के व्यवसायहरूले कोभिड-१९ को खोप नलगाएका मानिसहरूलाई सेवा दिन मनाही गर्लान् त?

Bar staff in Prahran, Melbourne, in October 2020.

Bar staff in Prahran, Melbourne, in October 2020. Source: Getty Images

अस्ट्रेलिया सरकारले आउँदो फेब्रुअरी महिनामा वितरण गर्न सुरु गर्ने कोभिड-१९ खोपलाई सबैको लागि अनिवार्य नगर्ने बताउँदै आएको छ। तर यसले निजी व्यवसायहरूलाई खोप नलगाएका मानिसहरूलाई आफ्नो परिसर भित्र आउन मनाही गर्नबाट नरोक्ने वकिलहरू बताउँछन्।



मुख्य विषयहरू:

  • अस्ट्रेलिया सरकारले कोभिड-१९ विरुद्धको खोपलाई अनिवार्य बनाउला त?
  • सरकारले खोप लगाउन अनिवार्य नबनाएमा पर्याप्त सङ्ख्यामा मानिसहरूले खोप लगाउलान् त?
  • के व्यवसायहरूले भ्याक्सिन नलगाएका मानिसहरूलाई सेवा नदिने सर्त बनाउलान्?

मध्य फेब्रुअरीदेखि अस्ट्रेलियामा कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिने अनुमान गरिएको छ।

संघीय सरकारले खोपलाई अनिवार्य नबाउने भने तापनि राज्य सरकार तथा निजी व्यवसायहरूले आफूलाई उचित हुने किसिमका अन्य नियमहरू लागु गर्न सक्ने छन्।

व्यवसायहरूले खोप नलगाएका मानिसहरूलाई आफ्नो परिसरमा छिर्न नदिने फैसला लिएमा आफूले त्यस कदम प्रति सहमति जनाउने न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेजिक्लियनले सोमबार बताएकी हुन्।

त्यसो भए, मानिसहरूलाई खोप लगाउन प्रोत्साहन गर्नका लागि सरकार र व्यवसायहरू कुन हदसम्म जान सक्छन् त?

अस्ट्रेलिया सरकारले कोभिड-१९ विरुद्धको खोपलाई अनिवार्य बनाउला त?

प्रधान मन्त्री स्कट मोरिसनले खोप लगाउन अनिवार्य नहुने बताउँदै आए तापनि, कानुनी रूपमा भने यसलाई अनिवार्य बनाउने अधिकार सरकारसँग हुन्छ। 

र सरकारले यसो गरेमा, यो अस्ट्रेलियाको इतिहासमा पहिलो पटक हुने छैन।

82-year-old Brian Pinker receives the Oxford University/AstraZeneca COVID-19 vaccine in Britain.
82-year-old Brian Pinker receives the Oxford University/AstraZeneca COVID-19 vaccine in Britain. Source: AAP

१९सौँ शताब्दीमा स्मल पक्सको महामारी हुँदा, अस्ट्रेलिया सरकारले त्यसको खोपलाई अनिवार्य बनाएको थियो। र सन् १९७९ मा स्मल पक्स विश्वमै पहिलो पटक उन्मूलन गरिएको पहिलो सङ्क्रामक रोग बन्न पुगेको थियो।

तर मानिसहरूलाई खोपको प्रभावकारिताको बारेमा ज्ञान हुँदै गए पछि त्यसलाई अनिवार्य बनाउन आवश्यक नभएको सिड्नी विश्वविद्यालयको स्वास्थ्य कानुन र नैतिकताका प्राध्यापक क्यामरन स्टुवार्ट बताउँछन्।

कोरोना भाइरसबाट सुरक्षित रहनका लागि समग्र जन सङ्ख्याको ६० देखि ७० प्रतिशत मानिसहरूले खोप लगाउनु पर्छ भन्ने हामीलाई थाहा नै छ।

सरकारले खोप लगाउन अनिवार्य नबनाएमा पर्याप्त सङ्ख्यामा मानिसहरूले खोप लगाउलान् त?

यस सन्दर्भमा राज्य सरकार र व्यवसायहरूले आफ्नो भूमिका निभाउने छन्।

रोजगार स्थल तथा अन्य सेवाहरूले खोप लगाएका मानिसहरूलाई मात्र सेवा प्रदान गर्ने नियम बनाएमा मानिसहरूले खोप लगाउनै पर्ने हुन्छ।

केही पेसाहरूमा खोप लगाउनु पर्ने अनिवार्य नियम हुन्छ - जस्तै, स्वास्थ्य सेवा कार्यकर्ताहरूले वार्षिक रूपमा फ्लु शट लिनु पर्ने हुन्छ, र वधशालाहरूका कर्मचारीहरूले क्यु फिभर विरुद्धको खोप लिन पर्ने हुन्छ, जुन एक किसिमको ब्याक्टेरिया सङ्क्रमण हो।

यी सबै बीच, गत वर्ष क्वान्टास एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत एलान जोइसले आफ्नो वायुसेवामा अन्तराष्ट्रिय यात्रा गर्न चाहने मानिसहरूले कोभिड-१९ विरुद्धको खोप लगाएको प्रमाण देखाउनु पर्ने बताएका थिए।

व्यवसायहरूले यस प्रकारका नियमहरू लागु गरेमा यसले थुप्रै मानिसहरूलाई खोप लगाउन प्रोत्साहन गर्ने प्राध्यापक स्टुवार्ट बताउँछन्।

Small businesses in in Australia (Image representational)
Small businesses in Australia (Image representational) Source: SBS

के व्यवसायहरूले भ्याक्सिन नलगाएका मानिसहरूलाई सेवा नदिने सर्त बनाउलान्?

त्यसो भए, कोरोना भाइरसको खोप नलगाएका मानिसहरूलाई सेवा नदिन व्यवसायहरूलाई कानुनले अनुमति दिन्छ त?

मोनाश विश्वविद्यालयका सहायक प्राध्यापक ल्युक बेक, संवैधानिक कानुनका विशेषज्ञ हुन्। व्यवसायहरू सँग आफ्नो परिसरमा को छिर्न पाउँछ र पाउँदैनन् भन्ने सन्दर्भमा सर्तहरू राख्न अधिकार हुने उनी बताउँछन्, तर ती कुनै किसिमका भेदभावमा भने आधारित हुनु हुँदैन।

जसरी देशभर मास्क लगाउने सन्दर्भमा केही स्वास्थ्य समस्या भएका मानिसहरूले मास्क लगाउन अनिवार्य छैन, त्यस्तै, खोपको विषयमा पनि व्यवसायहरूले स्वास्थ्य कारणले खोप लगाउन नमिल्ने मानिसहरूलाई विशेष छुट दिन सक्छन्।

र यस्ता नियम लागु गर्नु भन्दा अघि मानिसहरूलाई खोप लगाउन पर्याप्त समय दिनु पनि अर्को चुनौती हुने सहायक प्राध्यापक बेक बताउँछन्।

अग्र मोर्चामा कार्यरत कर्मचारीहरू र कमजोर स्वास्थ्य भएका मानिसहरूलाई आउँदो फेब्रुअरी महिनादेखि खोप लगाउन सुरु गरिने छ, अन्य जन सङ्ख्यामा त्यस पछि प्रक्रिया सुरु हुने छ।

कोरोना भाइरस महामारीको लागि सरकारले लागु गरेका स्वास्थ्य तथा सहयोग सेवाहरूको बारेमा जान्न sbs.com.au/coronavirus मा जानुहोस्।


अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस् । न्यू साउथ वेल्स, भिक्टोरिया, क्विन्सल्याण्ड, वेस्टर्न अस्ट्रेलिया, नदर्न टेरीटरी, एसीटी, तास्मेनिया।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now