Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

चिनिया राजदूतको कम्युनिष्ट पार्टीहरू एक हुनुपर्ने भनाइ विवादित र भीषण वर्षाले ठुलो जन धनको क्षति: गत ७ दिन नेपालमा

Chinese ambassador to Nepal

Hou Yang Chi with Nepal's foreign minister source Hou's twitter page Source: Twitter/Hou Yang Chi

नेपालका लागी चिनिया राजदूतले देशका दुई कम्युनिष्ट पार्टीहरू एक आपसमा मिल्नु पर्ने बताउँदा केहीले उनको उक्त भनाइ नेपालको राजनीतिमा हस्तक्षेप गर्ने प्रयास भएको भन्दै आलोचना गरेका छन्। यी लगायत गत ७ दिनका नेपालका प्रमुख समाचारहरू।


कोभिड-१९ विरुद्ध थप खोपको माग

हाल कोभिड-१९ बाट प्रति दिन सङ्क्रमितको सङ्ख्या ७०० को हाराहारी रहेको छ। मृतकको सङ्ख्या यस शुक्रवार एक दिनमा ११ जना पुगेको थियो। यस्तै प्रति दिन १० हजार भन्दा बढी सक्रिय सङ्क्रमित देखिन थालेका छन्।

सङ्क्रमणको विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल भन्छन्

“अहिले हाम्रो देशभरको पछिल्लो तथ्याङ्कलाई हेर्दा मुगु र मुस्ताङ जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य देखिएको छ। यसै गरी अहिले ५६ जिल्लाहरूमा १ देखि १९९ सम्मको सङ्ख्यामा सक्रिय सङ्क्रमित रहेका छन्।”

अहिले देशभर चलिरहेको कोरोना विरुद्धको खोप अभियानको तथ्याङ्कको अनुसार नेपालको कुल जनसङ्ख्या मध्ये २८ प्रतिशतले पहिलो मात्रा लगाइसकेका छन् भने २१ प्रतिशतले दुवै मात्रा लगाएका छन्।

नेपालमा अक्टोबरको अन्त्यसम्म करिब १ लाख फाईजरको मात्रा पठाइने भनिएको छ भने जनसन एण्ड जनसनको बुस्टर खोप लगाउनुपर्ने कुरालाई अमेरिकाले जोड दिएसँगै यस खोप लगाएका एक लाखभन्दा बढी नेपालीहरूको निम्ति फेरि यो खोप आयात गर्नुपर्ने देखिन्छ। 

भीषण वर्षाले ठुलो क्षती

मनसुन सकिए लगत्तैको बेमौसमी भीषण वर्षाको कारण यस हप्ता देशभर मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुगेको छ भने बाढी पहिरोले गर्दा बेपत्ता हुनेमा ४१ जना रहेका छन्।

यसरी बाढी पहिरोको कारण हराएका व्यक्तिहरूको खोज सुरक्षाकर्मीहरूले अझै जारी राखेका छन्।

Nepal flood 2021
Source: Wikimedia Commons

यस्तै अहिले देशका विभिन्न ठाउँमा २ हजार भन्दा बढी घरहरू डुबानमा परेका छन् र ११ सय भन्दा बढी परिवार विस्थापित भएका छन्।

मनसुन सकिए लगत्तै शरद ऋतुमा भएको यस वर्षाको कारणले हजारौँ किसानहरूको बालीनाली पनि नष्ट हुन पुगेको छ। वर्षाको कारणले कोशी ब्यारेजको ५६ मध्य ४२ वटा ढोका खोलिएको छ।

बाँकेको घरेलु हिंसा सम्बन्धी छानबिन समिति गठन

बाँके जिल्लाका केही व्यक्तिहरूले दुई महिलामाथि भएको घरेलु हिंसाको विरुद्ध करिब १ महिना लामो प्रदर्शन र पहल गरेपछि सरकारले छानबिन समिति गठन गर्ने भएको छ। यस निर्णय सँग-सँगै उनीहरूले माइतीघर मण्डलामा बस्दै आएको अनसनलाई पनि स्थगित गरेका छन्।

यस लगत्तै यो आन्दोलनको नेतृत्व गर्दै आएकी रुबी खानले सञ्चारकर्मीसँग भनिन्:

“यदि यो समितिले सत्य तथ्य कुरा बाहिर ल्याउनमा कहीँ-कतै चुक गरिरहेको छ भने हामी त्यसको पुनः विरोधमा यो भन्दा कडा आन्दोलनमा उत्रिन चेतावनी सहित यहाँहरूमाझ सबै जनासँग अनुरोध गरिरहेका छौँ।”

बाँकेको जानकी गाउँपालिका वडा नं २ की ३८ वर्षीय नान्कुन्नी धोवी जुलाई २० मा आफ्नै घरमा शङ्कास्पद रूपमा मृत फेला परेकी थिइन्। यसै गरी त्यसै ठाउँकी ५२ वर्षीय निर्मला कुर्मी पनि सन् २०१० को जनवरीदेखि बेपत्ता छिन्।

कुर्मीको नाममा उल्लेखनीय जग्गा जमिन थियो र आफू लापता हुन भन्दा दुई वर्ष अगाडि करिब १ हप्ताको अन्तरालभित्र उनका दुई किशोर छोराहरूको हत्या भएको थियो।

तर यी विषयमा बारम्बार त्यहाँका महिला अधिकारकर्मी समूहका सदस्यहरूको विरोध पश्चात् पनि प्रहरीले यस सम्बन्धी कुनै ठोस कदम चालेन।

त्यसै कारण गत महिना त्यहाँकी स्थानीय अधिकारकर्मी रुबी खानको नेतृत्वमा गत हप्ता १२ महिला तथा २ पुरुष पैदल यात्रा गर्दै २० दिनको बाटो हुँदै काठमाडौँ आई पुगेका थिए। तर २ दिन नबित्दै प्रहरीले यस आन्दोलनलाई अवरोध गर्ने कोसिस गरेको थियो।

ओली सरकारले जस्तै देउवा सरकारले पनि महिला हिंसाको विरोधमा कुनै चासो नदेखाएको भनेर जनस्तरबाट आलोचना भएपछि सरकारको छानबिन समिति गठन भएको थियो। 

चीनकी राजदूतको दुई माओवादी पार्टीलाई मिल्न आग्रह

गत मङ्गलवार चिनिया राजदूत होउ यान्छीले नेपालमा दुई कम्युनिस्ट दलहरू एक आपससँग मिल्नुपर्छ भनेपछि चीनले नेपालको राजनीतिमा हस्तक्षेप गर्न खोजेको भनेर धेरैले आरोप लगाएका छन्।

कतिले भने नेपालको भलाइको निम्ति यस्तो भनिएको भनेर प्रतिक्रिया दिएका छन्।

उनले यो कुरा एक अनलाइन भर्चुअल कार्यक्रममा भनेकी थिइन्, जसमा चिनियाँ कम्युनिस्ट पार्टीको १०० वर्षको जयन्तीको अवसरमा नेपाली नेताहरू समेतको भनाई रहेको एक पुस्तकको विमोचन गरिएको थियो।

नेपाल र चीनबिचको सम्बन्ध एमाले र माओवादी सरकार भएको बेला सुदृढ भएको थियो। करिब दुई वर्ष अगाडि चीनका राष्ट्रपति सी जिङ्पिङ् पनि नेपाल भ्रमणको लागि काठमाडौँ आएका थिए।

 

राष्ट्र सङ्घमा आफ्नो ५० वर्ष मनाउँदै चिन द्वारा नेपाललाई कृतज्ञता

भर्खरै सम्पन्न भएको संयुक्त राष्ट्र सङ्घको सम्मेलनमा नेपालले चीनलाई १९७१ अक्टोबरमा पुनः सदस्यताको निम्ति समर्थन गरेकोमा चीनले कृतज्ञता व्यक्त गरेको छ।

राष्ट्र सङ्घमा चीनको सदस्यताको ५० औँ वर्ष पुरा भएको छ। नेपाली समकक्षी नारायण खड्कालाई मङ्गलवार चीनका विदेश मन्त्री वाङ यी ले टेलिफोन मार्फत यो गुनको लागि नेपाललाई चीनले सधैँ सम्झिरहने बताएका छन्। सन् १९४५ अक्टोबरमा चीन पनि राष्ट्र सङ्घको एक संस्थापक मुलुक थियो।

तर चीनमा जनगणतन्त्रको स्थापना भएपछि चीनलाई राष्ट्र सङ्घबाट हटाइएको थियो।    

 

प्रमुख न्यायाधीश गम्भीरआरोप

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि पूर्व प्रधान न्यायाधीशहरु र अदालतकै बार एसोसिएसनले केही गम्भीर आरोप लगाएका छन्।उनीहरूले राणालाई न्यायपालिकाको विश्वसनीयता जोगाउनको सट्टा आफै कानुन विपरीत कदम चालिरहेको आरोप लगाएका छन्।

हाल अध्यादेशद्वारा गरिएको संवैधानिक नियुक्तिको विरोधमा भएको रिटहरूको सुनुवाइ झन्डै ११ महिना पुगिसक्दा समेत सम्पन्न नभएको गुनासो गरेका छन्। 

यस्तै राणाले पत्नी हत्या अभियोगमा जन्मकैद भोगिरहेका एक व्यक्तिको सजाय काल घटाएको तथा संसदका सदस्य नै नरहेका आफ्नो जेठानलाई मन्त्री बनाउन खोजेको पनि आरोप लगाइएको छ।

यसै गरी स्वचालित प्रणालीबाट इजलास तोक्ने र त्यो कार्यान्वयनमा नआएसम्म गोला प्रथाबाट यस छनोट कार्यलाई सम्पन्न गर्ने प्रस्तावलाई अगाडी बढ्न नदिएको भन्दै राणाको आलोचना भइरहेको छ। 

पूर्व न्यायाधीशहरुले न्यायपालिकाको मर्यादामा आँच आउने स्थिति आइपरेमा न्यायधिशहरु आफैले यसको रक्षाको निम्ति अग्रसर हुनुपर्ने कुरा गरेका छन्, जसमा प्रधान न्यायाधीशलाई समेत कारबाही गर्नुपरेमा पछि नहट्नुपर्ने सन्देश दिएका छन्।

 


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now