सामाजिक सञ्जालमा नेपाली महिला कलाकारप्रति दुर्व्यवहार

नेपाली कलाकार - Nepali Artists

विवादमा कलाकारहरु Source: फेसबुक

शाह र केसी बिचको विवाद सामाजिक सञ्जालमा महिला कलाकार प्रति गरिने दुर्व्यवहारको पछिल्लो उदाहरण बनेको छ।


अभिनेता भुवन केसीले अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाहमाथि १० करोडको क्षतिपूर्ति माग्दै मुद्दा हालेका छन्।

चलचित्रमा अभिनय गर्दा दुर्व्यवहार भोग्नु परेको भन्दै शाहले कसैको नाम नलिई सामाजिक सञ्जालमा भिडियोहरु राखेपछि शाह अभिनीत एक चलचित्रका निर्माता केसीले त्यस्तो गरेका हुन्।

शाहले आफूभन्दा धेरै उमेरको मानिस शारीरिक रूपमा नजिक हुन खोजेको, अपशब्द प्रयोग गरेको, यस्ता कारणले आफू असुरक्षित अनुभव गरेको, र भेदभाव गरिएको गुनासो गरेकी छिन्।

“हामी अभिनेताहरूले धेरै पटक आफ्नो कुरा पोख्न खोजेका छौँ, सुनाउन खोजेका छौँ, तर त्यो कुरालाई एकदमै उचालेर, हेडलाइन हेर्दा नै घिन लाग्ने समाचार बनाइन्छ," उनले भनिन्।

"वहाँहरूलाई केटी मान्छेको इज्जत थियो भने किन कहिले त्यो गाली गलौज भएको कमेन्ट निकाला गरिएन? मेरोमा मात्रै भनेको होइन।"

शाहका ती अभिव्यक्तिपछि केहीले उनको समर्थन गरेका छन् भने थुप्रैले उल्टै शाहकै चरित्रमाथि प्रश्न उठाउँदै गाली गरेका छन्।

शाह र केसी बिचको यो विवाद सामाजिक सञ्जालमा महिला कलाकार प्रति गरिने दुर्व्यवहारको पछिल्लो उदाहरण बनेको छ।

चलचित्र क्षेत्रमा हुने दुर्व्यवहारको सामाजिक सञ्जालमा विरलै विरोध गरिन्छ।

महिलामाथि हुने दुर्व्यवहारका विरुद्ध संसारभर चलेको मीटु आन्दोलनले नेपालमा कमै प्रभाव पार्‍यो।

यस्तो अवस्थामा सम्राज्ञी शाहको भनाइले नेपालको चलचित्र क्षेत्रमा भइरहने दुर्व्यवहार केही मात्रामा उजागर गरेको छ।

तर सामाजिक सञ्जालमा आफ्नो कुरा भनिसकेपछि महिला कलाकारको तनाव अझ बढ्ने शाह बताउँछिन्।

"महिला कलाकारको मा, अब म यो शब्द बोलूँ कि नबोलूँ? भयो म बोल्दिन। त्यस्तो त्यस्तो गाली गलौज हुन्छ। मतलब वहाँहरूलाई मजा आइरहेको छ। ”

पछिल्लो समयमा आफ्नो भनाइकै कारण अनलाइन दुर्व्यवहार भोगेका महिला कलाकारको सूची लामो छ।

गत महिना अभिनेत्री तथा निर्माता दिपाश्री निरौलाले अभिनेता राजेश हमालको महानायक पदवीमाथि प्रश्न उठाएपछि उनीमाथि धेरै गाली गलौज गरिएको थियो।

विषयलाई लिएर भन्दा पनि निरौलाको व्यक्तिगत जीवनमा लाञ्छना लगाउने काम व्यापक भएपछि राजेश हमालले फेसबुकमा एउटा भिडियो राखेर कसैको मानवतामा चोट पुग्ने काम नगर्न आफ्ना शुभचिन्तकलाई आग्रह गरेका छन् 

र चलचित्रकर्मीका सात वटा सङ्घले संयुक्त वक्तव्य जारी गर्दै त्यस्तो अश्लील टिप्पणी नरोकेमा साइबर कानुन अनुसार अघि बढ्ने बताएका छन्।

महिला कलाकारले विरलै पाउने समर्थन निरौलाले यो विषयमा पाएकी छिन्, तर सामाजिक सञ्जालमा उनको चरित्रहत्या जारी छ।

पछिल्लो समयमा, जिल्ला र प्रदेशको सङ्ख्या थाहा नभएकोमा अभिनेत्री पूजा शर्मा र कालापानीको समस्या सुल्झाउनुपर्छ भनेपछि अभिनेत्री वर्षा राउत यस्तो दुर्व्यवहारको भागीदार बनेका छन्।

भर्खरै मात्रै तीजमा पुरुषको खुट्टाको पानी नखाने भन्दै गीत गाएकोमा गायिका सोफिया थापा विरुद्ध भौतिक कारबाहीको धम्की दिइएको छ।

तीजमा व्रत बस्ने र पुरुषको खुट्टाको पानी खाने चलनको विरोध गर्दे गीत गाएपछि गायिका सोफिया थापालाई यो गीत हटाउन धम्की दिइएको छ, र यो घटना सामाजिक सञ्जालमा महिलामाथि हुने दुर्व्यवहार र गाली गलौजको पछिल्लो उदाहरण पनि बनेको छ।

गत हप्ता गायिका सोफिया थापाले यस्तो गीत सार्वजनिक गरेकी थिइन्।

अबको तीज नो व्रत प्लीज नो खुट्टाको पानी महिला पुरुष दुवै नै बराबरी

त्यसको लगत्तै थापालाई विश्व हिन्दु युवा संघ, हिन्दु जागरण लगायतका संस्थाले त्यो गीत सामाजिक सञ्जालबाट हटाउन भनेको थिए।

ती संस्थाले प्रहरीमा उजुर गर्दे यो गीत नहटाएमा थापामाथि ‘भौतिक कारवाही’ गर्ने धम्की दिएको भिडियो सामाजिक सञ्जालमा फैलिएको छ।उनीहरुले यो गीत हिन्दु धर्मका विरुद्धमा भएको र थापाले अमर्यादित पोशाक लगाएको समेत आरोप लगाएका छन्।

यसै हप्ता सामाजिक सञ्जालमा एकजना महिलाले ढाड देखिने लुगा लगाएको तस्वीर पनि निकै फैलिएको छ।

उनको पहिरन पनि अमर्यादित भएको आरोप लागेपछि मर्यादित पहिरन के हो भन्ने विवाद चर्किएको छ।

थुप्रै मानिसले सामाजिक सञ्जालमा यी दुवै घटनाको विरोध गरिरहेका छन् र महिलाहरुले ढाडको तस्वीर सामाजिक सञ्जालमा राखेर समेत मर्यादाको परिभाषा विरुद्ध आवाज उठाइरहेका छन्।

0f81493b-3d5a-4c24-826a-76b74e337895

संसारभर नै ट्विटर, फेसबुक जस्ता सामाजिक सञ्जालमा महिलामाथि गाली गलौज , चरित्रहत्या, अतिरञ्जना, व्यक्तिगत जीवनको खुलासा र त्यसमाथि अनावश्यक प्रश्न, धम्की लगायतका दुर्व्यवहार हुने गरेको पाइएको छ।

नेपालमा पछिल्लो समयमा त्यो प्रवृत्ति अझ बढेको देखिन्छ।

 

 

 

 


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now