कोरोना
यस हप्ता नेपालमा कोरोना संक्रमित मानिसको संख्या करीब अढाइ लाख छ भने झण्डै सत्र सय मानिसको मृत्यु भएको छ।
संसारभर कोभिड १९ विरुद्ध खोप बन्ने प्रकृया शुरु भएको र कतिपय खोप परीक्षणको अन्तिम चरणमा पुगेको समयमा नेपालले थुप्रै देशसँग कुटनैतिक पत्राचार गरिरहेको छ, तर नेपालले कुन खोप प्रयोग गर्ने र कताबाट कहिले ल्याउने भन्ने निर्णय भइसकेको छैन।
खोपका बारेमा अद्यावधिक विवरण दिँदै स्वास्थ्य मन्त्रालयका प्रवक्त्ता जागेश्वर गौतम भन्छन्, "सरकारले खोप प्राप्त गर्ने तथा सबै नागरिकहरुलाई लगाउने कामहरुलाई योजनाबद्ध तरीकाले अघि बढाइरहेको छ। तर खोपको उत्पादन व्यवसायिक रुपमा तथा प्रयोग अभियानका रुपमा संसारमा शुरु भइसकेको छैन। जुन शुरु हुँदा हामी सबैले प्रयोग गर्न पाउने सुनिश्चितता नेपाल सरकारले गरेको छ।"
विश्वमा बनिरहेका कतिपय खोपलाई -२० डिग्री सेल्सियस वा त्यो भन्दा पनि कम तापमानमा भण्डारण गर्नुपर्ने हुँदा नेपालका लागि त्यो चुनौतीपुर्ण हुनसक्ने अनुमान गरिएको छ।

शिक्षक हत्या
एउटा भूमीगत माओवादी समूहले मोरङमा एकजना शिक्षकको निर्मम हत्या गरेको घटनाले द्वन्द्वकालीन समयको झल्को दिएको छ।
मोरङको मिक्लाजुङमा एकजना विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठलाई यस हप्ता आईतबार केही मानिस आएर अपहरण गरेर लगेका थिए, र खोज्दै जाँदा केही बेरमा उनको शव भेटिएको थियो।
यो हत्याको जिम्मेवारी नेत्रविक्रम चन्द 'विप्लव' समूहले लिएको छ। उनीहरुले मागेको एउटा खसी नदिएका कारण श्रेष्ठको हत्या गरिएको उनका परिवारले बताएका छन्।
सन् २००६ मा सकिएको १० वर्ष लामो द्वन्द्वकाल पछि माओवादी पार्टी मूलधारको राजनीतिमा आईसकेको पनि डेढ दशक हुन लागेको छ, तर विप्लव नेतृत्वको सानो समूह भने अझै भूमीगत छ।
यो घटनाले माओवादी द्वन्द्वकालमा भएका शिक्षक हत्याको सम्झना गराएको छ, र द्वन्द्वकाल फेरी फर्किने हो कि भन्ने डर जनमानसमा देखिएको छ। प्रधानमन्त्री केपी ओली भन्छन्, "हाम्रै देशका दाजुभाइले यति पैसा दे भनेर डकैतको शैलीमा भनेछन्। पैसा दिन सक्दिन भन्यो भनेर घिसारेर लगेर गोली हानेर मारेछन्। यस्तै खालका प्रवृत्तीको एउटा विकराल कालखण्ड हामीले पार गर्यौं। आज अब फेरी त्यता फर्काउने प्रयास हुँदैछ।"
चन्द नेतृत्वको विप्लव समूहले थुप्रै ठाउँमा स्थानीयवासीलाई तर्साउने र पैसा असूल गर्ने गरेको छ र कतिपटक सार्वजनिक स्थानमा बम विस्फोट पनि गरेको छ। विप्लव समूहका गतिविधि नियन्त्रण गर्नका लागि सरकारमाथि दवाव बढिरहेको छ।

अनलाइन शिक्षा अप्रभावकारी
काठमाण्डु लगायतका थुप्रै स्थानमा विद्यालयहरु खोल्ने क्रम शुरु हुँदा विगतका महिनाको अनलाइन शिक्षा धेरैजसो विद्यार्थीका लागि अप्रभावकारी रहेको केही अध्ययनले देखाएका छन्।
कोरोना संक्रमणको केन्द्रबिन्दु रहेको काठमाण्डुमा समेत थुप्रै विद्यालयले सरकारको मापदण्ड अनुसार विद्यालय खोल्न थालेका छन्। तर बालबालिकामा हरसमय यस्ता मापदण्ड कायम राख्न समस्या हुने, र बालबालिकाबीच संक्रमण बढेर उनीहरुले उच्च जोखिममा रहेका घर परिवारका सदस्यलाई संक्रमण सार्ने डर भने निकै रहेको विज्ञहरु बताउँछन्।
यसैबीचमा न्याश्नल क्याम्पेन फर एजुकेशन नामक छाता समूहले गरेको एउटा सर्वेक्षणमा दुई तिहाई बालबालिकाका लागि अनलाइन शिक्षा प्रभावकारी नभएको देखिएको छ।
संयुक्त राष्ट्रसंघको बालबालिका सम्बन्धी सँस्था युनिसेफले पनि केही समय अगाडि गरेको एउटा सर्वेक्षणमा नेपालका ६० प्रतिशत भन्दा बढी बालबालिकासँग दूरशिक्षाका लागि आवश्यक सामग्रीको पहुँच नै नभएको देखाएको थियो।
नेपाल सरकारले कक्षाकोठाको विकल्पमा रेडियो, टेलिभिजन, इन्टर्नेट र पत्रपत्रिका मार्फत पढ्न पढाउन मिल्ने नियम बनाएको छ, तर त्यो प्रभावकारी नहुँदा विद्यालयहरु खुल्न थालेका छन्।
संक्रामक महामारीका बीचमा स्वास्थ्य र शिक्षाबीच सन्तुलन मिलाउन निकै गाह्रो देखिएको छ।
उचाईमा पाटेबाघ
नेपालमा हालसम्मकै सबैभन्दा बढी उचाईमा पाटेबाघ देखिएको छ। नेपालको पुर्वी जिल्ला इलामको जंगलमा राखिएको क्यामेरा ट्रापमा ३१६५ मिटरको उचाइमा एउटा पाटेबाघ देखिएको हो।
यो भन्दा अगाडि नेपालमा पाटेबाघ चितवन र पर्सा राष्ट्रिय निकुञ्ज भन्दा पुर्वपट्टि देखिएको थिएन।
नेपालको पुर्वी पहाडमा पहिलो पटक यति उचाईमा बाघ देखिनुले बाघहरु विभिन्न कारणले बसाइँ सर्दैछन् कि भन्ने अनुमान गरिएको छ। जलवायु परिवर्तनका कारणले पहाडी भेग पनि बाघका लागि अनुकुल बन्दै जानु र बाघको वासस्थान रहेका तराइका जंगलमा मानवीय कृयाकलापका कारण परिवर्तन हुँदै जानुले यस्तो भएको अनुमान गरिँदै छ।
जंगली अवस्थामा नेपालमा पाइने बाघको संरक्षण विश्वव्यापी चिन्ताको विषय रहेको छ।

महिला फुटबलर तलब
नेपाल फुटबल संघ एन्फाले आगामी वर्ष २०२१ देखि महिला र पुरुष फुटबल खेलाडीलाई उति नै तलब दिने भएको छ। यो भन्दा अगाडि पुरुष खेलाडीको तलब महिलाको भन्दा झण्डै दुइ गुणा थियो।
खेलकुद क्षेत्रमा खासगरी पारिश्रमिकमा महिलामाथि हुने गरेको भेदभाव लामो समयदेखि विश्वव्यापी समस्या रहिआएको छ।
उचित पारिश्रमिक नपाइनु र व्यवसायिक जीवनमा सुनिश्चितता नहुनुले पनि महिलाहरु खेलकुद क्षेत्रमा निरुत्साहित हुने गरेको विश्वव्यापी अध्ययनले देखाएका छन्, र यो नेपालमा पनि लागु हुन्छ।
प्रायः महिला खेलको तुलनामा पुरुष खेल धेरै हेरिन्छन् र पुरुष खेलाडी धेरै लोकप्रिय हुन्छन् भने महिलाहरुले खेल्नका लागि समेत आफैं पैसा जुटाउनु पर्ने अवस्था पनि देखिन्छ।
एन्फाको यो कदमले महिला खेलाडी उत्साहित छन् र खेलकुद क्षेत्रमा महिला र पुरुषबीच समानता ल्याउन सघाउने अपेक्षा गरेका छन्।
श्वेता खड्का विवाह
अभिनेत्री श्वेता खड्काले यस हप्ता दोस्रो विवाह गरेपछि महिलाको दोस्रो विवाहका बारेमा विवाद चर्किएको छ।
खड्काले अभिनेता श्रीकृष्ण श्रेष्ठसँग सन् २०१४ मा विवाह गरेकी थिइन्, र विवाह गरेको एक महिनामै श्रेष्ठको असामयिक निधन भएको थियो। त्यसपछि छ वर्षसम्म एक्लै रहेकी खड्काले विजयेन्द्र रावतसँग यसै हप्ता दोस्रो विवाह गरेकी हुन्।
नेपालका अधिकांश समुदायमा पुरुषले सजिलै दोस्रो विवाह गर्ने गरेका छन् तर महिलाले विरलै दोस्रो विवाह गर्छन्।
यो भन्दा अगाडि दोस्रो विवाह गर्ने अभिनेत्री प्रियंका कार्की लगायतले पनि सामाजिक सञ्जालमा निकै आलोचना खेप्नु परेको थियो भने खड्काले पनि आफ्नो यो निर्णय र संघर्षका बारेमा फेसबुकमा लामो स्टाटस लेखेकी छिन्।
तर खड्कालाई बधाई र शुभकामना दिने मानिसको संख्या पनि उत्तिकै देखिन्छ।





