बिग ब्याशमा

Nepali bowler Sandeep Lamichhane

Source: Kausal Adhikari/cricketingnepal.com

नेपालका क्रिकेट खेलाडी सन्दिप लामिछानेले अस्ट्रेलियामा भईरहेको बिग ब्याशमा यस बर्षको लागि खेलेको पहिलो खेलमै २ विकेट लिएर आफ्नो उपस्थितिको जनाउ दिएका छन्।


तास्मेनियामा रहेको टोली होबार्ट हुरिकेन्सका लागि अनुबन्धित, कोरोनाभाईरसले संक्रमित भएपछि- नेपालमै रहेका लामिछासने, बिग ब्याशको पहिलो चरणमा खेल्न पाएका थिएनन्।क्रिकेट अस्ट्रेलियाले तोकेको क्बारिन्टिन र कोभिड-१९ को पुन: जाँच पछि मात्र लामिछाने मैदानमा उत्रन पाएका थिए।

गत शनिवार भएको खेलमा, होबार्ट हुरिकेन्सले मेलबर्न स्टार्सलाई २१ रनले पराजित गरेको थियो। हुरिकेन्सले राखेको १६४ लक्ष्यलाई, स्टार्सले पछ्याउन सकेन र मात्र १४३ रनमा सीमित भयो।

यस खेलमा आफ्नो टिमको जीतमा योगदान पुर्‍याउन सकेकोमा आफूलाई खुशी लागेको लामिछानेले बताए।

क्वारिन्टिनका कारणले आफूले बलिङ्गको धेरै अभ्यास गर्न नपाएका, लामिछानेले आफ्नो पहिलो खेलमा पाएको व्यक्तिगत सफलताभन्दा टिमको जित महत्वपूर्ण रहेको बताउछन्।

“हामी सबैको प्रयासनै आफ्नो टिमलाई जिताउने रहन्छ, र यस खेलमा पनि टिम जितिको हामी सबै खुशी छौ,” उनले भने।

आगामी दिनहरुमा आफ्नो प्रयास अझ कम रन दिने रहेको बताउदै, लामिछानेले हिजोको खेल स्पिनरहरुको लागि त्यति सजिलो नभएको बताउछन्।

उनी खेल्ने होबर्ट हुरिकेन्स अहिले बिग ब्याशको तालिकामा कुल खेलेको ७ खेलमा ५ मा विजयी भई- तेस्रो स्थानमा रहेको छ। पहिलेभन्दा यो बर्ष- होबार्ट हुरिकेन्समा निकै सुधार भएको अहिले सम्मको प्रदर्शनले प्रष्ट हुन्छ।

“हाम्रो लक्ष्य प्रतियोगिता जित्ने रहेको छ। हरेक खेलमा आफ्नो उच्च-प्रदर्शन दिने प्रयास हामी गर्ने छौ,” उनले भने।

लामिछानेले खेलेको पहिलो खेल मेलबर्न स्टार्ससँग रहेको थियो। गत दुई बर्ष भने लामिछाने, स्टार्सको खेलाडीको रुपमा मैदानमा उत्रेका थिए।

Sandeep Lamichhane of Melbourne Stars
विदेशमा पनि सन्दीप लामिछाने जस्ता खेलाडीहरूको पाएको सफलताले क्रिकेट प्रति नेपालीहरूको लगाव अझै गाढा हुँदै गएको छ। Source: AAP Image/Hamish Blair

पहिले आफू खेलेकै टोलि विरुध्द खेल्दाको अनुभव कस्तो रह्यो त भन्ने प्रश्नमा, लामिछानेले खेलको क्रममा अलिक भावुक भएको स्वीकार गरे।

“मेलबर्न स्टार्समा मैले दुई बर्ष बिताएको थिए। एउटा परिवार जस्तो भावना जोडिएको छ,” उनले भने। तर एउटा खेलाडिको रुपमा ति भावनालाई नियन्त्रण गर्दै आफ्नो प्रदर्शनमा ध्यान दिनु पर्ने उनको भनाई छ।

खेलको क्रममा मेलबर्न स्टार्सका ग्लेन मेक्सवेलसँग पनि यहि विषयमा ठट्यौली गरेको उनले बताए।

“खेलाडीहरु एउटा टिमबाट अर्कोमा सरिरहन्छन्। यो अहिलेको वास्तविकता हो र जुन टोलीसँग खेले पनि मेरो लक्ष्य भनेको उच्च-प्रदर्शन दिने रहन्छ,” एसबिएस नेपालिसँगको कुराकानीमा लामिछानेले हामीलाई भने।

कोरोनाभाईरसले गर्दा अहिले विश्वभरका क्रिकेट लगायत अन्य खेलहरु अहिले रित्तो मैदानहरुमा संचालन भईरहेको छन्। दशर्कहरु नहुँदा पनि दशर्कहरुको माया पाईरहनु मुख्य कुरा रहन्छ भन्ने विश्वास लामिछानेको छ।

“मैले आईपिएल र सिपिएलमा हुँदानै मैदानहरु रित्तो रहेको अनुभव गरिसकेको थिए। तर यहाँ होबार्टमा भने निकै दर्शकहरुको संख्या रहेको थियो। निकै रमाईलो लाग्यो,” उनले भने।  होबार्टमा उनको खेल हेर्न आएका केहि नेपाली दर्शकहरुसँग पनि उनले भेटघाट गरे।

नेपालको क्रिकेट प्रशिक्षकको रुपमा डेभ वाटमोरको नियुक्तिलाई लिएर उनले खुशी ब्यक्त गरे। “ वाटमोरसँग हामीले १५ दिने क्यामपमा काम गरिसकेका छौ। आशा गरौ, उहाँको ज्ञान र सीपका सन्देश हामीले टिप्ने सक्ने छौ,” लामिछानेले भने।

तर साथै, प्रशिक्षक परिवर्तनले मात्र सबै कुरा ठिक ठाउँमा आउन्छ भन्ने केहि छैन भन्ने पनि उनको भनाई छ। “जबसम्म हामी खेलाडीको रुपमा उच्चतम प्रदर्शन गर्दैनौं, हाम्रो राष्ट्रय टोली अगाडी बढ्न सक्दैन,” उनले थपे।

आज बेलुकी लामिछानेको टोली होबार्ट हुरिकेन्स र मेलबर्न स्टार्स बिच बिग ब्याश अन्तर्गतको अर्को खेल हुँदैछ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now