अस्ट्रेलियामा मतदाता सङ्ख्या धेरै रहेता पनि, राजनीतिज्ञहरू प्रति मतदाताहरूको विश्वास चाहिँ घट्दै गएको बताइएको छ।
अस्ट्रेलियाली सङ्घीय निर्वाचनको लागि दुई हप्ता मात्र बाँकी रहँदा, पछिल्ला रिपोर्टहरूका अनुसार ठुलो सङ्ख्यामा मानिसहरूले मे १८ लाई नकुर्दै, पूर्व-मतदान गरिसकेका छन्।
उक्त चुनावमा भोट हाल्न नाम दर्ता भएकाहरुको संख्या झन्डै ९७ प्रतिशत पुग्दा, राजनीतिज्ञहरू प्रति मतदाताहरूको विश्वास चाहिँ घट्दै गएको बताइएको छ।
साथै, हाल भोट हाल्ने उमेरका अस्ट्रेलियालीहरू मध्ये झन्डै सन्तान्नब्बे प्रतिशतको नाम मतदाता सुचीमा रहेको पनि निर्वाचन आयोगद्वारा बताइदा, यस पटकको चुनावमा मतदाताहरूको सहभागिता बलियो रहने आयोगको अनुमान रहेको छ।
अर्को तर्फ, मतदाता सङ्ख्या धेरै रहेता पनि, राजनीतिज्ञहरू प्रति मतदाताहरूको विश्वास चाहिँ घट्दै गएको बताइएको छ।
सहकर्मी ओमार डबागको यो रिर्पोर्ट अनुसार हाल राजनीतिज्ञहरू प्रतिको विश्वास ५० वर्ष यताकै सबैभन्दा कम रहेको छ।
धेरैले यस कारण आसन्न आम निर्वाचन प्रति आफ्नो ध्यान केन्द्रित नगरेको बताएका छन्।
सिड्नी विश्वविद्यालय कि प्राध्यापक एड्रियन व्रोमेन भन्छिन् कि राजनीतिक दलहरूका आन्तरिक झगडा र पटक पटकको नेतृत्व परिवर्तनले पनि अस्ट्रेलियालीहरूलाई राजनीति प्रति असन्तुष्ट बनाएको छ।
उनको जस्तो भनाइ, विभिन्न अध्यनहरुमा पनि देखिएका छन्।

क्यानबेरा विश्वविद्यालयद्वारा तयार पारिएको एक रिपोर्टमा खालि ४१ % अस्ट्रेलियालीहरू मात्र देशको प्रजातान्त्रिक अवस्था प्रति सन्तुष्ट रहेको देखिएको छ।
साथै, एक चौथाइ मतदाताहरूले मात्र राजनीतिज्ञहरूले सही काम गर्ने बारे विश्वास व्यक्त गरेको मेलबर्न स्थित एक अध्यन केन्द्र - ग्राटन इन्सिच्युटले बताएको छ।
उसको अनुसार ५० वर्षमै पहिलो पटक सरकार प्रतिको जनविश्वास धेरै नै कम रहेको छ।
सन् २०१६ को सङ्घीय निर्वाचनमा ७००,००० भन्दा बढी मतदाताहरूले आफ्नो मतपत्रमा जानी-जानी भोट बदर हुने गरी केर मेट गरेको वा चित्रहरू बनाएको पनि बताइएको छ।
मे १८ तारिकमा हुने आम निर्वाचनमा उक्त सङ्ख्या झनै बढ्न सक्ने सम्भावना रहेको बताउँछिन् मेलबर्न विश्वविद्यालयमा कार्यरत डा लरेन रोज्वार्न।
सन् १९७० देखि १९८० सम्म लेबर पार्टीका सदस्य रहेका जुलियन शीन उक्त पार्टीको भित्री समूहका केही सदस्यहरूसँग नजिकको सम्बन्ध राख्दथे र सङ्घीय चुनावमा उठ्ने बारे पनि उनले सोच बनाएका थिए।
तर अहिले उनी आफूलाई लेबर पार्टीलाई मात्र भोट दिन सीमित नहुने बताउँछन्।

आजकल राजनीतिज्ञहरू कुरा गर्ने विविध विषयवस्तु माथि विश्वास गर्न गारो रहेकोले पनि, कसलाई भोट दिने बारे निर्णय गर्न गारो हुँदै गएको छ।
मतदाताहरूको राजनीतिज्ञ र चुनाव प्रतिको विचार धेरै सकारात्मक नदेखिएता पनि स्थिति भने धेरै नाजुक चाहिँ अहिले नभएको पनि विज्ञहरू जोड दिंदछन् ।
विशेष गरी, यस निर्वाचनका लागि अठार देखि चौबिस वर्षे मतदाताहरूको सङ्ख्या धेरै नै रहेकोले पनि स्थितिलाई सकारात्मक रूपमै हेर्नु पर्ने उनीहरूको भनाइ छ।
अस्ट्रेलियाली निर्वाचन इतिहासमै सबै भन्दा धेरै मतदाता सङ्ख्या अहिले रहेको छ।
अस्ट्रेलियाली राष्ट्रिय विश्वविद्यालय कि डाक्टर जिल शेपर्ड भन्छिन्, ती युवा मतदाताहरू सँगको सम्बन्ध सुधार गर्न सक्ने राजनीतिज्ञहरूलाई चुनावमा धेरै फाइदा हुनसक्छ।




