छाउगोठमा मृत्यु
अछामको साँफेबगर नगरपालिका ३ की २१ वर्षीया पार्वती बूढा रावतको गत आइतवार राति घरनजिकै छाउगोठमा मृत्यु भयो । रजस्वला भएर छाउगोठमा पठाइएकी उनको मृत्युबारे सोमवार बिहान मात्र थाहा भएको प्रहरीको भनाइ छ ।
छाउगोठमा मृत्यु भएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको अपराध अनुसन्धान टोलीले घटनास्थल पुगेर मुचुल्का तयार पार्नुका साथै उनको शव जिल्ला अस्पताल र्पुयाएको थियो । त्यहाँ पोस्टमार्टम गरी पार्वतीको शव परिवारलाई जिम्मा लगाइएको थियो।
महान्यायाधिवक्ताको कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालय र प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई ’पीडकलाई तत्काल पक्राउ गर्नू’ भन्ने निर्देशन दिएपछि मृतकका जेठाजुलाई पक्राउ गरिएको बताइएको छ ।
नयाँ कानुन अनुसार छाउपडि बस्न वाध्य पार्नेलाई पनि कानुनी कारवाही हुने व्यवस्था छ । सोहि आधारमा उनका जेठाजु छत्र राउत पक्राउ परेका हुन ।
प्रहरीका अनुसार बिहीवार पक्राउ परेका मृतकका जेठाजुलाई मुलुकी अपराध (संहिता) ऐन अनुसार कारबाही अघि बढाइनेछ ।
हिलाका आफन्तलाई जाहेरी दिन आग्रह गर्दा नमानेपछि प्रहरीले आफ्नै प्रतिवेदनका आधारमा कारबाही अघि बढाएको उनीहरूले बताए।

विमानस्थल निर्माणमा सर्वोच्चको रोक
सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न सरकारलाई आदेश दिएको छ ।
न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले शुक्रबार विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न अन्तरकालीन आदेश दिएको छ । साथै दुबै पक्षलाई छलफलमा बोलाइएको छ ।
द्वारिकानाथ ढुंगेल, सुकदेव खत्री, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायतले निजगढ विमानस्थलका लागि रुख काटेर जंगल बिनास हुने र जंगल क्षेत्रलाई कंक्रिटमा परिणत गर्ने गरी सरकारले गरेको निर्णय अमान्य र बदर घोषित गर्न माग गर्दै सार्वजनिक सरोकारको रीट दायर गरेका थिए ।
रिट निवेदकहरुले २०७२ सालमा निजगढ क्षेत्रको वन पर्यटन मन्त्रालयलाई हस्तान्तरण गर्ने गरी मन्त्रिपरिषदले गरेको निर्णय बदर गर्न पनि माग गरेका छन् ।
निजगढमा विमानस्थल बनाउँदा त्यहाँ ८ हजार भन्दा बढी रुख काट्नुपर्ने, त्यसको सट्टा अर्को रुख रोप्ने ठाउँ तयार नहुनु, रुख काट्दा जंगली जनावरको वासस्थान हराउने खतरा रीट निवेदनमा छ ।
यो आदेशपछि पर्यटन मन्त्री योगेश भटराईले पनि प्रतिक्रिया दिएका छन । उनले शनिवार एक टिट गर्दै त्रिभुवन अन्तराष्टिय विमानस्थलको विस्तार अन्तिम चरणमा रहेको तर यहाको हवाइ जामको समस्या कम गर्न भने निजगढ विमानस्थलको विकल्प नरहेको वताएका छन ।

प्रधानमन्त्री काममा फर्किए
एक हप्ता लामो उपचार पछि निवास फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली विस्तारै काममा फर्किएका छन । उनले राज्य संचालनका विभिन्न काममा चासो लिएर काम थालेको सचिवालयका अधिकारीहरु वताउन ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओली बिहीबार दिउँसो डिस्चार्ज भएका हुन ।
प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । अस्पतालबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीले आफू स्वस्थ भएर फर्किएको प्रतिक्रिया दिएका थिए । त्यसअघि पनि उनको स्वास्थ्य अवस्थाबारे विभिन्न अडकलबाजी चल्न थालेपछि उनले अस्पतालबाटै एक भिडियो सन्देश मार्फत आफु स्वस्थ रहेको जानकारी दिएका थिए ।
स्वर सम्राटको सम्झना
स्वर सम्राट नारायण गोपालको सम्झनामा ‘नारायण गोपाल पेमला सुरमय गीत–गंगा’ भवन निर्माण हुने भएको छ ।
काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुने ‘नारायण गोपाल पेमला सुरमय गीत–गंगा’ भवनको बिहीबार काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शिल्यान्यास गरे ।
करीब ६ करोडको लगानीमा उक्त भवन बन्न लागेको हो ।

सिद्धबावा प्रहरी नियन्त्रणमा
सिद्धबाबा भनिने एक जना योगी बलात्कारको अभियोगमा प्रहरी नियन्त्रणमा लिइएका छन ।
पुर्वको धार्मिक स्थल चतरामा आश्रम बनाएर बसेका सिद्धबाबा भनिने कृण गिरीलाई एक उनकै अनुयायी भनिने महिलाले बलात्कारको आरोप लगाउदै प्रहरीमा जाहेरी दिएकी थिइन ।
टाइफाइड खोप परिक्षण सफल
टाइफाइडको नयाँ खोपको परीक्षण नेपालका बालबालिकामा सफल भएको दावी गरिएको छ । वैज्ञानिकहरूले यो परीक्षण टाइफाइडविरूद्धको लडाइँमा महत्वपूर्ण खुड्किलो भएको बताएका छन् ।
तर नेपालमा भने यो खबरको सामाजिक सञ्जालमा भने नेपाललाई गिनिपिग बनाएको भन्दै विरोध भइरहेको छ ।
यो परीक्षण बेलायतको अक्सफोर्ड र अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयसंगै अन्तर्रा्ष्ट्रिय गैरनाफामुखी संस्था पीएटिएचको साझेदारीको बाल्टिमोर अमेरिकामा रहेको टाइफाइड भ्याक्सिन एक्सिलिरेसन कन्सोर्टियमले गरेको हो ।
गडिमाइ मेला
बारा जिल्लामा रहेको प्रसिद्ध गडिमाइ मेलामा हुने बलिलाई लिएर यसपटक पनि पक्ष विपक्षमा बह भइरहेको छ । मंसिर महिनासम्म चल्ने यस मेलाका क्रममा हजारौ पशुलाई बली दिने गरिएको छ । धेरै अभियन्ताहरुले बली प्रथा रोक्नु पर्ने माग गर्दै विरोध गरिरहेका छन ।
सरकारले पनि बली प्रथालाई निरुत्साहित गर्न आग्रह गरको छ । गडिमाइ मेला एक महिनासम्म चल्छ ।





