कोरोना
यो हप्ता नेपालमा कोरोना संक्रमित मानिसको संख्या २० हजार नाघेको छ भने मृत्यु हुने मानिसको संख्या ५० भन्दा बढी पुगेको छ। सीमानाकामा प्रवेश गर्ने मानिसहरुलाई अनिवार्य क्वारेण्टाइनमा राख्नुपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका छन्।
“स्थलमार्गबाट सीमानाकामा आएका व्यक्तिहरुलाई उक्त नाका रहेका गाउँ अथवा नगरपालिकाले स्वाब संकलन गरी रिपोर्ट नआउञ्जेल क्वारेण्टिनमा राख्नु हुन अनुरोध छ। सीमानाकामा भारतबाट आउने व्यक्तिहरुको स्याम्पल कलेक्सन पनि नगरीकन आआफ्नो ठाउँमा पठाएको भन्ने सूचना प्राप्त भएको छ। यस्तो नगर्नुहुन अनुरोध छ।”
बिराटनगरमा पहिलोपटक यात्रा नगरेका मानिसमा सामूहिक रुपमा कोरोनाको संक्रमण देखिएपछि नेपालमा कोरोनाको संक्रमण समुदायमा विस्तारको चरणमा पुगेको आशंका गरिएको छ।
वीरगञ्जमा पनि मेयर र सांसद लगायत ७० जना भन्दा बढी मानिसमा संक्रमण देखिएको छ, र साउन महिनामा १३ जनाको मृत्यु भइसकेको छ।
बिराटनगर, वीरगञ्ज, बारा र त्यसैगरी संक्रमण बढेका तराईका केही क्षेत्र पुर्णतया लकडाउन गरिएका छन्।
आवागमन
नेपालमा लकडाउन खुलेसँगै सवारी साधनको चाप र मानिसहरुको आवागमन बढेको छ। सार्वजनिक यातायातमा सरकारले छोटो दूरीका सवारी साधन मात्रै चल्ने अनुमति दिएको छ, र एक जिल्लाबाट अर्को जिल्लामा जान पाइँदैन।
तर पनि छोटो दूरीका विभिन्न साधन चढेर एक जिल्लाबाट अर्को जिल्लामा जाने क्रम बढेको देखिन्छ।विशेष गरी काठमाण्डु प्रवेश गर्ने साँगा जस्ता नाकामा भीडभाड देखिएको छ।
काठमाण्डु उपत्यकामा यसै हप्ता ३० जना भन्दा बढी संक्रमित देखिएका छन्, जसमध्ये अधिकांश विभिन्न नाकाबाट भित्रिएका थिए।

विद्यालय
सरकारले आगामी शैक्षिक सत्रमा पठनाठन अघि बढाउने र विद्यालयहरुमा राखिएका आइसोलेसन र क्वारेण्टाइन क्षेत्र हटाउने निर्णय गरेको छ।
यसको विवरण दिँदै सरकारका प्रवक्ता सञ्चार मन्त्री युवराज खतिवडा भन्छन्, “नयाँ शैक्षिक सत्रमा अध्ययन गर्ने विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन बाँकी भए उपलब्ध गराउने। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा जारी गर्ने। क्वारेण्टाइन र आइसोलेसनका रुपमा प्रयोग हुन छाडेका विद्यालय भवनलाई तोकिएको मापदण्ड बमोजिम स्थानीय तहले निर्मलीकरण गरी अध्ययन अध्यापन गर्न योग्य बनाउने।”
स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भदौ १ गतेदेखि विद्यार्थी भर्ना, तथ्याङ्क भराउने जस्ता शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरिएको खतिवडाले बताएका छन्।
शैक्षिक सत्रका गतिविधि सञ्चालनका लागि शिक्षकहरू भदौ १ गतेभित्रै सम्बन्धित विद्यालयमा पुगी सक्नुपर्नेछ।
विद्यालयमा विद्यार्थी आवागमनमा प्रतिकूल असर पर्नेगरी क्वारेन्टाइन र आइसोलेन नराख्नसमेत सरकारले आग्रह गरेको छ।

राप्रपा नेता कांग्रेस प्रवेश
राष्ट्रिय प्रजातन्त्र पार्टीका राप्रपाका ३१ जना नेताले पार्टीबाट राजीनामा दिएका छन् र ती मध्ये अधिकांशले नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन्।
राप्रपाका एकजना संस्थापक सुर्यबहादुर थापाका छोरा सुनीलबाबु थापा पनि त्यसमध्ये छन्।
नेपाली कांग्रेसले उनीहरुलाई स्वागत गरेको छ, र राप्रपाका नेताहरुले उनीहरुको आलोचना गरेका छन्। हाल सकृय रहेका राजनीतिक पार्टी मध्येको पुरानो राप्रपाले हिन्दु राष्ट्र नेपालको अवधारणालाई समर्थन गर्छ भने नेपाली कांग्रेस नेपालमा कम्युनिष्ट सिद्धान्त नमान्ने सबभन्दा ठुलो दल हो।
संघीय संसदका २७५ सीट मध्ये राप्रपाको १ सीट र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका ६३ सीट रहेका छन्।
नेपाली कांग्रेसले यसै हप्ता गोविन्दराज जोशी लगायत केही आफ्ना पुराना नेताहरुलाई निश्काषित पनि गरेको छ। र आफ्ना नेतामाथि कारवाही गरेर अर्को पार्टीका नेता भित्र्याउँदा नेपाली कांग्रेसका केही नेता असन्तुष्ट बनेका छन्।

चितवन चेपाङ
चितवन राष्ट्रिय निकुञ्जको कुसुमखोलामा चेपाङ समुदायका घर जलाएको र हात्ती लगाएर भत्काउन लगाएको प्रति राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले माफी मागेको छ।
गत हप्ता चितवनमा राष्ट्रिय निकुञ्जका पदाधिकारीले हात्तीको प्रयोग गरेर ८ वटा र आगो लगाएर २ वटा घर नष्ट गरेका थिए।
चितवनको कुसुमखोला क्षेत्रमा लामो समयदेखि चेपाङ परिवारहरु बस्दै आएका छन्, जसलाई सरकारले अतिक्रमित जग्गा मानेको छ।
भारी वर्षाका बीच घर मात्रै होइन, पैसा, नागरिकता जस्ता कागजात, र भण्डारण गरेका अन्न समेत नष्ट भएर त्यहाँका बासिन्दाको बिचल्ली भएको थियो। त्यसपछि सरकारी कदमको भारी अलोचना गरिएको थियो।
निकुञ्जले वन्यजन्तु र मानिसबीचको द्वन्द्व समाधान गर्नका लागि बस्ती सार्ने क्रममा मानवीय त्रुटि भएको भन्दै माफी मागेको छ।
इनफ इज इनफ
कोरोनाको व्यवस्थापनमा सुधार गर्नुपर्ने भन्दै लामो समयदेखि आन्दोलन गरिरहेका केही युवामाथि प्रहरीले धरपकड गरेको छ।इनफ इज इनफ नामक समूह अन्तर्गत आन्दोलन गरिरहेका केही युवालाई बुधबार प्रहरीले सिंहदरबारबाट गिरफ्तार गरेको थियो।
पक्राउ गरेपछि त्यसको कारण नदिइएको, अपहरण शैलीमा राखिएको, निर्मम र अमानवीय व्यवहार गरिएको, र सडकमा घिसार्दै फ्याँकिएको ती युवाले आरोप लगाएका छन्।
उनीहरुले आफ्नो अनसन जारी राखेका छन् र कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा लगायतका राजनीतिज्ञले यस हप्ता उनीहरुलाई भेटेर उनीहरुको मागप्रति ऐक्यबद्धता जनाएका छन्।
तर सरकारले भने उनीहरुको माग सम्बोधन गरेको छैन।
कोरोना रोकथाममा सरकारले लापरबाही गरेको, भ्रष्टाचार गरिएको र पर्याप्त मात्रामा पीसीआर परीक्षण नगरिएको भन्दै इनफ इज इनफ अभियानले विरोध प्रदर्शन गरेको हो।

मच्छिन्द्रनाथ
देशभरका जात्रा तथा धार्मिक भेलाहरु रद्द गरिएको अवस्थामा काठमाण्डुमा रातो मच्छिन्द्रनाथको रथारोहण भने गरिएको छ।
वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथलाई ललितपुरका हिन्दु र बौद्ध धर्मावलम्बीले विशेष पुजा अर्चना गर्दछन्।बैशाखमा हुँदै आएको मच्छिन्द्रनाथको जात्रा कोरोनाका कारणले निकै पछि सरिसकेको हो।
यसको रथ निर्माण गर्ने क्रममा कोरोनाका कारणले केही विवादित बनेको थियो।
तर यो वर्ष रथारोहण गर्नका लागि यो अन्तिम साइत भन्दै साबिकको भन्दा थोरै मानिसको सहभागितामा गत शनिबार रथारोहण गरिएको हो।
समारोहमा सयौं दर्शक उपस्थित भएता हजारौं मानिस सहभागी हुने रथजात्रा भने यो वर्षलाई स्थगित गरिएको छ।





