करिब एक लाख प्लास्टिकका झोलाहरू प्रयोग गरेर काठमान्डूमा नेपाली युवाहरूको एक समूहले प्रतीकात्मक मृत सागर बनाएका छन्।
संसार भरिका सागरहरूमा बढ्दै गएको प्लास्टिकजन्य सामाग्रीहरू तथा त्यसले निम्त्याएको प्रदूषणबारे जनचेतना निर्माण गर्ने तथा विश्व किर्तिमान राख्ने हेतुले नेपाली युवाहरूको एक समूहलेउक्त कार्यक्रम आयोजना गरेका हुन्।
विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित क्षेत्रमा विशेष रुचि भएको स्टेम फाउन्डेसन नामक एक संस्थाले दर्जनौँ स्वयंसेवकहरूको सहयोगमा काठमान्डूको टुँडिखेलमा उक्त प्रतीक निर्माण गरेका हुन्।
२० मिटर लामो एवं ५ मिटर अग्लो फलामको ढाँचामा करिब एक लाख रङ्गीचङ्गी प्लास्टिकका झोलाहरूलाई मृत सागरको आकृतिमा दर्जनौँ स्वयंसेवकहरूले काठमान्डूको टुँडिखेलमा उक्त प्रतीक निर्माण गरेका हुन्।

एउटा मृत सागर नै हाम्रो निम्ति काफी छ भन्ने मूल नारा रहेको उक्त कार्यक्रम विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित क्षेत्रमा रहेर काम गर्ने स्टेम फाउन्डेसन नेपाल नामक एक संस्थाले आयोजना गरेको हो।
विश्वमा प्लास्टिक उत्पादन तीव्र गतिमा बढेको छ र हाल वार्षिक रूपमा करिब ४०० करोड टन प्लास्टिक उत्पादन भइरहेको तथ्याङ्क छ।
एउटा अनुमान अनुसार, करिब २ देखि ५ प्रतिशत प्लास्टिक स-साना कणमा परिणत हुँदै विश्वका अनेकौँ सागर तथा महासागरहरूमा पुग्ने तथा त्यहाँ रहेका जलचरहरूलाई हानि पुर्याउने गरेका छन्।
स्टेम फाउन्डेसनका सर्जन बीसीले आफ्नो अभियान बारे भने, "हाम्रो यो सानो प्रयासले शायद अर्को कुनै सागर मृत सागरमा परिणत हुनबाट जोगियोस् भन्ने आसा राखेका छौँ। "

यो प्रतिक निर्माण गर्न १५० भन्दा बढी स्वयंसेवकहरुले महिनौंसम्म विभिन्न विद्यालय तथा अन्य सार्वजनिक स्थानहरुबाट प्लास्टिकहरु सङ्कलन गर्दै मिलाएका थिए।
मृत सागर को प्रतिमा निर्माण गर्ने स्वयंसेवकहरूमा २० वर्षीय प्रकृति पाण्डे पनि एक थिइन्।
उनले भनिन्, "मैले ह्वेल माछा भित्र पनि प्लास्टिक पाइएको समाचार सुनेकी थिएँ। त्यस कारण मलाई केही गर्नुपर्छ भन्ने लाग्यो र संसार अनि यहीँ नेपालमा पनि यसबारे चेतना अभिवृद्धि होस् भनेर यहाँ भाग लिन आएकी हुँ।"
[videocard video="1376103491909"]
गिनिज विश्व रेकर्डस्का अनुसार अहिलेसम्म सबैभन्दा धेरै प्लास्टिकका झोलाहरू प्रयोग गरेर संसारमा बनाइएको संरचनामा सन् २०१२ को अप्रिल महिनामा करिब २०० भन्दा बढी सिङ्गापुरका स्वयंसेवकहरूले बनाएको अक्टोपस पर्दछ।
उनीहरूले त्यो विशाल अक्टोपस बनाउन ६८,००० प्लास्टिकका झोलाहरू प्रयोग गरेका थिए।
नेपालका आयोजकहरूका अनुसार त्यहाँ बनाइएको संरचनाको भिडियो प्रमाण स्वरूप गिनिज विश्व रेकर्डस् कहाँ पठाइने छ।
[videocard video="1248337987579"]





