वुहानमा रहेका नेपालीहरुको उद्धारमा किन ढिलाइ भएको भन्दै अभिभावकहरु स्वास्थ्य मन्त्रालय पुगे र सरकारी जग्गा हिनामिना गरेर नीजि बनाएको प्रकरणमा संलग्न भएको आरोपमा नेता र सरकारी अधिकारी सहित १७५ जना विरूद्ध मुद्दा दर्ता भएको लगायत गए ७ दिनका मुख्य समाचार यहाँ सुन्नुहोस्।
कोरोना
कोरोना भाइरस संक्रमणको केन्द्र चीनको वुहानबाट नेपाली नागरिकले आफूलाई उद्धार गर्न नेपाल सरकारसँग अपील गरेका छन् तर सरकारले उद्धारकार्यमा ढिलाइ गरिरहेको छ।
वुहानमा झण्डै २०० नेपालीले नेपाल फिर्ता आउन ईच्छुक भएको बताएका छन्।
उनीहरूलाई फिर्ता ल्याउनका लागि सरकारले एउटा विमानको व्यवस्था गरेको बताएको छ र शिवपुरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गरिरहेको छ।
प्रधानमन्त्री केपी ओलीले समेत उनीहरूलाई फिर्ता ल्याउने आदेश दिइसकेका छन्।
तर उद्धारमा किन ढिलाई भइरहेको छ भन्दै वुहानमा भएका नेपाली विद्यार्थीका अभिभावकहरू स्वास्थ्य मन्त्रालय पुगेका छन् र सरकारलाई विद्यार्थीको चाँडै उद्धार गर्न आग्रह गर्दै ज्ञापनपत्र दिएका छन्।
एकजना अभिभावकले भनिन्: "तुरून्त फर्काइदिनु हाम्रा बच्चाहरूलाई। हाम्रा साना साना ७ वर्षका, २ वर्षका बच्चा पनि छन् गएका। अस्तिनै ल्याइदिएको भए कति आनन्द हुन्थ्यो। दिनदिनै बिरामी भए भने के गर्ने हामीले?"
सरकारले यो समस्यालाई बेवास्ता गरेर उद्धारको नाटक मात्रै गरिरहेको समेत उनीहरूले आरोप लगाएका छन्। चीनले भने आफू सबै विदेशी नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएको आश्वासन दिइरहेको छ।

किमाथांकामा कोरोनाको असर
कोरोना भाइरसका कारण चीनले नेपाल आउने नाका किमाथांका बन्द गरेपछि त्यहाँका स्थानीयबासीलाई मर्का परेको छ।
संखुवासभा जिल्लाको किमाथांका निवासी मानिसहरू तिब्बती बजार चाँगाबाट सामानहरू खरीद गर्थे। अहिले त्यो बाटो बन्द भएपछि भोटखोला गाउँपालिकाले खाद्यान्न किनेर सदरमुकाम खाँदबारीमा राखेको छ र त्यसलाई सेनाको हेलिकप्टरले गाउँसम्म ढुवानी गरिरहेको छ।
नुन, तेल, चामल जस्ता अत्वाश्यक सामग्रीको अभाव भएपछि सीमाक्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बनेको छ।
ललिता निवास
सरकारी जग्गा हिनामिना गरेर नीजि बनाएको प्रकरणमा संलग्न भएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १७५ जना विरूद्ध मुद्दा दर्ता गरेको छ जसमा थुप्रै नेता र सरकारी अधिकारीहरू परेका छन्।
बालुवाटारको ललिता निवास नामले चिनिने जग्गा सरकारले अधिग्रहण गरिसकेको भुमिसुधार मन्त्री पद्मा अर्यालले बताएकी छिन्। तर त्यो जग्गा थुप्रै व्यक्तिका नाममा नामसारी गरिएको पाइएको छ।
यसै क्रममा जग्गाधनी र मोही देखिएका मानिसहरूमाथि अख्तियारले मुद्दा दर्ता गरेको हो। नेपाली कांग्रेसका नेता विजय गच्छेदार पनि त्यसमा परेका छन्।
तर नेकपा महासचिव विष्णु पौडेल र तत्कालीन प्रधानमन्त्रीहरू बाबुराम भट्टराई र माधव नेपालको उल्लेख नहुनु बदनियतपुर्ण र राजनीतिक पूर्वाग्रहका आधारमा गरिएको भएको भन्दै कांग्रेसले सदन अवरूद्ध गरेको छ। कांग्रेसकी प्रमुख सचेतक पुष्पा भुषालले सदनमा भनिन:
"यसरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजनीतिक प्रतिशोधको आधारमा मुद्दा दायर गर्न मिल्छ? यसबाट पुष्टि भएको छ अख्तियार दुरूपयोग अनुसन्धान आयोग जस्तो संवेधानिक अंग पनि सरकारको लाचार छाया बनको भन्ने कुरा पुष्टि भएको छ सभामुख महोदय।"
न्यायाधीश कुमार रेग्मी र नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेलले भने आफ्नो नाममा भएको जग्गा सरकारलाई फिर्ता गर्न राजी भएपछि उनीहरूको उल्लेख नगरिएको बताइएको छ।

माया बिक फैसाला
कैलालीको मसुरियाकी युवती माया बिकको बलात्कार गरी हत्या गरेको आरोपमा चार जनालाई जन्मकैद फैसला भएको छ ।
कैलाली जिल्ला अदालतले थप एक जनालाई पाँच वर्षको कैद सजाय हुने फैसला गरेको छ। गत वर्ष असार १२ गते बिक हराएकी थिइन र असार १५ गते वनमा उनको शव भेटिएको थियो।
प्रहरी अनुसन्धानपछि उनको बलात्कार र हत्या गरिएको पत्ता लागेको थियो।
गौरीगंगा नगरपालिकाको सामाजिक परिचालक बिक विपन्न परिवारकी दलित युवती थिइन्।
गत वर्ष निर्मला पन्ताको बलात्कार र हत्याको विरोधले अभियानको रूप लिएपछि बलात्कारका अरू पनि मुद्दाहरू प्रकाशमा आएका थिए। ती मध्ये बिकको मुद्दा पनि एक थियो, तर निर्मला पन्त अभियानका लगाडि बिक जस्ता अरू मुद्दाहरू छायामा परेको पनि कतिले आलोचना गरेका थिए।
नेपालमा वर्षेनी १,६०० भन्दा बढी बलात्कारका घटना दर्ता गरिन्छन् तर ती मध्ये करीब एक चौथाइमा मात्रै पीडितको पक्षमा फैसला हुने गरेको छ।
गैंडा
चितवनमा गैंडाहरू असमयमै मर्ने क्रम बढेपछि वन्यजन्तु संरक्षकहरू चिन्तामा परेका छन्। जंगली अवस्थामा नै गैंडा भेटिने संसारका दुइ ठाउँ मध्ये नेपाल एक हो।
नेपालमा ६०० भन्दा बढी गैंडा छन् जुन विश्वकै वन्यजन्तु विविधताका लागि महत्वपुर्ण छन्।
यसै वर्ष साउनयता १५ गैंडाको मृत्यु भइसकेको छ। पछिल्लो घटनामा शनिबार पाँच महिनाको पोथी गैंडा मृत भेटिएको थियो। गैंडाको औसत आयु ४० देखि ७० वर्ष हुन्छ भने अधिकांश मृत्यु हुने गैंडाहरूको आयु १५ देखि २० वर्ष बीचको थियो।
विषादी भएको घाँसपात खाएर केही गैंडाको मृत्यु भएको अनुमान गरिएको छ। केही वर्षयता नेपालले गैंडाको चोरी शिकारी नियन्त्रण गरेको छ तर कालगतिले मर्ने गैंडाको संख्या बढेपछि निकुञ्ज विभागले मृत्युको कारण अध्ययन गर्न समिति बनाएको छ ।
राना थारू
आफूलाई छुट्टै जातिको मान्यता दिनुपर्ने राना थारू जातको अभियान सफल भएको छ। सोमबार मन्त्रिपरिषदले राना थारुलाई छुट्टै जातमा सूचीकरण गर्ने निर्णय गरेको हो।
नेपालमा यसभन्दा अघि ५९ जातिहरू सुचीकृत थिए र अब ६० पुगेका छन्।
आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन अनुसार छुट्टै मातृभाषा, परम्परागत रीतिरिवाज, सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको जाति वा समुदायलाई ‘आदिवासी/जनजाति’ भनिन्छ।
नेपालमा करीब ३ लाख ५० हजार राना थारू रहेको अनुमान छ।





