प्रत्येक वर्ष, जनवरी २६ तारिखका दिन- अस्ट्रेलिया दिवसको रूपमा देशभर राष्ट्रिय दिवस मनाइन्छ।
तर सँगसँगै- यो दिनलाई राष्ट्रिय दिवसको रूपमा नमनाउन पनि आव्हान बढ्दै गएको छ। किन यो हर्षोल्लास गरी मनाउने दिनको विरोध बढेको हो त? यसबारेमा चर्चा गरौँ।
अस्ट्रेलियाको भूमिमा – सन् १७८८ , २६ जनवरीका दिन- ब्रिटिस अधिराज्यबाट आएकाहरूले पहिलो चोटि पाइला टेकेका थिए।
बेलायतबाट आएको पानी जहाजको पहिलो समूह त्यस दिन सिड्नीमा आइपुगेको थियो।

यस दिन, एउटा नयाँ देशको जन्म भएको मान्दै, लाखौँ अस्ट्रेलियालीहरुले यसलाई अस्ट्रेलिया दिवसको रूपमा मनाउँछन्।
तर सँगसँगै, यस दिन आफ्नो देशमा अतिक्रमण गरिएको भन्दै अस्ट्रेलियाका आदिवासी समूह- एबोरिजीनल र टोरेस स्ट्रेस टापुका मानिसहरुले यस दिनलाई शोक दिवसको रूपमा मनाउँछन्।
देशभरि, शोक दिवसको रूपमा मनाउने क्रम अहिले बढ्दै गएको छ।

तास्मेनियाको डेभनपोर्ट सहरमा शोक दिवस मनाउने र्यालीका आयोजक एडम थम्सन हुन् र उनले त्यहाँको एबोरिजिनल केन्द्रमा पनि काम गर्दै आएका छन्। उनको विचारमा २६ जनवरीलाई राष्ट्रिय दिवस मनाउनु भनेको यहाँको आदिवासी समूहको लागि आपत्तिजनक कुरा हो।
हालका दिनहरूमा, अस्ट्रेलिया दिवसको मिति सार्ने अभियानले निकै गति लिइरहेको छ।
सन् २०१८ मा गरिएको एक सर्वेक्षण अनुसार ४९ प्रतिशतजनसंख्याले यहाँको एबोरिजिनल समुदायको मन दुख्ने दिन अस्ट्रेलिया दिवस मनाउन गलत हुन्छ भनी बताएका थिए।
थम्सनका अनुसार, अस्ट्रेलिया दिवसको मिति सारेको खण्डमा यहाँका आदिवासी र अन्य वर्गमा रहेको खाडललाई पुर्न सहयोग गर्ने छ र उनीहरूको जीवनशैलीलाई सुधार्न पनि ठुलै मद्दत मिल्ने छ।
तर यसका अभियानका लागि, आदिवासी मात्र अन्य वर्ग पनि आउनु पर्ने उनको आग्रह रहेको छ।

मेलबर्नमा रहेको यार्रा सिटी काउन्सिललाई अस्ट्रेलियामै पहिलो पटक अस्ट्रेलिया दिवसलाई आधिकारिक रूपमा नमनाउने स्थानीय प्रशासनको रूपमा चिनिन्छ।
यो दिन, उक्त काउन्सिलले नागरिकता पनि वितरण गर्न बन्द गरेको छ र काउन्सिलकी मेयर मिशा कोलम्यानका अनुसार यस निर्णयका लागि समुदायको तर्फबाट निकै ठुलो पहल भएको थियो।
यो वर्षको कार्यक्रममा उक्त काउन्सिलले हर्बट ‘जक’ अस्टिन नामक – मेलबर्नका एक एबोरिजिनल नेताको सम्मानमा अर्पण गर्ने बताएको छ।
एन्ड्रु पीटर्स स्वीनबर्न विश्वविद्यालयका एक प्राध्यापक हुन् र उनको भनाइमा अस्ट्रेलिया दिवसले उनको जीवनकालमै परिवर्तित रूप लिई सकेको छ।
आफू सानो छँदा, यो दिनको कसैलाई वास्ता हुँदैनथ्यो,तर अहिले आएर यसको ऐतिहासिक महत्त्वको बारेमा चर्चा बढ्दै गएको उनले बताए।
पीटर्सका अनुसार, अस्ट्रेलिया दिवस कुन दिन मनाइन्छ, भन्ने विषयभन्दा कसरी मनाइन्छ भन्ने कुरा महत्त्वपूर्ण कुरा हो।
यस राष्ट्रिय दिवसले, ब्रिटिस उपनिवेशकहरु आउनु अघिको समाज र अहिलेको समाज दुवैलाई सम्मान दिनु पर्ने उनको विचार छ।
यसै गरी, मेलबर्नको एबोरिजीनल समुदायका शन एन्ड्रुजले २६ जनवरीको उत्सवलाई आफ्नो समुदायले पुराना पीडाबाट अझै बलियो भई निस्कन सक्ने रूपमा मनाउने बताए।
उनी मेलबर्नमा यस दिन मनाइने बेलग्रेभ सर्भाईभल दिवसका आयोजक मध्येका एक हुन्।
उक्त कार्यक्रममा एबोरिजीनल समुदायका अग्रजहरूले धुवाँ उडाउने समारोह र अन्य समूहले खाना परिकार, सङ्गीत प्रस्तुत गर्ने एन्ड्रयुज बताउँछन्।





