आफ्नो समुदाय र देशको लागि निस्बार्थ भावनाका साथ काम गर्ने सयौँ अस्ट्रेलियालीहरूलाई यो वर्षको अस्ट्रेलिया दिवसको उपलक्ष्यमा विभिन्न पदवी तथा उपाधिका साथ सम्मानित गरिएको छ। यसरी सम्मान पाउनेहरू मध्येबाट नेपालसँग सम्बन्ध भएका दुई जनासँग हामीले गरेको कुराकानी।
गभर्नर जेनेरल डेभिड हर्लीले जारी गरेको विज्ञप्तिका अनुसार, यसरी सम्मानित हुनेहरूमा १,० ९९ व्यक्तित्वहरू रहेका छन्।
यसमध्ये ८३७ जनाले जेनेरल डिभिजन अन्तर्गतको अर्डर अफ अस्ट्रेलिया पाएका छन् भने, २६ जनाले सैन्य क्रियाकलापका लागि र बाँकी २३६ जनाको चाहिँ राम्रो कामका आधारमा उक्त उपाधिद्वारा सम्मानित भएका हुन्।
यसरी उपाधि पाउनेहरुमध्येका दुई जनाको चाही नेपालसँग सम्बन्ध पनि रहेको छ।
प्राध्यापक अक्रम ताजी
यो वर्ष, प्राध्यापक अक्रम ताजी मेम्बर अफ दि अर्डर अफ अस्ट्रेलियाले सम्मानित भएकी छिन्।

इरानको तेहरान विश्वविद्यालय लगायत अस्ट्रेलियाको सिड्नी र फ्लिनडर्स विश्वविद्यालय अनि संयुक्त राज्य अमेरिकाको हार्वर्डबाट शिक्षा पाएकी प्रोफेसर इमेरेटस अक्रम ताजी हाल अस्ट्रेलिया र नेपाल सहित संसारका विभिन्न विश्वविद्यालयहरूमा भिजिटिङ प्रोफेसरका रूपमा कार्यरत छिन्।
यसै गरी, इयन ग्रीन पनि मेम्बर अफ दि अर्डर अफ अस्ट्रेलियाले सम्मानित भएका छन्। उनले भिक्टोरिया राज्यको बेन्डिगो क्षेत्रमा रहेको पिस पार्क स्थापना गर्नमा निकै ठुलो योगदान दिएका छन्।
उनले यसका लागि विभिन्न धर्ममा आस्था राख्ने मानिसहरूसँग सह-कार्यको भावनालाई प्रोत्साहन दिनु पर्छ भन्दै एक अर्का प्रतिको सहयोगी भावनाको महत्त्वको प्रचार गर्दै आएका छन्।
आजभन्दा चालिस वर्ष अघि नेपालमा गई एक नेपाली गुरुसँग दीक्षा लिएर आएपछि, आफू यस कार्यमा समर्पित हुन झनै प्रभावित भएको इयन ग्रिनले एसबीएस नेपालीलाई बताएका छन्।
हामीले गरेको कुराकानी सुन्न पेजको माथिल्लो भागमा रहेको स्पिकरको आइकनमा थिच्नुहोस्
सन् २०२० को मेम्बर अफ दि अर्डर अफ अस्ट्रेलिया सम्मान पाउनु अगि प्राध्यापिका ताजीले वनस्पति शास्त्रको शिक्षा एवम् अनुसन्धानको क्षेत्रमा पुर्याएको उत्कृष्ट योगदानका लागि थुप्रै अन्य प्रतिष्ठित राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गरिसकेकी छिन् ।
विशेष गरी जसमा विश्वविद्यालय शिक्षणको लागि अस्ट्रेलियाली पुरस्कार, प्लान्ट बायोटेक्नोलोजी अनुसन्धान पुरस्कार र इरानको उच्च विज्ञान र टेक्नोलोजी अनुसन्धान पुरस्कार (ख्वारिजमी अन्तर्राष्ट्रिय पुरस्कार) समावेश छन्।
उनको विश्वास छ कि शिक्षा केवल रोजगार पाउने सीप मात्र नभई मानिसहरूलाई राम्रो विश्वव्यापी नागरिक हुन सिकाउने बारेमा हो। उनी भन्छिन्, एक असल समाज निर्माण गर्दै पर्यावरणको ख्याल राखेमा मात्र हामीले एक अर्काको हेरचाह राम्ररी गर्न सक्छौँ र त्यसका लागी उचित शिक्षा आजको आवश्यकता हो।
हालका वर्षहरूमा उनी विश्वभर घुम्दै सम्मेलनहरूमा मुख्य भाषणहरू दिइरहेकी छिन् जसको माध्यमबाट उनले आफ्नो श्रोताको ध्यान खानेकुरा, पानी र ऊर्जा सुरक्षाको क्षेत्रमा समस्त मानव जातिले सामना गरिरहेका चुनौतीहरू प्रति खिच्न सफल भएकी छिन्।
यसैक्रममा उनको नाता नेपालसँग पनि गासिएको हो र हामीले उनले पाएको सम्मान लगायत नेपालमा उनको काम बारे गरेको कुराकानीमा आधारित प्रस्तुती:

१२ डिसेम्बरको दिन थियो र म भर्खरै काठमान्डुबाट अस्ट्रेलिया फर्केकी थिएँ अनि एक पारिवारिक समारोहका लागि हवाईजहाज चढेर एडिलेड जानु ठिक अगाडी एउटा इमेलले मेरो ध्यान आकृष्ट गर्यो।
उक्त पत्रमा कसैलाई नभन्नु भन्ने लेखे पनि मन के मान्थ्यो र, र प्लेनमासँगै बसेकी छोरीलाई आफू सम्मानित हुने कुरा भनी हालेँ। उ त अक्क न बक्क भई। एक छिन त बिलकुलै चुप परिन् तर फेरी अँगालो हालेर मलाई बधाई दिइन्। हाई फाइभ पनि दिइन् र आमा तपाईँको यो कुरा बाहिर नाउँन्जेल कसैलाई नभन्ने प्रण गरिन्।
सन् २०१४ मा मेलबर्नमा एक सम्मेलन भएको थियो जसमा मलाई एक प्रमुख वाचकका रूपमा निम्त्याएको थियो। त्यहाँ मेरो भेट नेपालबाट आएकी एक म जस्तै तर युवा एवं फुर्तिली महिला अध्यापिकासँग भयो - उनको नाम विजया पन्त हो।

उनलाई मेरो भाषणको प्रति चाहिएको रहिछ र मैले पनि आफूसँग भएको एक सिडी दिएँ। उनले चाही यसलाई आफ्नो अध्यापनको क्रममा एक स्रोत सामाग्रीका रूपमा प्रयोग गर्ने बताएकी थिइन्।
अनि हामी आ-आफ्नो बाटो लाग्यौँ र केही वर्ष त हामी बिच कुनै सम्पर्क पनि थिएन। तर फेरी एक दिन उनले मलाई एक सन्देश पठाएर आफूले अन्तर्राष्ट्रिय कार्य सभा आयोजना गर्न लागेको के तपाईँ भाग लिन इच्छुक हुनुहुन्छ भनिन्।
सगरमाथाको देश नेपाल त्यसै पनि हाम्रो लाइनमा प्रख्यातै छ तर मलाई त्यहाँको विश्वविद्यालय बारे चाहिँ केही पनि थाहा थिएन । मैलै पनि तत्काल भइहाल्छ भनेर आफ्नो जवाफ पठाएँ । त्यति बेला मेरो थाइल्यान्डमा पढाउन जाने कार्यक्रम थियो र म त्यतैबाट काठमान्डू तिर हान्निए।
म १० दिन जति काठमान्डुमै रमाए र व्यस्तताका बाबजुद पनि त्यो मेरो लागी निकै रोमाञ्चक अनुभव थियो। धेरै अध्यापकहरू र विद्यार्थीहरूले मेरो कुरा सुन्न आउनुभयो। यो कस्तो समय थियो भने सन् २०१५ को विनाशकारी भूकम्पले पन्तले काम गर्ने त्रिभुवन विश्वविद्यालय लगायत नेपालका अन्य भौतिक पूर्वाधारहरू नराम्ररी ध्वस्त गरेको थियो।
तर त्यस्तो अवस्थामा पनि मेरो मन्तव्य राख्न एक अस्थायी हलको व्यवस्था थियो र त्यो कक्ष खचाखच जस्तै नै थियो।
केही दिनसम्म हामीले अन्तरक्रिया कार्यक्रममा भाग लियौँ र एक फिल्ड ट्रिपको लागि हामी चित्लाङ्ग जानु पर्ने भयो। मलाई नेपाल बोलाउने विजया पन्तले दुर्लभ तथा रैथाने सुनाखरीहरू संरक्षण बारे अनुसन्धान गर्दै रहनु भएको रहेछ र चित्लाङ्गमा उहाँले त्यस सम्बन्धी केही कार्यक्रमहरू सञ्चालन गरिरहनुभएको रहेछ।

मैले नेपालमा के समस्या देखे भने मानिसहरू ती जङ्गली वनस्पतिहरूलाई जथाभाबी रूपमा उखेल्ने वा टिप्ने गर्दा रहेछन् जस कारण हाल केही दुर्लभ र रैथाने वनस्पति विशेष गरेर सुनाखरीहरू त लगभग मासिनै थालिसकेछन्। प्रोफेसर पन्त त्यसलाई न्यूनीकरण गर्न अहोरात्र खटिनुभएको रहेछ। अनि ती जथाभाबी उखेलिएका बोट बिरुवा चाहिँ औषधी बनाउन लगायतका कामका लागि चीन पठाईदो रहेछ।
जहाँ पढाए पनि कुरो उही हो तर स्रोत साधन सम्पन्न ठाउँमा सिकाउन र गर्न अलिक सहज भइहाल्छ - नेपालमा चाहिँ विशेष गरेर ऊर्जाको समस्या देखे - पहिले त बत्ती आउने जाने ठेगान थिएन, अहिले स्थितिमा सुधार भएता पनि भरोसा गरिहाल्न मिल्ने छैन। त्यस कारण हामीले यहाँ अस्ट्रेलिया वा अन्य विकसित देशमा पढाउने तरिका सिधै लागू गर्न सक्दैनौ। यो फेरी नेपालको मात्र अवस्था होइन - समग्र विकासोन्मुख राष्ट्रहरूको कथा व्यथा हो।
![Dendrobium formosum [Sindhuli, Nepal] Orchid](https://assets.sbs.com.au/drupal/yourlanguage/public/48952983321_a2981e45ca_b.jpg?imwidth=1280)
अब म फेरी सेप्टेम्बर महिनामा नेपाल जाँदै छु। त्यहाँ जगेर्ना गर्नुपर्ने निकै वनस्पतिहरू छन् र मानिसहरू नयाँ नयाँ कुरा जान्न, सिक्न एकदमै उत्सुक पनि। नेपालीहरू साह्रै माया गर्ने, मेहनती र क्षमतावान् छन्। नेपाली खानाले पनि मलाई निकै मोहित गरेको छ - म शाकाहारी हु र नेपालमा मलाई निकै स्वादिलो परिकारहरू खाने मौका मिलेको छ, सबै ठाउँमा त्यस्तो अवसर प्राप्त हुँदैन। तर, नेपालले अगाडी बढ्न धेरै काम गर्नु छ र मैले सकेको जानेको कुराहरू त्यहाँका मान्छेहरूलाई बुझाएर सक्दो गर्नेछु। हामीले त्यहाँ भएका वनस्पतिहरूको जति सक्दो जगेर्ना गर्नु जरुरी छ किनकि ती नेपालको मात्र नभएर विश्वकै सम्पत्ति हुन्।
इयन ग्रिन

यस्तै, अर्डर अफ अस्ट्रेलियाले सम्मानित हुने इयन ग्रिनको नेपालसँगको सम्बन्ध यसरी व्याख्या गर्छन्।
उनी सुरुमा भारत जाने क्रममा बौद्ध धर्मको बारेमा अवगत भएको र त्यसको बारेमा थप शिक्षा लिन नेपाल आएको बताउँछन्। उनले सन् १९७९ मा काठमाडौँमा रहेको कपन गुम्बामा एक नेपाली गुरुबाट बुद्ध धर्मको थप शिक्षा लिएको जानकारी दिए।
त्यसपछि, अस्ट्रेलिया फर्कनासाथ, उनले बेन्डिगो क्षेत्रमा समुदायलाई सेवा पुर्याउने उद्देश्यका साथ गुम्बा, वृद्ध स्याहार केन्द्र लगायत सुरु गर्न अग्रसर भए। अहिले त्यहाँ एक नेपाली परिवारले मन्दिर पनि बनाउँदै गरेको छन्। हिन्दु धर्म सँगसँगै अन्य धर्मका प्रतिनिधिहरूले पनि त्यस पिस पार्कमा विभिन्न प्रतीकहरूको स्थापना गरेका छन्।
हामीले गरेको कुराकानी सुन्न पेजको माथिल्लो भागमा रहेको स्पिकरको आइकनमा थिच्नुहोस्

ग्रीन, शान्तिका लागि सुरु भएको जेड बुद्धका संस्थापक पनि हुन्।
ग्रिनले आफ्नो नेपालसँगको सम्बन्ध अझै पनि रहेको बताउँछन् र तिब्बत जाने क्रममा दुई पल्ट नेपालमा गएको पनि उल्लेख गरे। बेन्डिगोमा बन्दै गरेको शान्ति पार्कको लागि चाहिने कतिपय धार्मिक सामाग्रीहरू नेपालीहरूको हातले बनेका हुन् भन्दै, अझै पनि कतिपय सामाग्री त्यहाँबाट मगाइरहेको जानकारी दिए। गुम्बाको चुचुरोमा रहेको गजुर पनि नेपालमै बनेको ग्रीन बताउँछन्।

उनी सबै धर्ममा आस्था राख्नेहरूले सह-कार्य गर्नु पर्छ भन्ने कुराले अहिले झनै महत्त्व राख्ने कुरामा जोड दिन्छन्। विश्वभरि अहिले आफू भन्दा फरक देखिने वा अलग धारणा राख्नेलाई घृणा गर्ने वातावरण संसार भरिनै देखिन थालेकोमा उनी चिन्ता व्यक्त गर्छन्।
यस्तो समयमा सबै जात, धर्म, शान्तिसँग एकै ढिक्का भई मिलेर बस्न सकिन्छ भनी शान्ति पार्कले सन्देश दिन सकोस् भन्ने उनको कामना रहेको छ।





