वुहानबाट फिर्ता
कोरोना भाइरसको प्रकोपको केन्द्र वुहानमा रहेका नेपालीहरु नेपाल फिर्ता ल्याइएका छन्।
१७५ जना नेपालीहरू शनिवार बेलुका नेपाल फर्किने विमानमा चढेका थिए र नेपाली समय अनुसार बिहानको करीब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए।
कुल १८५ नेपालीहरू विमानस्थल पुगेका थिए र स्वास्थ्य परीक्षण पछि त्यसमध्ये १० जना चीनमै रोकिएका छन्।
उनीहरूलाई भक्तपुरको खरीपाटी लागिएको छ र जहाँ उनीहरूलाइ र चिकित्सकहरूलाइ पनि १४ दिन क्वारेण्टाइनमा राखिने छ।
तर क्वारेण्टाइन स्थलका स्थानीयबासीले त्यसको विरोध गरेका छन्। सरकारले स्थानीयबासीको स्वास्थ्य र संक्रमण फैलन सक्ने सम्भावनालाई बेवास्ता गरेको उनीहरुको आरोप छ।
वुहानबाट आएका कुनै नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छैन। तर पनि नेपालमा कोरोना भाइरसको प्रभाव भने दिनानुदिन बढ्दै गइरहेको छ।
चीनसँग सिमाना जोडिएका नेपालका उत्तरी भेगका बासिन्दाको जनजीवन अझ कष्टकर बनेको छ।
त्यस क्षेत्रका बासिन्दाहरु दैनिक प्रयोग गरिने अत्यावश्यक सामानका लागि सीमावर्ती चिनिया बजारमा निर्भर छन्। कोरोना भाइरसका कारण चीनले सिमानामा नाकाबन्दी गरेपछि उनीहरूलाई सामान किन्ने ठाउँ नहुँदा समस्या बढिरहेको छ।
त्यस्तै, नेपालमा मास्कहरुको अभाव भएको छ। साधारण कपडाको मास्क देखि लिएर कोरोना भाइरस विरुद्ध काम लाग्न सक्ने सहित सबै खालका मास्कहरु बजारमा कम भएका छन्। र भएका मास्कहरु मूल्य पनि सामान्य भन्दा निकै बढी छ।

नेपाल सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको चार वटा भवनमा क्वारेन्टाइन निर्माणमा स Source: RSS
ललिता निवास प्रकरण
ललिता निवास अर्थात बालुवाटारको सरकारी जग्गा नीजि नाममा नामसारी गरिएको प्रकरण अझै पनि नेपालमा जारी छ।नीजि नाममा सारेको आरोपमा अख्तियारले गत हप्ता १७५ जना विरुद्ध मुद्दा दर्ता गरेको थियो।
यस सूचीमा नेपाली कांग्रेसका नेता विजय गच्छेदारलार्इ संलग्न गरिएकोमा कांग्रेसले थुप्रै ठाउँमा विरोध गरेको छ।
आइतबार नेपाली कांग्रेस निकट तरुण दलले काठमाण्डुमा आयोजना गरेको विरोध सभामा एकजना प्रदर्शनकारीले भनिन्: "हामी भ्रष्टाचारको लाग लड्न आएको होइनौं। हामी सबैलाइ बराबरी अख्तियारले मन्त्रीपरिषदका मान्छेलाइ सबैलाइ एकैचोटि कारवाहि गरोस् के। त्यसको लागि आएको हामी। एउटा विजय गच्छेदारलाइ मात्रै जोगाउन आएको होइन यो सडक आन्दोलनमा।"
यसको विरोधमा कांग्रेसले बारम्बार संघीय संसद अवरोध गरेपछि सभामुख अग्नि सापकोटाले संसदको बैठक माघ २८ गतेलाई सारेका थिए भने उता प्रदेश १ मा पनि सभासदहरुले प्रदेश सभा अवरुद्ध गरेका थिए।
भुमिसुधार मन्त्री पद्मा कुमारी अर्यालले भने यो कदमलाई सुशासनको पाइला भन्दै भविष्यमा दुरुपयोग गरिएका सबै सरकारी जग्गाका बारेमा कारवाही अघि बढाउने बताएकी छिन्।
किताब किन्न समस्या
सरकारले आयातीत पुस्तकहरुमाथि थुप्रै किसिमका करहरु लगाएपछि नेपालमा किताबहरु किन्न समस्या भइरहेको छ।
किताबहरु आयात गर्दा १०% कर लाग्ने भएको छ। सामान्यतया नेपालमा पुस्तक भारत हुँदै आउँछन् र भारत वा दक्षिण एशियाका लागि तोकिएका सहुलियत दरमा आउँछन्। तर अब भने विदेशी दरलाई मात्रै मान्यता दिइने र त्यसमा १०% कर लाग्ने भएपछि नेपालमा पुस्तक ल्याउन पुस्तक पसलेहरुलाई निकै महंगो परेको छ।
थुप्रै पुस्तक पसलेले अबदेखि पुस्तक नल्याउने अथवा पसल बन्द गर्ने भन्दै सूचना दिइसकेका छन्।
यो करको विरोधमा त्रिचन्द्र कलेजका विद्यार्थीले बुधबार सडकमा प्रदर्शन गरेका छन् र हस्ताक्षर समेत संकलन गरेका छन।
आइतबार सिंहदरबार अगाडि पुस्तक पढेर यस करको विरोध गरिरहेका ९ जना विद्यार्थीलाई प्रहरीले गिरफ्तार गरेको थियो र केहीबेरमा छोडेको थियो।
पुस्तकमाथिको करले ज्ञानलाई सीमित गर्छ भन्दै थुप्रैले यसको विरोध गरेका छन्।
नेपाल राष्ट्रिय प्राध्यापक संगठनका डाक्टर रमेशप्रसाद भट्टराई भन्छन्: "देशमा सरकारले ज्ञान उत्पादन गर्ने प्राध्यापकमाथि जबरजस्त कर थोपर्यो। यो कर हामी प्राध्यापकहरुको विरुद्धमा छ।"
तर मुद्रण व्यवसायीले भने यसले स्वदेशी छापा उद्योगलाई सहयोग गर्छ र नेपाल छपाइमा आत्मनिर्भर बन्न सक्छ भन्दै भन्दै यसको स्वागत गरेका छन्।
विमानस्थल आगलागी
यस हप्ता सोमबार काठमाण्डुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी भएपछि थुप्रै बेर हवाई सेवा अवरुद्ध भएको थियो।
बोर्डिङ गेट छेउमा भएको एउटा कफी शपमा विद्युत गडबड भएर आगो लागेपछि विमानस्थल केही घण्टाको लागि बन्द गरिएको थियो।केही विमानहरु होल्डमा राखिएका थिए र केही अन्तर्राष्ट्रिय उडानहरु भारतको लखनउ र कोलकाता लगायत अन्यत्र डाइभर्ट गरिएका थिए।
घटनामा कुनै मानवीय क्षती भएन, तर यो नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल भएको हुनाले उडानहरु व्यवस्थापन गर्न भने विकल्प नहुँदा समस्या देखिएको थियो।

विमानस्थलमा अागलागी Source: RSS
जलवायु परिवर्तन
जलवायु परिवर्तनले भविष्यमा नेपाल लगायतका हिमालय क्षेत्रमा अझ भारी वर्षा हुने र बाढी पहिरो जानसक्ने नासाको पछिल्लो प्रतिवेदनले देखाएको छ।
अमेरिकाको अन्तरिक्ष अध्ययन सम्बन्धी संस्था नासाले पहिलोपटक यो क्षेत्रमा वर्षा र बाढीपहिरोको सम्बन्धका बारेमा तयस्तो अध्ययन गरेको हो।
बाढीपहिरोले हिमालय क्षेत्रको भौगोलिक संरचनालाई नकारात्मक असर पर्ने र हिमाल, पहाड र तराईमा बस्ने बासिन्दाको जनजीवन कष्टकर बनाउने अनुमान गरिएको छ।
विश्वव्यापी तापमान वृद्धि र जलवायु परिवर्तनमा नेपालको उल्लेखनीय भूमिका छैन। तर यसको प्रभाव भने नेपालमा ठुलो परिरहेको छ।
दादुरा रुबेला
यस हप्ता नेपालमा दादुरा रुबेला विरुद्धको खोप अभियान शुरु भएको छ।
फागुन र चैतमा गरेर ९ महिना देखि पाँच वर्ष सम्मका करिब ३० लाख बालबालिकालाई यो खोप दिइने स्वास्थ्य मन्त्रालयले बताएको छ।दादुरा र रुबेला भाइरसबाट सर्छन् र विश्वभर बालमृत्युदरका प्रमुख कारण हुन्।
नेपालमा सरकारी स्वास्थ्य केन्द्रले सबै बालबालिकालाई दिने निःशुल्क खोप मध्ये दादुरा रुबेला विरुद्धको खोप पनि पर्दछन्।
तर यो खोपको पालो अन्तिममा आउने हुनाले यो खोप नलगाउने बालबालिकाको संख्या नेपालमा अरु खोपको भन्दा बढी छ।
यसपटक भने फागुनमा प्रदेश १,२ र ५ का ३४ जिल्लामा र चैतमा बाग्मती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका ४३ जिल्लामा दादुरा रुबेला खोप अभियान सञ्चालन हुने र यस्तै तराईका १९ जिल्लाहरुमा ५ वर्ष मुनिका बालबालिकालाई पोलियो थोपा समेत खुवाइने स्वास्थ्य मन्त्रालयले बताएको छ।

प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले एक नाबालकलाई पोलियो थोपा खुवाएर बिहीबार सैनामैना नगरपालिका–४ स्थित मुर्गियामा अभियानको शुभारम्भ गर्दै Source: RSS