मुख्य बुँदा
- जरिमाना नतिर्दा, यसमा अतिरिक्त रकम थपिँदै जाने, लाइसेन्स रद्द हुने वा सम्पत्ति समेत जफत हुन सक्छ।
- आपराधिक गतिविधि अन्तर्गत जरिमाना गरिने भएकाले यसका विरुद्ध अदालतमा जाँदै हुनुहुन्छ भने कानुनी सल्लाह जरुरी मानिन्छ।
- राज्य अर्न्तगतका सरकारी एजेन्सी मार्फत जरिमाना तिर्ने विकल्पहरू उपलब्ध हुन्छन्।
अस्ट्रेलियामा कानून उल्लङ्घन गरेका कतिपय घटनामा 'फाइन' भनिने जरिमाना आउनु स्वाभाविक मानिन्छ।
तर जरिमाना नर्तिदा के हुन्छ भन्ने बारेमा सबैलाई थाहा नहुन सक्छ।
विशेष गरी सडक र सार्वजनिक सवारीका नियमहरू पालना नगर्दा जरिमाना आउने गर्दछ।
तीव्र गतिमा सवारी चलाउँदा, सिट-बेल्ट नलगाउँदा, जहाँ पायो त्यही पार्किङ गर्दा वा अन्य विभिन्न खाले नियम उल्लङ्घन गर्दा पनि जरिमाना आउन सक्छ।
यस बाहेक बस वा ट्रेनमा बिना टिकट चढ्दा पनि सम्बन्धित अधिकारीहरूले जरिमाना गर्न सक्छन्।
सडक प्रयोग गरे बापत तिर्नु पर्ने 'टोल' नतिर्दा पनि जरिमानाको भागीदार हुनु पर्दछ।
वलँगङ्ग विश्वविद्यालयकी कानून विषयकी प्राध्यापक जुलिया क्विलटर अस्ट्रेलियामा विभिन्न एजेन्सीहरूले जरिमाना लगाउन सक्ने बताउँछिन्।
“हाम्रा जीवनका धेरै कुराहरू नियम भित्र बाँधिएका हुन्छन् र ती कुराहरूलाई पेनाल्टी नोटिस वा फाइन मार्फत नियमन गरिएका हुन्छन्।” उनले भनिन्।

जुरी ड्युटीमा नजानु, सार्वजनिक स्थानमा अपशब्दहरू बोल्नु, भोट हाल्न नजानु, जहाँ पायो त्यही फोहर फाल्नु वा निषेध गरिएको ठाउँमा धूम्रपान गर्दा पनि जरिमाना आउन सक्ने प्राध्यापक क्विलटरको भनाई छ।
अपराधको प्रकृति र स्थान हेरेर सम्बन्धित सरकारी एजेन्सीहरूले जरिमानाको नोटिस पठाउने गर्दछन्।
जरिमाना सहितको पत्र आएपछि के के विकल्प उपलब्ध हुन्छन्?
सामान्यतया यस्ता जरीमानका चिठ्ठी प्राप्त भएपछि, त्यहाँ दिइएको निर्देशन अनुसार तोकिएको रकम तिर्ने वा यसका बारेमा पुर्न विचार गर्नका लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने विकल्प हुन्छन्।

यस बाहेक जरिमानालाई चुनौती दिँदै अदालतमा समेत जान सकिन्छ।
डाक्टर क्विलटरका अनुसार अधिकांस मानिसहरू जरिमानाका विरुद्ध अदालत जान चाहँदैनन् किनकि जरिमाना बिना कारण आएको हो भनेर अदालतमा पुष्टि गर्न निकै गार्हो हुन्छ।
यसबाहेक अदालतमा गइसकेपछि अपराधीक रेकर्ड पनि बस्ने भएकाले मानिसहरू अदालतमा गएर चुनौती दिन चाहँदैनन्।
“कति मानिसहरूले फाइनलाई सामान्य बिल जस्तै हो भनेर सोच्ने गर्दछन्, तर यी सब अपराध भित्र पर्दछन्, केही देशमा यसलाई प्रशासनिक कारबाही वा दण्डका रूपमा मात्र लिइने भएकाले सबैले यसका बारेमा बुझ्नु जरुरी छ,” उनले भनिन्।
न्यु साउथ वेल्सको लिगलएड अन्तर्गत जरिमाना र कार्य विकास सम्बन्धी वकिल क्रिस्टी हेरीसन् अस्ट्रेलियामा भिसामा रहेका मानिसहरूले जरिमाना सम्बन्धी विषयमा अदालतमा चुनौती दिँदा विशेष ध्यान राख्नु पर्ने बताउँछिन्।
किनकि उनीहरूले अदालतमा मुद्दा जितेनन् भने, भिसामा रहेका चारित्रिक नियम वा सर्तहरू मिचिन सक्छ र अप्ठेरो पर्न सक्छक्रिस्टी हेरीसन्
जरिमाना लगाउने निकायहरूले तिर्ने विकल्पहरू प्रदान गदर्छन, जस्तो कि सबै रकम एकै पटक नतिरेर किस्तामा पनि तिर्न सकिन्छ।
न्यु साउथ वेल्समा रेभीन्यु एनएसडब्लु मार्फत विकल्पहरू पाउन सकिन्छ।
तर मुख्य कुरा के हो भने, जरिमाना आएको छ भने यसलाई बेवास्ता चाहिँ गर्नु हुँदैन, सहयोग चाहिएमा स्थानीय स्तरमा उपलब्ध कानुनी परामर्श केन्द्र वा न्यु साउथ वेल्समा भएकाले लएक्सिसमा पनि सर्म्पक गर्न सक्छन्।

जरिमाना नतिरे के हुन्छ?
यदि जरिमाना तिरिएन भने कालान्तरमा अन्य शुल्क जोडिँदै जान्छन् र यो रकम बढ्दै जान्छ।
भिक्टोरिया राज्यको कुरा गर्ने हो भने चाहिँ यदि कसैले जरिमाना तिरेन भने अतिरिक्त शुल्क त थपिन्छ नै, कारबाही स्वरूप बैकबाट पैसा काट्ने वा सम्पत्ति जफत समेत हुन सक्छ।
फाइन्स भिक्टोरियाका कार्यवाहक सह-सचिव क्रेग हवार्ड जरिमाना नतिर्नेका हकमा विभिन्न कारबाही अगाडी बढाइने बताउँछन्।
“कारबाहीका विभिन्न प्रकार हुन सक्छन्, जस्तै कि सरकारी कर्मचारीले तपाईँको गाडीको व्हिल लक पनि गर्न सक्छन्,” उनले भने।
“यस बाहेक फाइन्स भिक्टोरियाले यातायात अधिकारीलाई चिठी लेखेर ड्राइभर लाइसेन्स रद्द समेत गर्न सक्छन्।”
नियम उल्लङ्घनका घटनामा सामान्यतया फाइन नर्तिर्नेहरुको लाइसेन्स निलम्बन वा रद्द हुन सक्छ।

“र यस्तो अवस्था जुनसुकै जरिमानाको हकमा पनि लागु हुन्छ,” ह्यारिसन् भन्छिन्।
सवारी साधन सम्बन्धी नियम उल्लङ्घनका घटनामा आएको जरिमानामा मात्र यो लागु हुने होइन, जस्तो कि भोट हाल्न जानु भएन, यस बापत आएको जरिमाना तिर्नु भएन भने पनि तपाईँको लाइसेन्स रद्द हुन सक्छक्रिस्टी ह्यारिसन्
जरिमाना नर्तिदा युवा उमेरका मानिसलाई झनै बढी प्रभावित बनाउन सक्छ।
जस्तो कि डाक्टर क्विलटरका अनुसार फाइन नबुझाएको अवस्थामा डाइभिङ लाइसेन्स निकाल्नै अप्ठेरो पर्न सक्छ।
“फाइन तिर्नका लागि अभिभावकले नै जिम्मेवारी लिनु पर्छ,” उनले भने।
तर जरिमाना तिर्ने विषयमा अलि चलाख पनि हुनु पर्ने अधिकारीहरूको भनाई छ।
जस्तो कि आफ्नो नामको सवारी अरू कसैले चलाएको छ र फाइन आयो भने, उक्त चलाकको नाम जरिमानाका लागि सिफारिस गर्न २८ दिनको समय सीमा दिइन्छ।

तर २८ दिन भित्र नाम सिफारिस गर्न सकिएन भने, त्यो विकल्प वाकी हुँदैन र अतिरिक्त शुल्क पनि जोडिएर आउँछ।
फाइन तिर्नका लागि रिमाइन्डर नोटिस आयो र त्यसको पनि बेवास्ता भयो भने कारबाहीका लागि जान्छ, जसको परिणाम लाइसेन्स रद्द वा अन्य कारबाही हुन्छक्रेग हवार्ड
हर्वाड जरिमाना सम्बन्धी कुनै चिठ्ठी वा नोटिस आयो भने यसलाई छिट्टै टुङ्ग्याउन सुझाव दिन्छन्।
चाहे त्यो पुरा रकम तिर्ने कुरामा होस, विकल्प खोज्ने या चाहे यसका विरुद्धमा अदालत जाने, छिटो गर्दा अनावश्यक झन्झटबाट बच्न सकिन्छ।

के तपाईँलाई पनि फाइन आयो? आफू बसेको राज्य अनुकूल तलको लिङ्कमा गई सम्बन्धित निकायका बारेमा जान्नुहोस्।




