SKIP TO MAIN CONTENT

नेपाली युवा-युवती बिचको “भद्र” र्‍याप र रोस्ट ब्याटल

NEP-GASM, Sita Neupane, Trital
NEP-GASM artists Source: Nep-Gasm via Youtube

करिब एक हप्ता अघि (जुलाई १५) मा नेप्ग्याजम् मिडियाको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको एक 'र्‍याप' तथा 'रोस्ट ब्याटल' भिडियो अहिले नेपालको ट्रेन्डिङ युट्युब भिडियोमध्ये सबैभन्दा सक्रियको स्थानमा रहेको छ। धेरै दर्शकहरूको प्रतिक्रिया आएको उक्त प्रस्तुतिमा र्‍याप गर्ने कलाकार सीता न्यौपाने र लेखमणि त्रितालले एक अर्कालाई व्यङ्ग्य गरेको छन्। यसै भिडियोको विषयमा नेप्ग्याजम मिडियाका संस्थापक तथा निर्देशक शरद श्रेष्ठ र यी दुई कलाकार आफ्ना केही विचारहरू हामीसँग बाँडेका छन्।


Published

Updated

By गिरिश सुवेदी

Source: SBS



Skip to podcast episode content

करिब एक हप्ता अघि (जुलाई १५) मा नेप्ग्याजम् मिडियाको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको एक 'र्‍याप' तथा 'रोस्ट ब्याटल' भिडियो अहिले नेपालको ट्रेन्डिङ युट्युब भिडियोमध्ये सबैभन्दा सक्रियको स्थानमा रहेको छ। धेरै दर्शकहरूको प्रतिक्रिया आएको उक्त प्रस्तुतिमा र्‍याप गर्ने कलाकार सीता न्यौपाने र लेखमणि त्रितालले एक अर्कालाई व्यङ्ग्य गरेको छन्। यसै भिडियोको विषयमा नेप्ग्याजम मिडियाका संस्थापक तथा निर्देशक शरद श्रेष्ठ र यी दुई कलाकार आफ्ना केही विचारहरू हामीसँग बाँडेका छन्।


यो 'र्‍याप ब्याटल' बनाउने सोच तपाईँहरूलाई कसरी आयो र यसको सुरुवात कसरी गर्नुभयो?

लेखमणि: विदेशतिर 'र्‍याप एण्ड रोस्ट' भनेर यसरी थुप्रो र्‍याप ब्याटल हुने गर्छ, जुन प्राय जसो युरोप र अमेरिकामा देखिन्छ। हामी पनि मनोरञ्जन क्षेत्रमा नै लागिराखेको हुँदा यस किसिमको प्रयोगलाई आफै पनि एउटा पाइलट प्रोजेक्टको रूपमा गरिहेरौँ र दर्शकहरूको प्रतिक्रिया अनुसार अगाडी बढौँ भन्ने सोचले यसको सुरुवात गर्न पुग्यौँ।

सीता: लेखमणि र म दिदी र भाइ भनेर जिस्किरहने बानीले गर्दा यसमा एक किसिमको र्‍यापको शैली आएको हुनाले हामीले उसैको आइडिया अनुसार यसलाई प्रयोगमा ल्याएका हौँ। नेपालमा केटा र केटीको एक अर्का विरुद्ध को र्‍याप ब्याटल धेरै कम छ।

“हामी पनि मनोरञ्जन क्षेत्रमा नै लागिराखेको हुँदा यस किसिमको प्रयोगलाई आफै पनि एउटा पाइलट प्रोजेक्टको रूपमा गरिहेरौँ र दर्शकहरूको प्रतिक्रिया अनुसार अगाडी बढौँ भन्ने सोचले यसको सुरुवात गर्न पुग्यौँ।”

अहिलेसम्म देखिएका यस्ता केही दोहोरी र्‍याप ब्याटल र अङ्ग्रेजीमा र्‍याप ब्याटलहरू माझ नेपालीमा र्‍याप ब्याटलको रूपमा रहेको तपाईँहरूको प्रयोग अरूभन्दा कसरी अलग छ?

शरद: प्रायजसो र्‍याप ब्याटल स्क्रिप्ट बिना नै प्रयोगमा ल्याइएको देखियो। तर हामीले एउटा वर्कसप नै आयोजना गरेर यसमा के बोल्ने या नबोल्ने भनेर छलफल नै गरेका थियौँ। हामीले स्क्रिप्ट त तैयार पारेनौँ तर र्‍यापको प्रयोग गर्दा एक अर्कालाई कसरी अप्ठ्यारो नबनाउने र अपशब्दहरू कसरी नभन्ने भनेर एउटा सीमा तय गर्‍यौ।

“हामीले महिला र पुरुष एक समान छौँ भनेर पनि यसमा देखाउन खोजेका छौँ।”

हुन त यो एक किसिमको मनको कुरा पोख्ने बोलीको टक्कर हो; तर त्यसमा महिला पनि पुरुषभन्दा केही कम छैन भन्ने सन्देश हामीले दिन खोजेका हौँ। आगामी दिनहरूमा तपाईँहरूले यस्तै महिला र पुरुष बिचको प्रतिक्रिया देख्नु हुनेछ हाम्रो च्यानलमा

यस भिडियोको कस्तो प्रतिक्रिया आइरहेको छ र तपाईँहरूलाई यसको कस्तो प्रभाव परेको छ?

लेखमणि: यसको प्रतिक्रिया एकदम राम्रो आइरहेको छ र सबै जनाले राम्रो छ भनेर रुचाइदिनुभएको छ। हामीलाई अझ यस्तै नयाँ कामहरू गर्न ऊर्जा मिलेको छ र दर्शकले पनि नयाँ किसिमको मनोरञ्जन पाउनु भएकोमा हामी पनि सन्तुष्ट छौँ। यसको निरन्तरता रहोस् भनेर वहाँहरूले प्रोत्साहन पनि गर्नुभएको छ। यसले गर्दा अर्को र्‍याप बनाउँदा यसरी नै अरूको बेइज्जत नगर्ने किसिमले हामीले बनाउने सोचेका छौँ।

“अश्लील शब्दहरू प्रयोग नगरीकन पारिवारिक वातावरणमा समेत हेर्न मिल्ने भिडियोको परिकल्पना गरेका छौँ।”

यो र्‍याप ब्याटलले नेपाली समाजमा कस्तो किसिमको प्रभाव पर्‍यो होला? तपाईँहरूलाई दर्शकको प्रतिक्रियाको आधारमा यस विषयमा के भन्न चाहनु हुन्छ?

शरद: यो पोस्ट भइसकेपछि हामीले पनि 'रोस्ट र र्‍याप ब्याटल' मा हुने प्रायजसो अभद्र भनाभन भन्दा यसमा बढी पारिवारिक सन्दर्भ बढी भएको पायौँ।

“युट्युबको कमेन्टहरूमा हेर्दा पनि यसले सकारात्मक असर पारेको कुरा हामीलाई महसुस भयो।”

धेरै युवाहरूले पनि यसलाई नौलो मनोरञ्जनको रूपमा लिएको र उनीहरूले अपशब्द बिना समेत र्‍यापमा मनोरञ्जन हुने रहेछ भन्ने सोचलाई स्विकारेको पाइयो।

कलाकारहरूसँगको हाम्रो कुराकानी सुन्नुहोस्:

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा नि:शुल्क यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ।

भविष्यमा तपाईँहरूले यस्तो कामलाई कसरी निरन्तरता दिने बिचार गर्नु भएको छ?

सीता: हामीले यस भिडियोलाई 'पाइलट प्रोजेक्ट' को रूपमा सुरु गरेका हौँ र यसमा सबैको समर्थन र रुचिले गर्दा हामीले अन्य यस्ता सन्दर्भमा अझै र्‍यापहरू बनाउने सोचिरहेका छौँ।

शरद: यसलाई हामी निरन्तरता दिनेछौँ। यसमा हाम्रो टिमलेसँगै काम गरेर ५० जति भागहरू निकाल्ने सोचिसकेका छौँ। हुन त यसको निम्ति कुनै निर्धारित समय अवधि तोकिसकेका त छैनौँ, तर हामी अगामी दिनहरूमा यसका भागहरूलाई नियमित रूपमा पोस्ट गर्ने सोचमा छौँ। यसमा हामी नव युवाहरूलाई बढी लक्षित गर्ने विचार गर्दै छौँ।

लेखमणि: आगामी भागहरू अझ उच्च स्तरको र राम्रो बनाउने प्रयासमा हामी लागिपरेका छौँ। त्यस कारण अर्को एपिसोड आउन केही समय लाग्न सक्छ, किनभने हाम्रो दर्शकहरूको यसप्रतिको आशा पनि त्यही रूपमा रहेको छ।

“अगामी प्रस्तुति अझ दमदार हुनुपर्छ भन्ने हामीलाई लागेको छ।”

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now