कोरोनाको मार
यस हप्ता नेपालमा कोरोनाबाट सकृय सङ्क्रमित मानिसको सङ्ख्या १ लाख भन्दा बढि छ भने कुल सङ्क्रमित सङ्ख्या ५ लाखको हाराहारीमा छ। यसैगरि आजसम्म मृत्यु हुने मानिसको सङ्ख्या ५ हजारको नजिक पुगेको छ। कोरोना सङ्क्रमित मानिसको सङ्ख्या अत्याधिक भएकाले निजी अस्पतालहरुले थप बिरामी भर्ना लिन नसक्ने भन्न थालेका छन्।
अवस्था विकराल हुँदै गएपछि स्वास्थ्य मन्त्रालयका तर्फबाट डा. बिराज कर्माचार्यले होम आईसोलेसन पनि खतरनाक हुन सक्ने चेतावनी दिएका छन्।
“हामीले अहिले धेरैजसो संक्रमितहरुलाई घरमै आईसोलेसनमा बस्न सल्लाह दिन्छौं, तर कतिपय नेपाली घरहरुमा छुट्टै बस्न सक्ने सम्भावना नहुन सक्दछ। त्यस्तो अवस्थामा समुदायमा बनाएको आईसोलेसन सेनटरमा वहाँहरुलाई राख्न सके परिवारमा सङ्क्रमण फैलने डर एक्दमै कम हुन्छ। तर समुदायमा आईसोलेसनको व्यवस्था त्यस्तो नहुँदाखेरी सङ्क्रमितहरु घरमै बस्न बाध्य हुन्छन्, जसको कारणले घरभित्र नराम्रोसँग यो सङ्क्रमण फैलन सक्ने संभावना हुन्छ।”

स्वास्थ्यकर्मी पनि आफ्नो क्षमताभन्दा बढि खटिनु परेकोले गुनासो पोखिरहेका छन्।
यस स्वास्थ्य संकटकालको निवारणमा सहयोग गर्न प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय अपिल समेत गरेका छन्।सरकारले कोरोना विरुद्ध खोप लगाउन ईच्छुक १८ वर्षभन्दा माथिका सबैलाई अनलाईन फारम भर्न आह्वान गरेको छ।
यसका साथै चिनबाट सहयोग स्वरुप ल्याईएको भेरोसेल खोपको दोस्रो डोजको लागि आईतबारदेखि सबैजनालाई सम्बन्धित अस्पतालमा उपस्थित हुन पनि आह्वान गरिएको छ, र भारतबाट ल्याईएको कोभिसिल्डको दोस्रो डोज सांसदहरुलाई दिईएको छ।
काठमाडौं उपत्यकामा निषेधाज्ञा मे २७ सम्म लम्ब्याईने भएको छ।
कक्षा १२ र एसईईको परिक्षा बोर्डले स्थगित गरेको छ। सरकारी कार्यालयमा सीमित कर्मचारीबाट सेवा प्रवाह गर्न निर्देशन दिईएको छ। सरकारले अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन आग्रह गरेको छ र दैनिक उपभोग्य वस्तुको किनमेल बिहान १० बजेसम्म मात्र गर्न पाईने बनाईएको छ।
अक्सिजनको अभावमा हाहकार
विभिन्न अस्पतालमा अक्सिजनको अभावले कैयौँ कोरोना संक्रमित मानिसले ज्यान गुमाई राख्नुपरेको छ भने राजधानीको बालाजुस्थित औद्योगिक क्षेत्रमा अक्सिजनको माग गर्दै निकै लामो लाईन लाग्ने गरेको छ।
कोरोमा सङ्क्रमित बिरामीको सङ्ख्या बढेर देशभरका अस्पतालमा अक्सिजन सिलिन्डरको माग बढेपछि सरकारले विभिन्न उपाय अपनाउनको निम्ती निजि क्षेत्रलाई आह्वान गर्न थालेको छ र आफैंले प्रतिबद्धता देखाएको कतिवटा कार्य भने पुरा गर्नमा चुकेको छ।
बिग्रेका अक्सिजन प्लान्ट मर्मत गरेर शीघ्र सञ्चालनमा ल्याउने प्रधानमन्त्रीको दावीले दश दिन बितिसक्दा पनि कार्यान्वयन नभएको हुँदा विदेशबाट अक्सिजनका सिलिन्डरहरु आयात गरिँदैछन्।

चिनले यसै हप्ता ४०० थान अक्सिजनका सिलिन्डर र १० थान भेन्टिलेटर सहयोग स्वरुप नेपाल ल्याईपुर्याएको छ, र अझै दिने वाचा गरेको छ।
सरकारले अक्सिजन संबन्धी सार्वजनिक सुचना पनि प्रकाशित गरेर चिकित्सकको सिफारिसमा बाहेक कसैले पनि घरमा वा संस्थामा अक्सिजन सिलिन्डर नराख्न र आफूसँग भएका सिलिन्डर नजिकैको अस्पताल वा स्थानीय प्रशासनमा उपलब्ध गराउनु भनेको छ।
बिहिबार स्वास्थ मन्त्रालयले कम्तिमा १०० शय्या भएको अस्पताललाई अक्सिजन आपूर्ति व्यवस्थामा असर पर्न नदिन पन्ध्र दिनभित्र अक्सिजन प्लान्ट जडान गरेर जानकारी गराउन अनुरोध गरेको छ। राष्ट्र बैंकले आगामी असारसम्म अक्सिजन सिलिन्डर र अन्य स्वास्थ्य सामग्रीलाई लाग्ने करमा छुट दिने भएको छ।
प्रधानमन्त्री ओली आफ्नो पदमा फेरि नियुक्त
प्रधानमन्त्री के पी शर्मा ओलीले आफ्नो पदमा फेरि नियुक्त हुने क्रममा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल एमालेका नेता भएको हैसियतमा ओलीलाई फेरि प्रधानमन्त्री बनाईएको हो।
यस लगत्तै उनले सिंहदरबारमा पदभार ग्रहण गरेर देशको कोभिड-१९ समस्या र राजनितिक दलहरुलाई संबोधन गरेका छन्।
“म सबै राजनैतिक शक्तिहरु, पार्टीहरु, दलका नेताज्यूहरु र कार्यकर्ताज्यूहरु सबैलाई आग्रह गर्न चाहन्छु कि यस विकराल अवस्थामा आफ्नो स्वार्थको रोटी सेक्न खोज्ने प्रवृति उचित हैन।“

ओलीले पुरानै मन्त्री मण्डललाई निरन्तरता दिएका छन्।
राष्ट्रपति विद्यादेवि भण्डारीले सोमबार गठबन्धनको सरकार बनाउन आह्वान गरेपनि विपक्षी दलहरुले समय सिमाभित्रमा गठबन्धन बनाउन नसकेपछि ओलीलाई दोहोर्याइएको हो।
सोमबार दिउँसो प्रधानमन्त्री के पी ओलीले संसदमा विश्वासको मत लिन असफल भएर पदमुक्त्त भएपछि राष्ट्रपतिले त्यस्तो आहवान गरेकी थिईन्।
गण्डकी प्रदेशमा पृथ्वीसुब्बा फेरि नियुक्त
ठिक त्यस्तै किसिमको राजनीतिक घटनाक्रम हालसालै दुईवटा प्रदेशमा देखिएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो पदबाट राजीनामा दिएपछि बुधबार पुनः त्यही पदमा नियुक्त गरिएका छन्। आफू विरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएर सोमबार त्यसको निर्णयको निम्ती मतदान हुने तयारी हुँदा-हुँदै गुरुङले त्यसको एक दिन अघि आफ्नो पदबाट राजिनामा दिएका थिए।
तर विपक्षीहरुको बहुमत नपुग्ने भन्दै प्रदेश प्रमुख सीता कुमारी पौडेलले त्यस सभाका सबैभन्दा ठुलो दलका नेता गुरुङलाई फेरि नियुक्त गरेकी छिन्।
प्रदेश प्रमुख पौडेल समक्ष काङ्ग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रस्ताव गरेर पत्र बुझाएका माओवादी केन्द्र, नेपाली काङ्ग्रेस, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका सांसदहरु आफ्नो प्रस्ताव अस्विकृत भएपछि असन्तुष्ट भएका छन्।
ठिक त्यसैगरी गत हप्ता लुम्बिनी प्रदेशमा अविश्वासको प्रस्तावपछि हटाइएका मुख्यमन्त्री शंकर पोखरेल पनि फेरि त्यही पदमा नियुक्त गरिएका थिए।

एमालेका नेताहरुको निलम्बन फुकुवा
माधवकुमार नेपालसहित नेकपा एमालेका चार नेताहरुको निलम्बन फुकुवा गरिएको छ। बिहिबार बसेको एमाले पार्टीको बैठकले त्यस्तो निर्णय लिएको हो।
एमालेका माधवकुमार नेपाल, भीम रावल, घनस्याम भुसाल र सुरेन्द्र पाण्डेको बारेमा यस्तो निर्णय लिईएको हो।
गत वर्ष एमाले अध्यक्ष र प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि त्यसको विरोधमा यी नेताहरुले छुट्टै गुट बनाएपछि उनीहरुलाई पार्टीबाट निलम्बन गरिएको थियो।
यस्तो अवस्थामा गत हप्ता राष्ट्रपतिले विपक्षी दलहरुलाई गठबन्धनको सरकार बनाउन आह्वान गर्दा नेपाली काङ्ग्रेसका नेता शेर बहादुर देउवाले बहुमत जुटाउनका लागि यी नेतासँग पनि छलफल गरेका थिए।
तर एमालेले फेरि उनीहरुलाई फिर्ता लिने संकेत देखिएपछि विपक्षी गठबन्धनको सरकार बनाउने प्रयास असफल भयो।
हाल भने एमालेका दुई गुटबीच एकीकरणका निम्ति वार्ता चलिरहेको छ र एमाले पार्टी माओवादीसँग एकिकरण हुनुभन्दा अगाडिको अवस्थामा फर्काउन पार्टी अध्यक्ष ओली सहमत भएको बताइएको छ।




