नेपाल र चीनबीच विद्युतीय कार्गो रेल काठमाडौं ल्याइने लगायत १४ बुँदे सहमति र ८५ हजार भन्दा बढी विद्यार्थीले पाए आफ्नो एसईई परीक्षाफल- यी हुन् गत ७ दिनका नेपालका मुख्य समाचार|
सन् २०१९ सम्ममा कार्गो रेल काठमाडौं ल्याइने
नेपाल र चीनबीच विद्युतीय कार्गो रेल काठमाडौं ल्याइने लगायत १४ बुँदे सहमति भएको छ । ६ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
त्यसलगत्तै चिनियाँ प्रधानमन्त्री ली खछ्याङबीच गे्रट हल अफ पिपल्समा भएको वार्तामा रेलमार्ग निर्माण लगायतमा सहमति भएको थियो । जसमा विभिन्न तीन सम्झौता, सात समझदारी र चार आदान प्रदान कार्यक्रम रहेका छन् ।
रेलमार्गसम्बन्धी सम्झौतामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र चिनियाँ उपविदेशमन्त्री कङ वान यूले हस्ताक्षर गरेका थिए ।
चीनले सन् २०१९ सम्ममा कार्गो रेल केरुङ हुँदै काठमाडौंसम्म ल्याउने भएको छ । सामान ढुवानीको लागि नेपाली सीमा रसुवागढीदेखि काठमाडौंको ८० किलोमिटरमा रेलको लेन बिस्तारको लागि गृहकार्य सुरु भइसकेको छ ।
त्यस्तै चीनले सिन्धुपाल्चोकको तातोपानी र रसुवागढीमा मितेरीपुल निर्माणमा सहयोग गर्ने भएको छ । यस सम्बन्धी सम्झौतापत्रमा परराष्ट्र सचिव शंकरदास वैरागी र चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री कोङ झेङयूले हस्ताक्षर गरेका थिए।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र चीनको राष्ट्रिय ऊर्जा प्रशासनबीच ऊर्जा सहकार्य गर्ने विषयमा सहमति भएको छ । ऊर्जामन्त्री वर्षमान पुन र ऊर्जा प्रशासनका प्रशासक नुर बाइकेलीले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

..
गोला प्रथाबाट राष्ट्रियसभाका सांसदहरुको कार्यकाल तोकियो
गृहमन्त्री रामबहादुर थापा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको कार्यकाल छ वर्ष भएको छ । सोमबार राष्ट्रियसभाका ५९ जना सांसदहरुको कार्यकाल गोलाप्रथाबाट टुंगो लगाएको थियो ।
अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल २ वर्षको भएको छ । उनले गोला थुत्दा २ वर्ष कार्यकाल लेखिएको गोला थुतेका थिए ।
गोलाप्रथाबाट १९ जनाको दुई वर्ष, २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष पदावधि निर्धारण गरिएको थियो । सांसदहरु रमेशजंग रायमाझी, जितेन्द्र नारायण देव, खिमलाल भट्टराई, हरिराज चौधरी, सिंहबहादुर विश्वकर्मा, दिलकुमारी रावल, दीपा गुरुङ र अनिता देवकोटा लगायतको पदावलि ६ वर्ष हुनेछ ।
त्यस्तै परशुराम गुरुङ, सुमनराज प्याकुरेल, राधेश्याम अधिकारी, दीनानाथ शर्मा, चन्द्रबहादुर खड्का, खगेन्द्रप्रसाद पुरी, खिमकुमार बिक , रामलखन चमार, शशिकला दाहाल, उदया शर्मा पौडेल, कोमल वली र कान्ता बोगटी लगायतको पदावधि चार हुनेछ । राष्ट्रिय सभाका विपक्षी दलका नेता कांग्रेस सांसद सुरेन्द्र पाण्डेको पदावधि २ वर्षको भएको छ।
..
एसईई नतिजा सार्वजनिक
एसईई २०७४ को नतिजा शनिबार साँझ प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षाको नतिजा शनिबार साँझ प्रकाशित गरेको थियो।
परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले शनिबार पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गरेका थिए । २०७४ को एसईई परीक्षामा ७७ जिल्लाका १ हजार ९ सय ५६ केन्द्रबाट ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थीले परिक्षा दिएका थिए।

स्नायु शल्य चिकित्सक डा. देवकोटाको निधन
स्नायु शल्य चिकित्सक डा. उपेन्द्र देवकोटाको सोमबार साँझ बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको छ । पित्त थैलीको क्यान्सरबाट पीडित डा. देवकोटाको न्यूरो अस्पतालमा उपचार भइरहेको थियो ।
त्यसअघि बेलायतस्थित किंग्स अस्पतालमा ६ महिना उपचार गरेर गत वैशाख १५ मा उनी नेपाल फर्किएका थिए।
न्यूरो अस्पतालका प्रमुख कार्यकारी अधिकृत बसन्त देवकोटाका अनुसार ६५ वर्षे डा. देवकोटाको सोमबार निधन भएको थियो। डा. देवकोटाले वीर अस्पतालबाट स्नायु शल्य चिकित्साको विस्तार गरेका थिए।
वीर अस्पतालमा न्यूरो सर्जरी विभाग स्थापना गरेका उनले आफू स्वास्थ्य मन्त्री हुँदा वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा रुपान्तरण गरेका थिए।
उनका पत्नी र तीन छोरी छन्। उनको पार्थिक शरीरलाई मंगलबार पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा पत्नी मधु देवकोटा र तीन छोरीले बिदाइ गरेका थिए।

..
बास्केटबल टोली बंगलादेश प्रस्थान
नेपाली सिनियर बास्केटबल टोली फिबा एसिया कप २०२१ का लागि हुने साबा प्री क्वालिफायरमा सहभागी हुन शनिबार बंगलादेश प्रस्थान गरेको छ ।
नेपालसहित आयोजक बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्सले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका शीर्ष दुई स्थान हात पार्ने टिमले डिभिजन–बी अन्तर्गतको क्वालिफायरमा स्थान बनाउनेछ ।
केही महिनाअघि सम्पन्न बास्केटबल लिगमा खेलाडीले गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको थियो ।
नेपाली टोलीका प्रशिक्षक दिनेश नकर्मीसहित कप्तान सदिश प्रधान, सौरभ श्रेष्ठ, अजय कुशवाहा, विनोद महर्जन, दिवेश्वर शाह, राजीव जोशी, मविन्द्र भण्डारी, निश्चल महर्जन, मनेशराज राजोपाध्याय, मनीष केसी, विजय बुर्जा र आयुष सिंह बंगलादेश प्रस्थान गरेका थिए ।
..





