सन् २०२२ मा विज्ञानका लागि उपलब्धि मूलक मानिएको छ।
अन्तरिक्षको क्षेत्रमा नयाँ आयामहरूको खोजी, कोभिड–१९ सम्बन्धी नयाँ उपचार विधिहरूको विकास र अस्ट्रेलियामा जलवायु परिवर्तनको असर स्वरूप देखिएको गम्भीर बाढी जस्ता विषय यस वर्ष चर्चामा रहे।
कोभिड–१९
कोभिड-१९ ले यस वर्ष पनि अस्ट्रेलियाली समाजमा ठुलो प्रभाव पारिरह्यो।
नयाँ भेरीएन्टको उदय, लकडाउन र आइसोलेसन नियममा आएका परिवर्तनका कारण अस्ट्रेलिया र विश्वकै लागि यो घातक वर्षका रूपमा रहन पुग्यो।
कोभिड–१९ का खोपहरू ओमिक्रन भेरीएन्टमा कम प्रभावशाली देखिएका कारण पनि अस्ट्रेलियाका लागि यस वर्ष घातक बन्न पुग्यो।
साइन्स मिडिया सेन्टरका जो मिल्टन ओमिक्रन, अन्य भेरीएन्ट भन्दा कम खतरनाक भए पनि यसको छिटो सर्ने गुणका कारण धेरैको ज्यान लिएको बताउँछन्।
“यो छिटो सर्ने भएकाले, हल्का भए पनि यसले धेरैको ज्यान लियो,” मिल्टनले भने।
ओमिक्रन भेरीएन्ट फैलँदा अस्ट्रेलियाले गत जुलाईसम्म १०,००० बासिन्दालाई गुमाइसकेको थियो।

मङ्कीपक्स
कोभिड–१९ पछि विश्वलाई मङ्कीपक्सको महामारीले चिन्तित बनायो।
पश्चिमी र केन्द्रीय अफ्रिकामा सन् १९७० ताका महामारीका रूपमा फैलिएको भाइरसको म्यूटेन्ट विश्वभर फैलिन पुग्यो।
डिसेम्बर सम्म मङ्कीपक्सका ८१,००० केस विश्वभर देखिएको छ भने ६० जनाको मृत्यु भइसकेको छ।
अस्ट्रेलियामा १४३ केस भेटिएका छन्।
डाक्टर मिल्टन महामारीका रूपमा फैलिए पनि वैज्ञानिकहरू यसलाई लिएर त्यति चिन्तित नरहेको बताउँछन्।
“स्मलपक्सका लागि बनाइएको खोपले यसमा पनि काम गर्ने भएकाले यो त्यति धेरै चिन्ताको विषय बनेको छैन,” उनले भने।

जलवायु परिवर्तन
विश्व जलवायुको बिग्रँदो अवस्थाले पनि यस वर्ष विश्वको ध्यान तानेको देखियो।
गत नोभेम्बरमा संयुक्त राष्ट्र सङ्घको कोप–२७ बैठकमा यस अघिका प्रतिबद्धताहरूलाई कायम राख्न विश्वका नेताहरूले तत्परता देखाए।
राष्ट्र सङ्घका महासचिव एन्टोनि गुटेरसले जलवायुको अवस्था निकै गम्भीर रहेको बताउँदै, अहिले नै नरोके यसले अपरिवर्तनीय गम्भीर परिणाम दिने चेतावनी दिए।
सन् २०२२ मा हरित गृह ग्यासको स्तरले नयाँ रेकर्ड राख्यो भने महासागरमा अम्लीकरण र समुन्द्री सतह बढेको देखियो।
मौसम
लगातार तीन वर्ष ला निन्याको प्रभाव कायम रहँदा, अस्ट्रेलियामा फेब्रुअरी महिना देखि नै बाढीको प्रभाव देखियो।
न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्याण्ड र साउथ अस्ट्रेलिया बाढीको सबैभन्दा बढी चपेटामा परे।
आफ्नो घर बाढीमा परेपछि, लिसमोरका एक बासिन्दाले आफ्ना अभिभावको छतमा टेन्ट गाडेर बस्नु परेको बताएका थिए।

कोआला लोपोन्मुख प्रजाति
यस वर्ष चरम मौसमी घटनाहरूका कारण धेरै जनावरहरूले आफ्नो वासस्थान गुमाउन पुगे।
यस मध्ये कोआला पनि पर्यो।
क्वीन्सल्यान्ड, न्यु साउथ वेल्स र एसीटीमा यसको सङ्ख्यालाई लिएर चिन्ता व्यक्त हुँदै गर्दा, वर्षको सुरुमै यसलाई लोपोन्मुख जनावरका रूपमा सरकारले दर्ता गरेको थियो।
डाक्टर मिल्टन साउथ अस्ट्रेलिया र भिक्टोरियामा कोआलाका उल्लेख्य सङ्ख्या रहेकाले चिन्ता मानी हाल्नु पर्ने अवस्था भने नरहेको बताउँछन्।
माहुरी मारा किरा
भरोवा नामक एक किराका कारण माउरीको सङ्ख्यालाई लिएर यस वर्ष चिन्ता व्यक्त भएको देखियो।
जुन महिनामा उक्त किरा अस्ट्रेलिया घुसेको थाहा पाएपछि सङ्क्रमित क्षेत्रका लाखौँ माउरीका घानहरू नष्ट गरियो।
अस्ट्रेलियाका अन्य क्षेत्रमा पनि उक्त किरा पुगेको भए बर्सेनि करिब १४ अर्ब डलर सम्मको क्षति हुने अनुमान गरिएको छ।

नासा क्षुद्रग्रह
नासाले यस पटक एक नयाँ प्रयोग अनुरूप एक क्षुद्रग्रहको बाटो परिवर्तन गर्न सफल भएको छ।
डिमफर्स नामक क्षुद्रग्रह पृथ्वीमा ठोक्किन नआएको भए तापनि, वैज्ञानिकहरूले ११ मिलियन किलोमिटर टाढाको उक्त क्षुद्रग्रहलाई टक्कर दिई बाटो परिवर्तन गरिदिए।
यस प्रयोगबाट भोलिका दिनमा पृथ्वीलाई सङ्कटमा पार्न सक्ने परिस्थितिमा बच्न सकिने उपायहरू वैज्ञानिकले पत्ता लगाउन सफल भएका छन्।

विश्वको जनसङ्ख्या ८ अर्ब
७ अर्ब जनसङ्ख्या पुगेको करिब १२ वर्ष पछि पृथ्वीको जनसङ्ख्या नोभेम्बर महिनामा ८ अर्ब पुगेको छ।
विश्वमा शुक्रकिटको सङ्ख्या घट्दै गएको मानिएता पनि जनसङ्ख्या भने बढी नै रहेको छ।
सन् २०८० सम्ममा विश्व जनसङ्ख्या १०.४ अर्ब पुगेपछि बिस्तारै घट्ने अनुमान गरिएको छ।
डाक्टर जो मिल्टन स्पर्म काउन्ट अर्थात् शुक्र किटको सङ्ख्या भने अचम्म तारिकाले घटी रहेको बताउँछन्।
गोल्ड फिस चालक
जनवरी २०२२ मा इजरायलका वैज्ञानिकहरूले गोल्ड फिस भनिने माछाका लागि एक विशेष भाँडो बनाएर, माछाले चाहेको स्थानमा गुड्न सक्ने बनाएका थिए।
फिस अपरेटर भेहीकल भनिएको उक्त परीक्षणमा, कार आकारको भाडा भित्र माछाहरूले आफूले चाहेको दिशामा यात्रा गर्नका लागि पौडिन सक्थे।
जनावरहरूले अपरिचित दिशामा कसरी बाटो पत्ता लगाउँछन् भनेर वैज्ञानिकहरूले अनुसन्धान गरेका थिए।
माछाहरूले आफ्नो गतव्यका अवरोधहरू पार गर्न सफल भएकोमा अनुसन्धानकर्ताहरू छक्क परे।
मस्तिष्कले भिडियो गेम खेल्दै
गोल्ड फिसलाई गाडी चलाउन सिकाएको समाचारसँगै यस वर्ष मानव मस्तिष्कलाई प्रयोगशालामा हुर्काएर भिडियो गेम खेल्न सिकाइयो छ।
अस्ट्रेलिया, क्यानडा र बेलायतका वैज्ञानिकहरू मिलेर डिशब्रेन भनिने प्रयोशसालामा निर्मित ८००,००० कोशिकालाई भिडियो गेम खेल्न सिकाएका हुन्।
यस अनुसन्धान भोलिका दिनमा औषधिहरूको परीक्षणमा पनि काम लाग्ने वैज्ञानिकहरू बताउँछन्।







