कोरोना
हाल नेपालमा प्रतिदिन कोरोनाबाट सङ्क्रमित हुने मानिसको सङ्ख्या झन्डै ४०० रहेको छ भने दैनिक मृत्युदर १० देखि १२ जना रहेको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ९,००० भन्दा बढी रहेको छ।
नेपालमा कोरोनाको परीक्षण दर र सङ्क्रमण दर घटिरहेको देखिन्छ।
कोरोना विरुद्धको खोप लगाउने मानिसको सङ्ख्या भने बढिरहेको छ।

२८ प्रतिशत भन्दा बढीले खोपको कम्तीमा एक मात्रा लगाइसकेका छन् र २२ प्रतिशत भन्दा बढीले पूर्ण मात्रा लगाइसकेका छन्।
मालदिभ्सले नेपाललाई २ लाख भन्दा बढी एस्ट्राजेनेका खोप यस हप्ता पठाउने भएको छ, जसको यातायात खर्च भने नेपालले व्यहोर्ने छ।
स्वीट्जर्ल्याण्ड र क्यानडाले पनि नेपाललाई खोप दिने भएका छन् भने बुधवार नेपालले खरिद गरेको भेरोसेल खोपको १० लाख मात्रा नेपाल आइपुगेका छन्।
न्यायपालिकाको बिचल्ली
नेपाल बार एसोसिएसनका सदस्यहरूले प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई राजीनामा दिनको लागि ५ दिन दिएका छन् र पाँच दिन भित्र त्यसो नगरेमा मङ्गलवार एसोसिएसनको प्राङ्गणमा धर्ना गर्ने बताएका छन्।
शुक्रवार छलफलको क्रममा एसोसिएसनको परिसरभित्र दुई विपक्षी कानुनी व्यवसायी बिच कुटा-कुट पनि भएको छ। राणाको राजीनामा माग्ने मध्येमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि रहेका छन्।
ओलीले संसद् विघटनमा संलग्न पाँचजनै न्यायाधीशहरुले राजीनामा दिनुपर्छ भन्ने अभिव्यक्ति राख्दै आइरहेका छन्। उनी भन्छन् -
“पाँच जनाले परमादेश गर्नुभएको थियो भने एक जना मात्र किन राजीनामा गर्नुहुन्छ श्रीमान् ज्युहरू, पाँच जनाले परमादेश गरेर देशलाई यो हालतमा पुर्याउनुभएको छ त पाँच जनाले राजीनामा गरे उपयुक्त होइन र?”
यस भनाइको निन्दा गर्दै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले ओलीको अवधारणा गलत र न्याय प्रणालीलाई अवरोध पुराउने किसिमको भएको प्रतिक्रिया दिएका छन्।
प्रधानमन्त्री शेर बहादुर देउवाले यसलाई ‘गैर जिम्मेवार अभिव्यक्ति’ भनेका छन्।
बार एसोसिएसन र न्यायाधीशहरुले राणाको नेतृत्व बहिष्कार गरेपछि झन्डै एक हप्ता जति अदालतको कामकाज नियमित रूपमा सञ्चालन हुन सकेको थिएन।

यस विषयमा बार एसोसिएसनले न्यायपालिकाको सुद्धढीकरणको निम्ति यस्तो हुन जरुरी रहेको भन्दै यसबाट मर्का पर्ने सबैलाई धैर्य धारण गर्न आग्रह गरेका छन्।
बाडीपीडितले सरकारबाट राहत पाउने
नेपाल सरकारले गत हप्ता भीषण वर्षाको कारण भएको बाढी पहिरोको कारण पीडित हुने देशभरका किसानहरूलाई राहत स्वरूप ५ अर्ब ५२ करोड रुपैयाँ दिने निर्णय गरेको छ।
नेपालमा कृषकहरूलाई दिइएको राहत मध्य यो आजसम्मकै सबैभन्दा बढी रकम हुनेछ।
यस वर्षको मनसुनको अन्तिम प्रभावको रूपमा अक्टोबर १७ देखि परेको भीषण वर्षाको कारण ज्यान गुमाउने सङ्ख्या १०० जना भन्दा बढी पुगेको थियो।
बेपत्ता हुनेमा ४१ जना रहेका थिए भने देशका विभिन्न ठाउँमा २ हजार भन्दा बढी घरहरू डुबानमा परेका थिए र ११ सय भन्दा बढी परिवार विस्थापित भएका छन्।
यस वर्षाको कारणले हजारौँ किसानहरूको बालीनाली पनि नष्ट हुन पुगेको थियो ।
बाग्मती मुख्यमन्त्री चयन
शुक्रवार नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशका मुख्यमन्त्री भएका छन्।
उनको नेतृत्वमा मन्त्री परिषद् पनि गठन भएको छ। यस अघि मुख्यमन्त्री रहेकी एमालेकी अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेर राजीनामा दिएकी हुनाले पाण्डे यस पदको निम्ति चयन भएका हुन्। पाण्डेलाई काङ्ग्रेस, माओवादी र जसपाका ५९ जनाको समर्थन रहेको छ ।
जसपा बाहेक यी तीन दलका अन्य नेताहरू मन्त्री बन्ने निश्चित भएको छ तर उनीहरूको मन्त्रालयको चयन भने हुन बाँकी नै छ।
नेकपा एमालेको फुटपछि शाक्यले १३ जना समर्थक गुमाएकी थिइन्। उनीहरूले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए।
विद्युत् महसुल घट्ने
आगामी नोभेम्बर महिनाको सत्र तारिख देखि नेपालमा विद्युतको महसुल घट्ने भएको छ।
विद्युत् नियमन आयोगको प्रस्ताव अनुसार त्यसो गरिने भएको हो। यस अन्तर्गत ५ एम्पियर प्रयोग गर्ने घरायसी ग्राहकले २० युनिट सम्मका लागि ३० रुपैयाँ मात्र तिर्नुपर्ने छ।
२२ लाख भन्दा बढी ग्राहकलाई यसले फाइदा पुग्ने छ। यसका साथै इन्डक्सन चुल्हो र सिँचाइका लागि विद्युत् प्रयोग गर्ने ग्राहकले पनि सहुलियत पाउने भएका छन्।

देशभित्रै विद्युतको उपभोग बढाउने उद्देश्यले त्यसो गरिएको विद्युत् प्राधिकरणले बताएको छ।
अल्मुतायरी नेपाल मै तीन वर्ष बस्ने
नेपालको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतायरीको प्रशिक्षण अवधि अब तीन वर्षको लागि थपिएको छ। उनी शुक्रवार साँझ नेपाल आइपुगेका छन्।
गत हप्ता मालदिभ्समा आयोजना भएको साफको फाइनल खेलमा नेपाल उप विजेता भएपछि अल्मुतायरी त्यतैबाट कुवेत गएका थिए।
उनले नेपालसँगको प्रशिक्षणको नवीकरण गरेकोमा आफू निकै खुसी भएको र अबको दिनमा नेपालको फुटबल टोलीलाई अझै सफल बनाउने योजना रहेको कुरा आफ्नो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन्।
उनी भन्छन्-
“मेरो मनबाट नेपाललाई कसैले हटाउन सक्दैन। नेपालले मलाई यो विश्वमा कसैले दिन नसकेको कुरा दिएको छ। मैले मात्र नेपालको फुटबल टोली तैयार गरिन, नेपालले पनि मलाई तैयार गर्यो, र एक सफल व्यक्ती बनायो।”
गत हप्ताको साफ खेल भन्दा अगाडि नै उनले नेपाली फुटबल टोलीको प्रशिक्षणलाई निरन्तरता नदिने लगभग पक्का भइसकेको थियो। त्यसपछि नेपालको फुटबल टिम फाइनलमा प्रवेश गरे लगत्तै उनको नेपालसँग नयाँ साझेदारी भएको हो।




