Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

कथित रङ्गभेदको आरोपमा कलाकार सन्दीप क्षेत्री विरुद्ध प्रहरी र प्रेस काउन्सिलमा उजुरी

Sandip Chhetri has irked people in Birgunj with his skit

मधेसी महिलाको विवादास्पद चित्रण गरेका कारण हास्य कलाकार सन्दीप क्षेत्री विरुद्ध प्रहरी र प्रेस काउन्सिलमा उजुरी परेपछि सञ्चार माध्यममा मधेसी पात्रको चित्रणका बारेमा बहस चर्किएको छ।


Published

Updated

By Sewa Bhattarai

Source: SBS



Share this with family and friends


मधेसी महिलाको विवादास्पद चित्रण गरेका कारण हास्य कलाकार सन्दीप क्षेत्री विरुद्ध प्रहरी र प्रेस काउन्सिलमा उजुरी परेपछि सञ्चार माध्यममा मधेसी पात्रको चित्रणका बारेमा बहस चर्किएको छ।


सन्दीप क्षेत्रीले कान्तिपुर टेलिभिजनमा लोकप्रिय कार्यक्रम ह्वाट द फ्लप चलाउने गर्दछन्।

अनुहारमा कालो रङ्ग दलेर मधेसी पात्र मिठाईलाल जादवको चरित्रमा अभिनय गर्दा क्षेत्रीलाई पहिले पनि रङ्गभेद गरेको आरोप लाग्ने गरेको थियो।

तर असार १७ गतेको कार्यक्रममा भने, उनले मधेसी महिलालाई जिस्काएको, होच्याएको र अमर्यादित कार्य गराएको आरोप लागेको छ।

त्यो कार्यक्रममा क्षेत्रीले नागरिकता लिनका लागि महिलाको भेषमा गएको पुरुषको भूमिकामा अभिनय गरेका छन्।

संसद्मा विचाराधीन नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले नागरिकताका लागि ७ वर्ष पर्खिनुपर्ने प्रावधान राखिएपछि त्यसले मधेसी महिला मारमा परेको भनेर धेरै विरोध भएको थियो।

र, त्यसै समयमा प्रस्तुत गरिएको क्षेत्रीको कार्यक्रमले मधेसी महिला आफ्नो लागि बोल्न नसक्ने देखाइएकोमा धेरैको विरोध छ।

क्षेत्रीले भने त्यसलाई कलाकारिता भन्दै रजत पट नामक अनलाइन मिडियामा आफ्नो बचाउ गरेका छन्।

“मेरो जन्म वीरगन्जको वडा नं २ मा भएको हो। मेरो बाल्यकाल त्यही ठाउँमा बित्यो। वीरगन्ज मलाई मेरै आमाको काख जस्तो लाग्छ। हो, आमासँग मजाक गरिन्छ, हाँस ठट्टा गरिन्छ। तर आमाको मजाक उडाइँदैन। हाम्रो भूभाग, हाम्रो ठाउँ, हाम्रो भाषा, हाम्रो संस्कृतिको नचाहिँदो तरिकाले कसैले मजाक उडाएको छ भने त्यसको बारेमा सचेत हुनुपर्छ। तर त्यो चरित्र नै गर्न नपाउने, त्यो हुनै नपाउने त काहीँ पनि हुँदैन!”

कार्यक्रमले सार्वजनिक शान्तिमा खलल पारेको र सामाजिक सद्भाव र नैतिकता विरुद्ध रहेको भन्दै वीरगन्जका केही युवाले क्षेत्रीका विरुद्ध पर्सा प्रहरी कार्यालयमा उजुरी हालेका छन् भने प्रेस काउन्सिलमा पनि डा. शरद सिंह यादवले उनी विरुद्ध उजुरी हालेका छन्।

यस बाहेक अरू पनि थुप्रै अभियानकर्ताले हुलाक मार्फत उजुरी हाल्ने क्रम जारी छ, र केहीले त्यो कार्यक्रम बन्द गराउनका लागि अनलाइन पेटिशन पनि सुरु गरेका छन्।

COMPLAINT AGAINST ACTOR SANDIP CHHETRI
Source: AASHU SARRAF/TWITTER

सञ्चार माध्यमहरूमा हाँसोका रूपमा मधेसी पात्रलाई देखाउने र मधेसी बोली व्यवहार र रङ्गलाई नकारात्मक चित्रण गर्ने काम धेरै अघि देखि नै भइरहेको यी अभियानकर्ताहरू बताउँछन्।

तर अब भने यस्ता चित्रणका विरुद्धमा थुप्रै आवाज उठ्न थालेका छन् र सार्वजनिक मञ्च र सामाजिक सञ्जालमा यसका पक्ष र विपक्षमा धेरै बहस भइरहेको छ।

हालसम्म प्रहरीले भने यसबारेमा कुनै कारबाही नगरेको एक जना अभियानकर्ताले बताएकी छिन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now