चेतावनी: तनावमा पार्ने किसिमको सामाग्री
आम्स्टर्ड्याममा युरोपा लिग फुटबल खेल सुरु भएको एक हप्तादेखि हिंसा र अशान्ति फैलिरहेको छ। हिंसा रोक्नको लागि आह्वान गरे पनि बाक्लो प्रहरी उपस्थितिमा पेरिसमा अर्को खेल भयो।
यसैबिच, अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरू र सोसल मिडिया अकाउन्टहरूबाट नोभेम्बर सातको खेल वरपरका घटनाहरू सम्बन्धी फरक फरक भिडियोहरू सार्वजनिक भइरहेका छन्। प्रसंग नै नमिल्ने जानकारी र गलत सूचनाहरू एकदम छिटो फैलिरहेको छ।
'एन्टिसेमिटिकको डरलाग्दो घटना'
इजरेलको मकाबि तेल-अभिभ र नेदरल्यान्डको आयाक्सबीचको खेलपछि आम्स्टर्डममा दङ्गा मच्चियो, हिंसात्मक झडपमा घाइते पाँच जना अस्पतालमा भर्ना भएका छन् भने र ६३ जनालाई पक्राउ गरिएको छ।
आम्स्टर्ड्यामकी मेयर फेम्का हल्सेमाले मकाबीका समर्थकहरूलाई स्कुटरमा आएका गिरोहहरूको भीडले कुटपिट गरेको बताइन्।
उनले यी आक्रमणहरू "एन्टीसेमिटिक" भएको भनाइ राखिन्।
डच प्रधानमन्त्री डिकस्कुफले "डरलाग्दो एन्टीसेमिटिक आक्रमण" भएको भन्दे आलोचना गरे ।
यसबाट "ठुलो सामाजिक प्रभाव" पर्न सक्ने भन्दै उनले संयुक्त राष्ट्र सङ्घको जलवायु सम्मेलन कोप ट्वान्टीनाइनमा गएनन्।
युरोपियन युनियन प्रमुख उर्सुला भोन डर लाएनले यस्ता "घृणित आक्रमण"बाट "आक्रोशित" भएको बताइन्।
त्यस्तै संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले "हिंसाबाट स्तब्ध" भएको ो बताए।
अमेरिकन राष्ट्रपति जो बाइडेनले दङ्गालाई "घृणित" भन्दै "यहूदीहरूलाई दमन गरिएको इतिहासको कालो क्षणहरू प्रतिध्वनि" भएको बताए।
अस्ट्रेलियाको जियोनिस्ट फेडरेसनका अध्यक्ष जेरेमी लेइब्लरले सोसल मिडिया प्लेटफर्म एक्समा मा ती घटनाहरूलाई "विशेष गरि यहूदी मानिसहरूलाई निर्देशित गरिएको सङ्गठित अपराध" भनेर वर्णन गरेका छन्।
द एक्ज्युकेटिभ काउन्सिल अफ अस्ट्रेलियन जुरी भनिने अस्ट्रेलियाको यहूदी कार्यकारी परिषद्ले नेदरल्याण्ड्सका राजदूतलाई लेखेको पत्रमा हिंसालाई "एक सङ्गठित अपराध" भनेको छ र नेदरल्याण्ड्सले "यहूदी मानिसहरूलाई असफल" बनाएको उल्लेख गरिएको छ।

सेरा स्वर्टज्, एक मानवअधिकार वकिल र जुइस काउन्सिल अफ अस्ट्रेलियाको एक्जुकेटिभ अफिसर हुन्।
एसबीएस एक्जामिन्ससँग कुरा गर्दै उनले देखेका र सुनेका पहिला रिपोर्टहरू ‘निकै दर्दनाक’ भएको बताइन्।
“हामीले सुनेका थियौँ कि मानिसहरूले एक-अर्कालाई खबर गर्दै थिए कि तिनीहरू यहूदीहरूलाई आक्रमण गर्न जाँदैछन्। हामीले मकाबि तेल-अभिभका इजरायली फ्यानहरूमाथि हमला भएको समाचारको रिपोर्टिङ देख्यौँ," उनले भनिन्।
"म लगायत अन्य धेरै यहूदी मानिसहरूलाई, यो घटनाले साँच्चै स्तब्ध बनायो। नेदरल्याण्ड्समा यस्तो घटना देखेर युरोपियन एन्टिसेमिटिज्म् को बारेमा सुनेका धेरै कुरा स्मरण गरायो।
इजरेली मकाबिफ्यानहरूले उनीहरू विरुद्ध यस प्रकारको सुनियोजित आक्रमण गर्नु अघि आम्स्टर्डममा के गरिरहेका थिए भन्नेबारे हामीले सुनेका थिएनौँ र मलाई पछिसम्म पनि थाहा थिएन।”
"पछि मुख्य धारका मिडिया मार्फत नभई अन्य रिपोर्टहरू आउन थाले, जहाँ म्यकाबी टेल अभीभका फ्यानहरू नै आम्स्टर्ड्यामको सडकमा जातिवादी दङ्गा गरिरहेका थिए। उनीहरू अरबको विरुद्ध, गाजामा मारिएका बच्चाहरूको बारेमा नारा लगाउँदै होहल्ला गर्दै थिए।”
आम्स्टर्ड्याममा साँच्चिक्कै के भएको थियो त?
आम्स्टर्ड्यामका कार्यवाहक प्रहरी प्रमुख पिटर होलाले खेल अघिको साँझ शुक्रवार नै झडप भएको पहिलो रिपोर्ट पाएको पुष्टि गरे।
इजरेली समर्थकहरूले ड्याम स्क्वायरमा भेला भएर प्यालेस्टेनी झन्डा जलाउनुका साथै मुस्लिम ट्याक्सी चालकको ट्याक्सी तोडफोड गरेर उनलाई कथित रूपमा भौतिकआक्रमण गरे।
मुस्लिम ट्याक्सी चालकहरू नजिकैको क्यासिनोमा भेला भए र सोसल मिडियामा आएको फोनमा कुरा गर्दै थिए।
त्यत्तिकैमा उनीहरू र झन्डै ४०० को सङ्ख्यामा रहेका इजरेली समर्थकहरूबिच झडप भयो र एक छिनमा प्रहरी आइपुग्यो।
सोसल मिडियामा पोस्ट गरिएका भिडियो हेर्दा मकाबिका फ्यानहरूले आगजनी गरेको देखिन्छ। उनीहरू हिब्रू भाषामा "आईडीएफलाई जित्नुपर्छ, हामी अरबलाई सखाप पार्नेछौँ ", र गाजामा "बालबालिकाहरू" बाँकी हुने छैनन् भन्दै नारा लगाइरहेका थिए।
अघिल्लो दिन बिहीवार जोन क्रुइफ एरेनामा जाँदै गर्दा मकाबिकाफ्यानहरूले अरब विरोधी नारा लगाएका थिए।
प्रहरीले २ हजार ५०० भन्दा बढी फ्यानहरूलाई सुरक्षा दिँदै स्टेडियम बाहिर पर्खेर बसेका प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरूकोसमूहलाई तितरबितर पार्यो
खेल पछि र शुक्रवार बिहान तिर कै समयमा मकाबि फ्यानहरूलाई स्कूटर र ई-बाइकमा मास्क लगाएका समूहहरूले लखेट्दै आक्रमण गरे।
द गार्डियन का अनुसार मोबाइलमा सन्देश आदानप्रदान भएका स्क्रिनसटहरू र घटनाका प्रत्यक्षदर्शीका अकाउन्टबाट के देखिन्छ भने केहीलाई उनीहरूयहूदी भएकै कारण लक्षित गरिएको थियो।
डच फोटोग्राफर एनेटे डेग्राफले बिहीवार सेन्ट्रल स्टेसन अगाडिबाट मकाबि समर्थकहरूले आगजनी तथा आतिसबाजी गरेको र अरब विरुद्ध नाराबाजी गरेको भिडियो खिचेकी थिइन्।
"म ११.१५ मा त्यहाँ पर्खिरहेको थिएँ, र समर्थकहरूको दुई समूह आयो, एउटा सीधा सेन्ट्रल स्टेसनबाट ... र अर्को मेरो दाहिने तर्फबाट आउँदै थियो,” उनले जेटियो डट कम लाई भनिन्।
उनले "आक्रामक" व्यवहार महसुस गरेको बताइन्।
"उनीहरू केही गर्ने नै सोचमा थिए, त्यसैले के गर्दै छन् भनेर हेर्नु नै ठिक लाग्यो। र त्यसपछि तिनीहरू सिधै ड्याम स्क्वायरमा गए ... अनि फाएरवर्क्स अर्थात् आतिसबाजी गरे। यो लगभग ५० जनाको समूह थियो।"

कसरी गलत र भ्रामक जानकारी भाइरल भएर आक्रोश उत्पन्न भयो
डे ग्राफले आफूले जे देखिन् त्यही खिचेर सोसल मिडिया एक्समा अपलोड गरिन्।
उनको पोस्ट भाइरल भयो। उनको भिडियो सिएनएन, बीबीसी, स्काइ न्युज र द न्युर्योक टाइम्सले प्रयोग गरे।
तर यी सञ्चारमाध्यमहरूले मकाबि समर्थकहरूलाई जानाजानी गलत पहिचान गरेको र भ्रामक सूचना फैलाएको डे ग्राफको आरोप छ।
स्काई न्यूज यूकेले त सुरुमा दङ्गाको एक भिडियो पोस्ट गरेर डे ग्राफको फुटेजमा भएको समूह मकाबि प्रशंसकहरूको भएको बताएको थियो।
तर त्यसलाई पछि तिनीहरूको प्लेटफर्मबाट हटाइयो र सो समूहलाई उनीहरूले लगाएको कपडाको उल्लेख गर्दै "हुडेड मेन" भनेर उल्लेख गरियो।
"यो त डरलाग्दो भयो नि, किनभने यो त भिडियोमा भएको भन्दा ठिक विपरीत हो," डे ग्राफ भन्छिन्।
उनले पछि एक्समार्फत सो मिडियालाई आफ्नो भिडियो प्रयोग भएकोमा माफी माग्नु पर्ने, यो हटाइनु पर्ने र यथार्थ कुरा ल्याइनु पर्ने म्यासेज पोस्ट गर्छिन्।
"यस्तो लेख्नुहोस्: खेल सकिएपछि मकाबिका समर्थकहरूले सेन्ट्रल स्टेसनको अगाडि आम्स्टर्ड्यामका नागरिकमाथि आक्रमण गरेका हुन्," उनी लेख्छिन्।
"पत्रकारिता भनेको सत्य तथ्य खोजी गर्ने हो। पैसा कमाउन स्क्रिप्टलाई तोडमोड गर्ने होइन।"

'एकदमै डरलाग्दो' भाषा
हिंसाको आलोचना गर्न प्रयोग गरिएको भाषाले पनि गलत सूचना फैलनलाई जोड दिएको थियो।
स्वर्टज्ले होलोकास्टको सन्दर्भ जोड्ने गरि उक्त हिंसालाई 'पोग्रोम' भनेर वर्णन गर्नु "अत्यन्त खतरनाक" भएको बताइन्।
"यहुदीहरू माथि सुनियोजित रूपमा आक्रमण भएको लामो इतिहास छ," उनले भनिन्।
"ती हिंसात्मक कार्यहरू थिए ... जसले यहुदीहरूलाई विभिन्न क्षेत्र, विशेष गरी युरोपबाट बाहिर निकाल्न बाध्य बनायो।
यहुदीहरूलाई आक्रमण भएको बारे बोल्दा ती ऐतिहासिक घटनाहरूसँग मिल्दोजुल्दो आक्रमणको रूपमा बयान गर्नु राम्रो नभएको उनको भनाइ छ।
स्वर्टज् भन्छिन् कि होलोकस्ट र पोग्रोम्स दुवैमा यहुदी मानिसहरूप्रति "राज्यले संरक्षण प्रदान नगरेको" र "जातीय हिंसात्मक कार्य" लाई अनुमति दिएको समानता रहेका छन्।
"तर, डच अधिकारीहरूले हिंसाको आलोचना मात्र गरेनन् कि तुरुन्तै कारबाही गरे ... जसले स्पष्ट पार्छ कि नेदरल्याण्ड्सका यहुदी मानिसहरूलाई सरकारको समर्थन छ," उनी बताउँछिन्।
"यसको ठिक विपरीत, आक्रमण हुनुभन्दा पहिला प्यालेस्टाइन विरोधी नस्लवाद र इस्लामोफोबिक नाराहरूबारे विश्वका कुनै पनि नेताहरूबाट केही प्रतिक्रिया आएन।"
अस्ट्रेलियाको समुदायहरूमा यसको असर
अस्ट्रेलियाकी विदेश मन्त्री पेनी वङले एक्समा हिंसाको आलोचना गर्दै "सबै प्रकारको हिंसा अस्वीकार्य छ" भनेर उल्लेख गरेकी छिन्।
"आम्स्टर्ड्याममा रातारात इजरेली फुटबल प्रशंसकहरूमाथि भएका एन्टिसेमिटिक आक्रमणहरू घृणित छन्। हिंसा प्रभावितहरू र तिनीहरूका परिवारहरूलाई मेरो सान्त्वना छ। हामी सबै प्रकारका एन्टीसेमिटिज्म र घृणाको विरुद्धमा एकजुट हुनुपर्छ।"
स्वर्टज् जाती विशेष हिंसाको निन्दा गरिनु पर्छ भन्ने विश्वास गर्छिन्।
उनले भनिन्, "सबै आक्रमणहरू कुनै एक समूह प्रति लक्षित भएर गरिएको थिएन"।
उनी विश्वास गर्छिन् कि उनीहरूमध्ये केहीले मकाबि फ्यानहरूले गरेको हिंसा र नाराबाजीको प्रतिक्रिया दिएका थिए।
उनले भनिन् कि आक्रमणहरूबारे गरिएको रिपोर्टिङले अस्ट्रेलिया र विश्वभरका समुदायहरूमा इस्लामोफोबिया र एन्टीसेमिटिज्म दुवैलाई बढावा दिन्छ।
"जब तपाईँले जातिवादको एउटा रूपलाई हटाएर जातिवादको अर्को रूपलाई मात्र हेर्नुहुन्छ, जुन चाहिँ यहाँ एन्टीसेमिटिज्म हो, यसले समूहहरूमा विभाजन बढाउँछ," उनले भन्छिन्।
डच राजधानीमा अशान्ति जारी रहँदा, सिटी हलले हिंसा कसरी सुरु भयो साथै खेल अघि र पछि दुवै समयमा पुलिस र गुप्तचर सेवाहरूको प्रतिक्रियामाथि स्वतन्त्र अनुसन्धान सुरु गर्दैछ।
