कोरोना
नेपालले गत आईतबारदेखि कोरोना विरुद्धको खोप अभियानको दोस्रो चरणको शुरुवात गरेको छ, जस अन्तर्गत ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप दिइँदैछ।
यसै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा खोप लगाएका छन् र प्रधानसेनापति पुर्णचन्द्र थापाले पनि खोप लगाएका छन्।
यसअघि सरकारले यो चरणमा ५५ वर्ष माथिका नागरिक, विद्यालयका शिक्षक, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालकलाई पनि खोप लगाउने घोषणा गरेको थियो, तर पर्याप्त खोप नहुने डरले हाललाई ६५ वर्ष माथिका नागरिकलाई मात्रै खोप दिइएको हो।
हाल नेपालमा कोरोनाबाट संक्रमित मानिसको संख्या २७ लाख भन्दा बढी छ भने सकृय संक्रमितको संख्या १००० भन्दा कम छ। मृतकको संख्या ३००० भन्दा बढी पुगेको छ।

राजनीति – सत्तापक्ष
सर्वोच्च अदालतले सत्तारुढ दल नेकपाको एकीकरणलाई बदर गरेपछि आ आफ्नो दलमा फर्केका नेताहरुले दलमा निकै हेरफेर गरेका छन्।
एमाले पार्टीको अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले पार्टीको केन्द्रिय कमिटि र विभागीय प्रमुख लगायतका पदाधिकारीमा व्यापक हेरफेर गरेका छन्।
सत्तारुढ दल नेकपा फुट्दा माओवादी नेता प्रचण्डलाई साथ दिएका माधव नेपाल निकट थुप्रै नेतालाई उनले जिम्मेवारीबाट मुक्त गरेका छन्।
नेपाल निकटका नेतालाई उनले विभागीय प्रमुखको जिम्मेवारीबाट हटाएर आफु निकट नेताहरुलाई राखेका छन् भने पार्टीको केन्द्रिय कमिटिमा माओवादीबाट आएका २३ नेतालाई मनोनयन गरेका छन्।
साथै ७० वर्षीय प्रधानमन्त्री ओलीले पार्टीको विधानमा रहेको ७० वर्षे हदम्याद पनि हटाउने निर्णय गरेका छन। यसको विरोधमा नेपाल पक्षीय नेता भीम रावल भन्छन्, "हामी यो अनधिकृत, गुटगत, स्वेच्छाचारी, र नेकपा एमालेको विधान विपरीत जुन वहाँको काम छ, त्यसको हामीले विरोध गर्छौं। त्यसलाई हामी अस्वीकार गर्छौं। एउटा कुनै पार्टीको अध्यक्ष भएको व्यक्तिले यसरी खुलेआम पार्टीको विधान मिचेर, त्यसका सम्पूर्ण प्रावधान मिचेर जसलाई मन लाग्यो उसलाई मैले हटाइदिएको छु, जसलाई मन लाग्यो उसलाई राखिदिएको छु भन्ने कुरा, यो भन्दा निर्लज्ज कुरा केही पनि हुन सक्दैन भन्ने आएको छ।"
माधव नेपाल समूहले यी सबै कदमको विरोध गर्दै शनिबार प्रदर्शन गरेको छ, र पार्टीभित्र समानान्तर संरचना बनाएर पदाधिकारी पनि नियुक्त गरेको छ।
अदालतको फैसलाको असर माओवादी केन्द्रमाथि पनि परेको छ।

प्रचण्ड नेतृत्वको माओवादी पार्टीले सरकारमा रहेका आफ्ना नेतालाई सरकार छोड्न भनेको छ। हालको सरकारमा गृह मन्त्री रामबहादुर थापा सहित माओवादी केन्द्रबाट उर्जा मन्त्री टोपबहादुर रायमाझी, उद्योग तथा आपूर्ति मन्त्री लेखराज भट्ट, सहरी विकास मन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा, श्रम मन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा रहेका छन्।
यी मध्ये गृह मन्त्री रामबहादुर थापा सहित केहीलाई एमाले अध्यक्ष केपी ओलीले एमालेको केन्द्रिय कमिटिमा मनोनयन गरिसकेका छन्। यस बारेमा पनि ती नेतासँग माओवादी केन्द्रले स्पष्टिकरण मागेको छ।
राजनीति – प्रतिपक्ष
एमाले र माओवादीको एकता नरहेपछि एमाले एक्लैले सरकार बनाउने क्षमता नहुँदा वैकल्पिक सरकार निर्माणका लागि कांग्रेसले शेरबहादुर देउवालाई नेता चुनेको छ।
२७५ सीट रहेको प्रतिनिधिसभामा एमालेका १२१ सीट, नेपाली कांग्रेसका ६३ सीट, माओवादी केन्द्रका ५३ सीट र जनता समाजवादी पार्टीका ३४ सीट रहेका छन्।
कुनै पनि पार्टी एक्लै सरकार बनाउने अवस्थामा छैन, तर प्रधानमन्त्री ओलीको पार्टी एमालेलाई कुनै एक विपक्षी दलको समर्थन भए पुग्छ भने अरु दलले एमाले बाहेकका दुई दलसँग सहकार्य गर्नुपर्ने हुन्छ।
यसै क्रममा नेपाली कांग्रेसले प्रधानमन्त्री पदको उम्मेदवारका लागि देउवालाई चुनेर जनता समाजवादी पार्टीसँग पनि छलफल अघि बढाइरहेको छ।
मेलम्ची
बहुप्रतीक्षित मेलम्ची खोलाको पानी गत शनिबार काठमाण्डु आईपुगेको छ। करीब तीन दशकदेखि काठमाण्डुको पानीको आवश्यकता पुरा गर्नका लागि मेलम्चीको पानी काठमाण्डु ल्याउने वाचा हरेक राजनीतिज्ञले गरिरहेका थिए।
पानीका लागि सुरुङ निर्माण शुरु भएको १२ वर्षपछि शनिबार प्रधानमन्त्री केपी ओलीले एउटा बटन थिचेर यसको उद्घाटन गरेका हुन्। हेलम्बुबाट आउने मेलम्चीको पानी परीक्षणका क्रममा शनिबार सुन्दरीजलमा झारिएको हो।
पहिलो चरणमा फोहोर पानी आउने हुनाले पानी वाग्मती खोलामा खसालिएको छ। उद्घाटनका क्रममा प्रधानमन्त्री केपी ओली भन्छन्, "यो त कुरा मात्रै हुने हो कि, पानी नआउने हो कि काठमाण्डुमा, जस्तो भइसकेको थियो। कुरा हुँदा त मेरो कपाल कालै थियो त्यसबेला। कतै कालो बाँकी रहेन, काम सम्पन्न हुँदा। एउटा लामो सपना आज पुरा भएको छ। जतिबेला पायो त्यतिबेला लड्डु खाने होइन, लड्डु यस्तो बेलामा खानुपर्छ।"
यो आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाण्डु उपत्यकामा आउने छ भने उपत्यकाको दैनिक माग ४३ करोड लिटर रहेको छ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडले दैनिक आठ करोड लिटर पानी मात्रै पुर्याउन सकेको अवस्थामा मेलम्चीको पानीले केही राहत दिने उपत्यकावासीको अपेक्षा छ।

मातृभाषा मार्च
नेपालका सबै मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउने माग गर्दै शुक्रबार बृहत नागरिक आन्दोलनले ललितपुरको पाटनमा मातृभाषा मार्च गरेको छ।
गत महिना केही नेवाभाषीलाई आफ्नो भाषा बोलेपछि प्रहरीले दुर्व्यवहार गरेको सन्दर्भमा यस्तो प्रदर्शन गरिएको हो।
काठमाण्डुको बालाजुमा सरकारले नीजि जग्गा अतिक्रमण गरेर सडक बनाउने र घर भत्काउने गरेकोमा स्थानीयवासीले विरोध गर्दा उनीहरु मध्ये केहीलाई प्रहरीले गिरफ्तार गरेको थियो।
त्यसपछि प्रहरीले नेवा भाषा नबोल्न भनेको भन्दै प्रदर्शनकारीहरु आक्रोशित बनेका छन्।
यसै क्रममा बृहत नागरिक आन्दोलन, भाषिक अधिकार संघर्ष समिति, आदिवासी जनजाती महासंघ लगायतको सहभागितामा शुक्रबार मातृभाषा मार्च गरिएको हो।
नेपालमा १२३ वटा भाषा बोलिने पछिल्लो जनगणनाले देखाएको छ, र सरकारी कामकाजका लागि नेपाली र अंग्रेजी भाषा प्रयोग गरिन्छन्।
१२३ वटा भाषा मध्ये एक हजार भन्दा कम वक्ता भएका २१ वटा भाषा मृतप्राय मानिएका छन् भने ३३ वटा भाषा अति लोपोन्मुख र ३२ वटा लोपोन्मुख मानिएका छन्।
आधाभन्दा बढी भाषा जोखिममा भएको अवस्थामा सरकारले सबै मातृभाषालाई उत्तिकै मान्यता दिएर ती भाषामा प्राथमिक शिक्षा दिने र सरकारी कामकाजको भाषा बनाउने नीति लिएको छ, तर ती नीति कार्यान्वयन भने गरिएका छैनन्।




