वार्नरकी "अंग्रेज" छोरी
वार्नरका निम्ति उनकी श्रीमती क्यन्डिस् कत्तिको महत्त्वपूर्ण भूमिका राख्छिन् भनेर हामीले केही हप्ता अघि चर्चा गरिसकेका छौँ।
यो पाली भने क्यन्डिस्का लागि आफ्ना श्रीमानको महत्त्व कति छ भन्ने कुरा गरौँ।
न्युजिल्याण्ड विरुद्ध गत आइतबारमा खासै राम्रो प्रदर्शन नगरे पनि अस्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नरका लागि उक्त दिन गज्जबको थियो।
आफ्नो तेस्रो बच्चा गर्भपात भएर गुमाएका वार्नर र उनकी श्रीमती क्यन्डिस्का लागि उक्त दिन खास थियो - उनीहरूले आफ्ना तेस्रो तथा कान्छी छोरीलाई यस संसारमा ल्याए।
आइभी र इन्डी पछि जन्मिएकी यी कान्छी वार्नरको नाम उनीहरूले इस्ला राखेका छन्।
भर्खरै जन्मिएकी आफ्नी छोरी सहितको पारिवारिक तस्बिर इन्स्ताग्राम मार्फत सार्वजनिक गर्दै उनले आफ्ना श्रीमान् डेभिड वार्नर लाई उनको सहयोगका लागि धन्यवाद दिएकी छिन्।
अब लन्डनमा जन्मिए पछि आफू जन्मिएको देश - इङ्गल्याण्डबाट इस्लाले क्रिकेट खेल्ने चान्स त भई हाल्यो नि, हैन त?
बेल खस्दैमा होइनन्न आउट
वेस्ट इन्डिजले यो विश्वकपमा धमाका पूर्ण सुरुवात गरेर सबैको मन लोभ्याएको थियो।
पाकिस्तानलाई १०५ रनमै सीमित गर्न सफल वेस्ट इन्डिजले उक्त लक्ष जम्मा तीन विकेटको नोक्सानीमा १३.४ ओभर मै भेट्टाएको थियो।
तर त्यसपछिका खेलहरूमा भने राम्रो पकड बनाउन नसक्दा अस्ट्रेलिया, इन्ल्ग्यांड बङ्गलादेश, न्युजिल्याण्ड, भारत अनि श्रीलङ्कासँग हार्न पुग्यो भने साउथ अफ्रिका विरुद्धको खेल पानीले रोकिदियो।
तर त्यसपछि भने उसले जति नै प्रयास गरे पनि खाली अफगानिस्तानसँगको खेलमा मात्र उसले जीतको मुख देख्न पायो।
बङ्गलादेशसँगको खेलमा भने अचम्मै भयो।
तल्लो क्रमका ब्याट्सम्यान ओशेन थोमस पारीको अन्तिम दोस्रो बल खेल्दै थिए। बङ्गलादेशी बलरले बल फाले, उनले आफ्नो ब्याट घुमाए तर बललाई छुन सकेनन्।
क्रिजको धर्को माथि रहेर ब्याटिङ गरिरहेका थोमस त्यसपछि त्यो ब्याट एउटा हातले समातेर हावामा घुमाउँदै क्रिज भित्र फर्केका मात्र के थिए, ब्याट ट्याक्क लाग्यो स्टम्पमा!
अनि, हामीले पहिले चर्चा गरेको “जिंग” बेल खसि पनि हाल्यो!
दङ्ग हुँदै बङ्गलादेशी खेलाडीहरूले अपिल गरे, र अम्पायरले पनि टेलिभिजन अम्पायरलाई “रिफर” गरिदिए।
तर, टेलिभिजन अम्पायरद्वारा उनलाई आउट गरिएन।
केशरीमय भारत र धोनीको मनोमानी
भारतले एक दिवसीय खेलहरू खेल्दा आकासे निलो रङको जर्सी वाकिट प्रयोग गर्ने गरेको त धेरैलाई थाहा भएको कुरो भयो।
यस विश्वकप देखि भने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् - आइसीसीले दुई टिम भिड्दा र त्यस्ता म्याच टिभीमा देखाउदा उस्तै रङ्गका जर्सी लगाएर भाग लिन नपाइने नियम ल्यायो।
अनि भारतले आफ्नो वैकल्पिक जर्सी जसमा अलिक गाढा निलो र सुन्तला रङ्ग प्रयोग भएको थियो, त्यो लगाएर मैदानमा इंग्ल्याण्ड विरुद्ध ओर्लियो।
संयोग कस्तो पर्यो भने यस प्रतियोगितामा कुनै पनि म्याच नहारेको भारतले यो नयाँ साज-सज्जा र रङ्ग भएको कीट लगाएको पहिलो म्याच नै हार्यो!
साथै, भारतमा पनि यसलाई बिजेपी रङ्ग भनेर आलोचना खुब भयो।
अनि, प्रतियोगिताको सुरु तिर पनि अर्को एक विवादास्पद घटना भएको थियो - भारतीय विकेट किपर र पूर्व कप्तान महेन्द्रसिंह धोनीले लगाएको पन्जाले गर्दा।
भारतीय सेनाको टेरोटेरियल आर्मी भनिने एक आरक्षित बलका सदस्य रहेका धोनीले उक्त विशेष दस्ताको लोगो भएको पन्जा लगाएर मैदानमा उत्रेका थिए।
“बलिदान” नाम दिइएको उक्त कमान्डोको छुरी भएको चित्र अङ्कित पन्जालाई आइसीसीले आफ्ना नियमानुसार गैरकानूनी बताउँदै उक्त पन्जा नलगाउन धोनीलाई आदेश दिएको थियो।
तर, असङ्ख्य भारतीयहरूलाई भने क्रिकेट नियामकको यो कुरा बिझ्यो र ट्विटरमा उनीहरूले आइसीसीको मज्जाले खोइरो खने।
फेरी, यो धोनी आफ्नो सैनिक पृष्ठभूमिका कारण पहिलो पटक विवादमा परेका पनि होइनन्।
गत मार्च महिनामा मात्र पनि उनले सैनिकहरूले आफ्नो आवरण लुकाउन प्रयोग गर्ने छिर्के कामोफ्लाज टोपी आफ्ना अन्य खेलाडी साथीहरूलाई बाँडेका थिए।
भारतीय-प्रशासित काश्मिरमा आतङ्कवादी हमला भएको केही दिनमै खेलिएको अस्ट्रेलिया विरुद्धको एक अन्तर्राष्ट्रिय खेलमा उनले त्यसो गरेपछी भारत बाहेक अन्त यसको खुब आलोचना भएको थियो।
संक्षिप्त समीक्षा: प्रतियोगितामा अहिलेसम्म…

को-को बाहिरिए
- अफगानिस्तान
कुनै म्याच जितेन
भारत विरुद्ध राम्रो प्रदर्शन गर्दै केवल १२ रनको अन्तरले हार्यो
- साउथ अफ्रिका
नबोले नै बेस होला - खासै उल्लेखनीय प्रदर्शन गर्न असफल।
- वेस्ट इन्डिज
माथि भने जस्तो - शानदार सुरुवात तर हावा फुस्क्या फुस्क्यै
- श्रीलङ्का
अगाडी बढ्ने आसै थिएन - अपेक्षाकृत प्रदर्शन
- बङ्गलादेश
“डार्क हर्स” तर जोड अलिक पुगेन
को-को अगाडी बढे?

- अस्ट्रेलिया
पहिलो केही म्याचमा खासै राम्रो प्रदर्शन नभएपनि प्रतियोगिता जित्ने “फेवरेट”
- इंग्ल्याण्ड
ढिलो आयो कडा आयो हो कि क्या हो
- भारत
प्रतियोगिता जित्ने सम्भावना प्रचुर तर यसै भन्न नसकिने
बाँकीका दुई टिम नि?

- पाकिस्तान
हामीले अगिल्लो हप्ता गरेको चर्चा जस्तै नै हो तर अब स्थिति जटिल, बङ्गलादेश विरुद्ध भोली गज्जबको प्रदर्शन गर्नुपर्ने समीकरण:
पहिलो ब्याटिङ गर्दै:
- यदि ३५० ठोके, ३११ रनले जित्नुपर्ने
- ४०० ठोके ३१६ रने जित्नुपर्ने
- ४५० ठोके ३२१
तर बङ्गलादेशले टस जितेर ब्याटिंग रोजे पाकिस्तान बिना कुनै बलको सामना प्रतियोगिताबाट बाहिर
- कारण: पहिले बलिङ गरे रन रेट् बढाउन सकिन्न
हालको कायम रहेको रन रेट:
- पाकिस्तान रन रेट: -.७९२
- न्युजील्याण्ड रन रेट: +०.१७५
- न्युजील्याण्ड
माथि भने झैँ, लगभग तय तर अङ्क गणितीय कारणले गर्दा यसै भन्न नसकिने अवस्था - पाकिस्तान/बङ्गलादेशको नतिजा कुर्नुपर्ने
