ताइवानलाई ५ - १ ले पराजित गर्दै आगामी वर्षको विश्वकप फुटबल प्रतियोगिताका लागि छनौट हुने आफ्नो सम्भावनालाई अस्ट्रेलियाली राष्ट्रिय टोलीले झनै बलियो बनाएको छ।
पूर्वी अस्ट्रेलियाली समय अनुसार आज बिहान कुवेतमा आयोजना भएको म्याचमा सकरूजका ह्यारी सुट्टार ले पहिलो गोल गरेका थिए। म्याचको एघारौं मिनेटमा आएको उक्त गोल पछि पहिलो हाल्फ़ अन्त्य हुँदासम्म अस्ट्रेलिया ३ - ० ले अगाडी रहेको थियो।
त्यसपछि, दोश्रो हाल्फ़ सुरु भएको दुई मिनेट नबित्दै गोल गरेका मिचेल ड्युक ले म्याचको ८४औं मिनेटमा अर्को एक गोल थप्न सफल भएका थिए।
तर ताइवानले पनि अस्ट्रेलिया विरुद्ध एक गोल गर्न सफल भएकोबारे चाहिं सकरुजका प्रशिक्षक ग्राहम आर्नोल्ड धेरै चिन्तित देखिएनन्।
म्याच पछि आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै आर्नोल्ड ले उक्त म्याचमा सहभागी खेलाडीहरु मध्ये धेरै "कम अनुभवी" रहेता पनि उनिहरुको खेल प्रदर्शन प्रति आफु धेरै खुसी भएको जोड दिए।
एसियाली छनौट चरणका अन्तर्गत "बी" समूहमा रहेको अस्ट्रेलियाको यो लगातार छैठौँ जीत हो।

नेपालको खेल
अर्को तर्फ आज बिहाननै सम्पन्न भएको दोश्रो राउण्डको म्याचमा चाहिं जोर्डन विरुद्ध ३ - ० ले नेपाल पराजित हुँदै, छनौट चरणको तेश्रो राउण्ड प्रवेश गर्ने नेपाली टोलीको सपना अन्त्य भएको छ।
कुवैतमै भएको उक्त म्याचमा चाहिं २४औं मिनेटमा पेनाल्टी मार्फत जोर्डनले आफ्नो पहिलो गोल गरेको थियो। त्यसपछि, दोश्रो हाल्फ़मा थप दुई गोल गर्दै पोइन्ट तालिकामा नेपाललाई चौथो स्थानमै कायम राख्न जोर्डन सफल भएको हो।
नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुतैरीले आफ्ना खेलाडीहरुले सक्दो प्रयास गरेता पनि पहिलो पेनाल्टी पछि जोर्डनका खेलाडीहरुको मनोबल बलियो भएको खेलमा व्यापक परिवर्तन आएको बताएका छन्।
साथै आगामी शुक्रबारको अस्ट्रेलिया बिरुद्धको अन्तीम म्याचमा पनि नेपालीहरुको प्रदर्शन बलियो रहने उनले बताए।
यस अघि अस्ट्रेलिया र नेपाल बीच राजधानी क्यानबेरामा भएको पहिलो म्याचमा ५ - ० ले नेपाल पराजित भएको थियो।

गत वर्ष नेपालमा आयोजना हुने योजना रहेको यो म्याच कोरोनाभाइरसको महामारीका कारण स्थगित गरिएको थियो।
हाल १८ पोइन्टका साथ् ग्रुप बी तालिकामा पहिलो स्थानमा रहेको अस्ट्रेलिया चाहिं आगामी राउण्डमा प्रवेश गर्ने प्रायः निश्चितनै रहेको छ।
अस्ट्रेलिया र नेपाल बीचको आगामी खेल एसबीएसले प्रत्यक्ष प्रसारण गर्दै छ।
पूर्वी अस्ट्रेलियाली समय अनुसार शनिबार १२ जुन बिहानको २:१५ देखि ४:३० बजे सम्म एसबीएस भाइसल्याण्ड र एसबीएस अन डिमाण्डमा म्याचको प्रतक्ष्य प्रसारण हुने छ।
