अस्ट्रेलिया दिवसको अवसरमा हुने लामो सप्ताहअन्त्य नजिकिदै जाँदा देशभरका समुन्द्र, नदीनाला र स्थानीय स्विमिंग पूलहरुमा पनि सुरक्षित् रहन मानिसहरुले अपनाउन सक्ने उपायहरुबारे ध्यानाकर्षण गराउने प्रयास अधिकारीहरुले गरेका छन्।
गए केहि हप्ता यता एक जना नेपालीको समुन्द्रमा डुबेर मृत्यु भएको र एक अर्का नेपाली चाहिं नदीमा बेपत्ता भएको भन्ने समाचार आउदा अस्ट्रेलियामा डुबेर मृत्यु हुनेहरु मध्ये ठुलो संख्या वयस्क पुरुषहरुको रहेको उनीहरुको भनाइ छ।
रोयल लाइफ सेभिंग सोसाइटीले प्रकाशित गरेको एक रिपोर्टका अनुसार गए १५ वर्षमा पानीमा डुबेर मृत्यु हुनेहरु मध्ये झन्डै २८०० जना वयस्क पुरुषहरु रहेका थिए।
त्यसमध्ये पनि झन्डै १८ प्रतिशतको मृत्यु मदिरा सेवन गरेर पानीमा गएको कारण भएको रिपोर्टमा बताइएको छ।
“ती पुरुषहरुले पानी नजिक एक दुई बोतल बियर मात्र नभई त्यो भन्दा धेरै मात्रामा मदिरा सेवन गरेको देखिएको छ”
यस कारण पनि पानीसँग सम्बन्धित गतिविधिहरुमा सहभागी हुँदा मदिरा सेवन नगर्न रोयल लाइफ सेभिंग सोसाइटीले आग्रह गरेको छ।
उक्त संस्था कि राष्ट्रिय प्रबन्धक एमी पिडेन भन्छिन कि पानीमा डुबेर मृत्यु हुनेहरु मध्ये ८० प्रतिशत पुरुषहरुनै रहने गरेका छन्।
साथै ठुलो संख्यामा पानीमा डुबेर हुने मृत्युहरु देशका नदीनालाहरुमा हुने गरेका छन्।
त्यसको कारण?
धेरै नदीनालाहरुमा लाइफ गार्ड रहेका हुँदैनन् भन्छिन एमी पिडेन।

सन् २००३ को जुलाई देखि सन् २०१८ को जुन महिना सम्म संकलन गरिएको तथ्यांकका अनुसार पानीमा डुबेर भएका मृत्युका घटनाहरुमध्ये प्राय जसोमा मृत्यु हुने व्यक्ति अन्य कोहि व्यक्तिको साथमा रहेका थिए।
रोयल लाइफ सेभिंग सोसाइटीका अनुसार मदिरा सेवनका कारण हुने त्यस्ता मृत्यु मध्ये झन्डै ४१ प्रतिशतको जानी जानी पानीमा हाम फाल्नाले र ३२ प्रतिशतको गल्तिले पानीमा खस्नाले भएका थिए।
मदिरा सेवनले पानीको खतरा बारे सही निर्णय गर्न मानिसहरुलाई सहयोग नगर्नुका साथै उनीहरुको सन्तुलन बिगार्ने र खतरा बाट आफुलाई जोगाउन चाडो कदम चाल्न पनि उनीहरुलाई सहयोग नगर्ने उक्त संस्थाको भनाइ छ।
एमी पिडेनका अनुसार मदिरा सेवनका कारण पानीमा डुबेका पुरुषहरुको शरीरमा भेटिएका मदिराको औसत मात्रा, सवारी साधन चलाउन पाउने मदिराको मात्रा भन्दा तीन गुणा सम्म पनि बडी रहने गरेका छन्।
“ती पुरुषहरुले पानी नजिक एक दुई बोतल बियर मात्र नभई त्यो भन्दा धेरै मात्रामा मदिरा सेवन गरेको देखिएको छ”
साथै सर्फ लाइफ सेभिंग अस्ट्रेलियाका राष्ट्रिय सुरक्षा प्रबन्धक शेन डअ चाहिं मदिरा सेवन गरेर पानीमा जानेहरुले आफ्नो मात्र नभई लाइफ गार्डहरुको ज्यानलाई पनि जोखिममा पार्ने बताउँछन्।
“मानिसहरुले आफ्नो कदमले आफु र अरु माथि खतराको स्थिति कसरी सिर्जना गर्छ भन्ने बारे राम्रोसँग बुझ्न पनि जरूरी रहेको छ”, उनि भन्छन्।
तथ्यांकहरुका अनुसार अस्ट्रेलियामा डुबेर मृत्यु हुनेहरु मध्ये झन्डै २७ प्रतिशत विदेशी पर्यटक र आप्रवाशीहरु रहेका छन्।
अस्ट्रेलियाली पानीहरु बारे राम्रो ज्ञान नरहेका र समुन्द्रमा रहने रीपहरुको पनि पहिचान गर्न नसकेको कारण धेरै विदेशी पृष्ठभूमिका व्यक्तिहरु समस्यामा पर्ने विज्ञहरुको भनाइ छ।
सर्फ लाइफ सेभिंग न्यू साउथ वेल्सका कार्यकारी प्रमुख स्टिभेन पियर्स भन्छन कि अस्ट्रेलियामा नयाँ आएकाहरुले पानी नजिक झनै सतर्कता अपनाउन जरुरी रहेको छ।
“यदी तपाईंले कोहि व्यक्तिलाई आफु रहेको बीचबारे राम्रो ज्ञान नरहेको जस्तो लाग्छ भने तपाईंले उक्त व्यक्तिलाई सुरक्षित् रूपमा पौडी खेल्न मिल्ने स्थान वा लाइफ गार्ड कता छन् भन्ने पनि देखाउन सक्नुहुन्छ।“
साथै आगामी अस्ट्रेलिया दिवसको लामो सप्ताहअन्त्यको समयमा मानिसहरुले आफु र आफ्ना साथिहरुमाथि ध्यान दिन पनि जरुरी रहेको रोयल लाइफ सेभिंग सोसाइटीकि एमी पिडेन जोड दिन्छिन्।
“यदी तपाईंले धेरै मदिरा सेवन गर्नु भएको छ भने पानीमा नजानुस् र यदी तपाईंको साथिहरुले त्यसो गरेका छन् भने उनिहरुको हेरविचार गर्नुहोस्,” पिडेन भन्छिन्।




