कोरोना महामारी हुन अघि नेपालमा हरेक वर्ष तीजको बेला कैयौँ रेकर्डिङ स्टुडियोहरू भरिभराउ हुने गर्थे र यसको कारण एकै मात्र हुन्थ्यो – तीजका गीत।
केही वर्ष अघिदेखि त झन् तीजका विभिन्न साङ्गीतिक अवार्ड कार्यक्रम समेत आयोजना हुन थाले जस कारण धेरै जना कलाकार तथा स्टुडियोकर्मी सम्मानित पनि हुन थालेका थिए।
यसै बिचमा गायक दुर्गेश थापा पनि तीजको गीत गाउँदै म्युजिक भिडियोमा देखा परे।
उनी सायद यसरी डिजिटल सञ्चारको माध्यमबाट तीजको गीत गाएर देखा पर्ने पहिलो युवक पुरुष थिए।
करिब एक दशक अगाडि गायिका र हाल राष्ट्रिय सभाकी सदस्य कोमल ओलीले तीजको बेला ‘पोइल जान पाम्” भनेर शीर्षक रहेको गीत सार्वजनिक गर्दा यसको धेरै आलोचना भएको थियो।
यस्तै अहिले थापाका गीतहरू मध्ये रहेको 'बिच्च-बिच्चमा भाग-४' को अन्तरामा ‘ख्यास्स पुतली’ भनेर गाइएको छ।
उनले यसको जवाफमा ‘प्रतिकार’ शीर्षक रहेको गीत सार्वजनिक गर्ने भइसकेका छन्।
रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
तीजको बेलामा आजकल हरेक वर्ष अनौठा गीत सार्वजनिक हुने गरेका छन्।
दुर्गेश थापाले करिब तीन वर्ष अगाडी बीच्च-बीच्चमा भाग १ सार्वजनिक गरेपछि भने उनको जस्तो अनौठो तीज गीत सायद आजसम्म कसैको हुन सकेको छैन।
उनको गीतहरूले युट्युबमा करोडौँ मानिसहरूले हेरिसकेका छन्, र यी चर्चित गीतहरू सबैजसो तीजकै सन्दर्भमा लेखिएका हुन्।
उनको जस्तै कतिपय गीतहरू अझै पनि निस्कने क्रम जारी नै छ।
यस माहौलको सन्दर्भमा लोक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष बद्री पङ्गेनी भन्छन्, “तीजको मर्म अनुसार जुन गीतहरू हुनु पर्ने हो, तथा यसको इतिहास, महिलाको दुःख र यस परम्पराको महत्त्व झल्काउने शब्द र गायनमा कलाकारहरू चुकेका छन्।”
“र, अहिलेका अधिकांश यस्ता गीतहरू व्यावसायिक उद्देश्यले बनिरहेका छन्।”
उनको भनाई अनुसार हामीले यस्ता गीतहरूमा आफ्नो मौलिकता पनि गुमाउँदै लगिरहेका छौँ, तर तैपनि यसमा कता-कता नेपाली लोक धुनहरूलाई उजागर गरेको पनि पाइन्छ।
पहिलेका गीतहरूमा झैँ लोक बाजाहरूको प्रयोग भने कम रहको र शब्दहरूमा पनि आजको दिनका सन्दर्भहरूले भरिएको बढी पाइने पङ्गेनीको बुझाई छ।

कतिपय यस्ता गीतहरूमा गायकहरूले शब्दहरू कस्तो हुनुपर्छ भन्ने विषयमा धेरै ध्यान पनि नदिएको र यसले समाजमा नकारात्मक परिणाम दिने हुनाले यस्ता प्रयोगहरू रोकिनुपर्ने भन्ने उनलाई लाग्छ।
पछिल्लो समयमा तीजका गीतहरूमा पुरुष गायकहरूको संलग्नताको बारेमा पङ्गेनी भन्छन्, “पहिला-पहिला त तीजका गीतहरू महिलाले मात्र गाउने भन्ने हुन्थ्यो र एल्बममा पनि उनीहरूको मात्र स्वर हुने गर्थ्यो।”
“यस्तो नौलो प्रयोग भएको धेरै भएको त छैन। हुन त गाउँघरमा पनि ‘झोरा लगाउने’ भनेर तीजमा पुरुषहरूको सहभागिता भने हुने गर्थ्यो।”
समय आफैमा प्रगतिशील भएझैँ तीज लगायत अन्य लोक परम्परामा परिवर्तन देखिनु त स्वाभाविक नै हो, तर यस मध्य सङ्गीतसँग आबद्ध संस्कृतिमा निकै चाँडै परिवर्तन आइरहेको हामी देख्न पाउँछौँ।
सायद यसले समाजमा हुन खोजिरहेको परिवर्तनहरूको राम्रो र नराम्रो दुवै पक्षको चित्रण गर्ने गर्दछ।






