नेपालमा ५ कोरोना संक्रमित
यस हप्ता नेपालमा ४ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ र चारैजनाको उपचार भइरहेको छ।
यस हप्ताअघि नेपालमा वुहानबाट आएका एकजना विद्यार्थीमा मात्रै कोरोनाको संक्रमण देखिएको थियो र उनलाई निको भइसकेको थियो।
शनिबार बेलुकी पाँचौं संक्रमित व्यक्तिको पुष्टि गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले भिडियो कन्फेरेन्समा भनेः "यो पाँचौं केस हो। यो पनि काठमाण्डु उपत्यका भन्दा बाहिरको केस छ अहिलेलाई। यो चाहिँ १९ वर्षीय महिला हुनुहुन्छ जो बेल्जियमबाट कतार हुँदै आउनुभएको थियो। वहाँ अहिले चिकित्सकको सम्पर्कमा हुनुहुन्छ। वहाँको स्थिति अहिले सामान्य छ।"
हाल चार जना संक्रमित मध्ये एकजना फ्रान्सबाट आएकी विद्यार्थी, एकजना खाडीबाट आएका पुरुष, एकजना दुबइबाट आएका पुरुष र एकजना बेल्जियमबाट आएकी महिला छिन्। फ्रान्स र बेल्जियमबाट आएका महिलाहरु एकै विमानमा काठमाण्डु अवतरण गरेका थिए।
चार जना मध्ये दुइजनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ, एकजना सेती क्षेत्रीय अस्पतालमा छन् र अन्तिम महिला बागलुङमा रहेकी छिन्।
संक्रमित व्यक्तिहरु आएका विमानका अरु यात्रुको पनि खोजी भइरहेको र उनीहरुले शंकास्पद लक्षण देखिएमा परीक्षण गराउनुपर्ने स्वास्थ्य मन्त्रालयले बताएको छ।

नेपाल लकडाउनमा
कोरोना संक्रमित व्यक्ति भेटिएको भोलिपल्टदेखि नेपालमा लकडाउन शुरु भएको छ।
मंगलबार चैत ११ गते देखि चैत १८ गते सम्म नेपालमा अत्यावश्यक बाहेक अन्य सेवा बन्द हुने निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चारमन्त्री युवराज खतिवडाले भनेः "औषधी उपचार, खाद्य वस्तु खरीद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्किने। अनुमति प्राप्त सवारी साधन, स्वास्थ्य कर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा नीजि यात्रुवाहक सवारी साधन सञ्चालनमा पुर्ण रोक लगाउने।"
लकडाउन शुरु भएदेखि नेपालमा सडकहरु सुनसान भएका छन्। प्रायः पसलहरु बन्द छन् र प्रहरीले नियमित अनुगमन गरेर खुला रहेका व्यवसायहरु बन्द गराइरहेका छन्।
कोरोनाको संक्रमण हुन नदिनका लागि भक्तपुर, बागलुङ, धनगढी, पोखरा लगायत थुप्रै ठाउँमा बजार क्षेत्रमा कीटनाशक औषधीहरु छरिँदै छन्।
यसका साथै अत्यावश्यक सामानहरु किन्न पसल जाँदा करीब एक मिटरको दूरीमा बस्ने वा चकले बनाएको घेरामा टाढा टाढा उभिने प्रचलन पनि नेपालमा बढिरहेको छ। कतिपय स्थानमा प्रहरीले त्यस्तो घेरा बनाइ मद्दत गरिरहेका छन्।

भारतसँग सीमा बन्द
लकडाउन अन्तर्गत नेपालले भारतसँगको सीमानाकाहरु पूर्णतया बन्द गरेपछि थुप्रै नेपालीहरु सीमापारी अलपत्र परेका छन्।कोरोना प्रकोपका कारण गत हप्ता हजारौंको संख्यामा भारत गएका नेपालीहरु फर्केका थिए।
यस हप्ता भने त्यस्ता मानिसलाई सीमानामै रोकिएको छ।
सीमापरी अलपत्र परेका मानिसले कतिपय ठाउँमा विरोध गरेका छन्। मेची पुल पारी करीब ३०० मानिसले नाराबाजी गरेर जबरजस्ती छिर्न खोजेपछि प्रहरीले थुपैलाई कुटपिट गरेको थियो।
सीमा बन्द हुनु अघि नै भारतबाट आएका मानिसलाई विभिन्न ठाउँमा स्थानीय सरकारले क्वारेण्टाइनमा राख्ने कोशिश गरिरहेको छ। कतिपय ठाउँमा पाल लगाइएका छन् भने कति ठाउँमा विद्यालय जस्ता सार्वजनिक स्थललाई क्वारेण्टाइन स्थल बनाइएको छ।
तर थुप्रै मानिस क्वारेन्टाइनबाट भागेपछि जनस्वास्थ्यको चिन्ता बढेको छ।
सोमबार नेपालगञ्जबाट ५४० जना क्वारेण्टाइनमा राखेको ठाउँबाट निस्किएका थिए भने केही ठाउँमा क्वारेण्टाइनमा राखेका मानिस र स्वास्थ्यकर्मीबीच झडप पनि भएको छ।

रोजगार
नेपालमा लकडाउन शुरु भएपछि दैनिक ज्यालादारीमा काम गर्ने मानिसहरु मारमा परेका छन्।
निर्माण क्षेत्र, उत्पादन क्षेत्र, यातायात क्षेत्र लगायतमा गरेर नेपालमा ६० लाख भन्दा बढी ज्यालादारी मजदुर रहेका छन्। विभिन्न ट्रेड युनियनले उनीहरुका लागि आर्थिक राहत माग गरेका छन्, तर हालसम्म सरकारले त्यसलाई सम्बोधन गरेको छैन।
वैदेशिक रोजगारीमा जान नपाउने नेपालीहरुलाई भने सरकारले रोजगारी दिने भएको छ।
कोरोनाका कारण गन्तव्य मुलुकहरुले नयाँ मानिसको आवागमनमा प्रतिबन्ध लगाएपछि वैदेशिक रोजगारीमा जान चाहने धेरै नेपाली रोकिएका छन्।
अर्थ मन्त्री युवराज खतिवडाले काम गर्न चाहने मानिसले प्रधानमन्त्री रोजगारी कार्यक्रममा आफ्नो नाम सूचिकृत गराउनु पर्ने बताएका छन्। तर त्यस्तो रोजगारीको विस्तृत विवरण उनले दिएका छैनन्।
स्वास्थ्यकर्मीलाई सामग्रीको अभाव
नेपालमा स्वास्थ उपकरणको अभाव देखिएपछि कोरोनाको पहिचान र रोकथाममा समस्या हुन थालेको छ। परीक्षण किट, स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षाका लागि लाउनुपर्ने पञ्जा, टोपी, चश्मा, गाउन आदि सामग्रीको जताततै अभाव देखिएको छ।
स्वास्थ्यकर्मीले आफैं यस्ता सामग्री बनाउने वा स्थानीय श्रोतबाट बनाउन लगाउने क्रम शुरु भएको छ। कम गुणस्तरका यी सामग्रीले स्वास्थ्यकर्मीलाई सुरक्षा दिन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न उठिरहेको छ।
यसै बीचमा सरकारले चीनबाट गगल्स, पीपीई गाउन, पञ्जा, मास्क, जुत्ता तथा अनुहार छोप्ने सामाग्री, कोरोना परीक्षण गर्ने मेसिन जस्ता सामग्रीहरु खरीद गरेको छ।
ती मध्ये केही सामग्री आइतबार बिहान ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन्।अझै दुइ पटक उडान गरेपछि सबै सामग्री ल्याइसकिने सरकारले बताएको छ।
सामान ल्याएको भाडा आयात गर्ने व्यापारीले तिरेका छन्।
सरकारले किनेका, र ज्याक मा फाउन्डेसन र चीनको सिचुवान प्रान्तीय सरकारले दिएका यी सामग्रीले स्वास्थ्यकर्मीलाई केही राहत दिने आशा गरिएको छ।
यसबाहेक तातोपानी नाकाबाट पनि व्यापारीहरुले अरु सामग्री ल्याउने तयारी गरिरहेका छन्।

विदेशीलाई फिर्ता जान दिने निर्णय
सरकारले नेपालमा फँसेका विभिन्न देशका पर्यटकलाई आफ्नो देश फिर्ता जान दिने निर्णय गरेको छ।
सरकारले काठमाण्डु बाहिर फँसेका पर्यटकलाई काठमाण्डु ल्याउनका लागि विमान र गाडीहरुलाई उद्धारकार्यमा जाने विशेष अनुमति दिएको छ।
त्यसै अनुरुप सयौं पर्यटकहरु मुस्ताङ, लुक्ला र पोखरा जस्ता पर्यटकीय स्थलबाट काठमाण्डु आइपुगेका छन्।
सरकारले खाली विमान आएर पर्यटकलाई स्वदेश फिर्ता लैजाने अनुमति दिएपछि काठमाण्डुमा भएका विभिन्न राजदुतावासले विमान कम्पनीहरुसँग समन्वय गरिरहेका छन्।
शुक्रबार जर्मन दुतावासले चार्टर गरेका दुइ विमान आएर ६०० भन्दा बढी पर्यटक लिएर गएका छन्, जसमध्ये ३०५ जर्मनीका र अरु अन्य युरोपेली मुलुकका थिए।




