कोरोना
यस हप्ता नेपालमा कोरोना सङ्क्रमित मानिसको सङ्ख्या प्रतिदिन डेढ सय भन्दा कम रहेको छ भने मृतकको सङ्ख्या १० भन्दा कम भएको छ।
गत हप्ता भन्दा कोरोनाको सङ्क्रमण दर कम भएको देखिन्छ। यस हप्ता सम्ममा नेपालमा २४ प्रतिशत भन्दा बढीले खोपको पहिलो मात्रा र २८ प्रतिशत भन्दा बढीले पूर्ण मात्रा लगाइसकेका छन्।
मालदिभ्स सरकारले २ लाख भन्दा बढी अस्ट्राजेनेका खोप नेपाललाई दिएको छ भने चीनले पनि १६ लाख डोज भेरोसेल नेपाललाई दिएको छ।
नेपाल सरकारले पहिलो पटक कोभिड पीडित परिवारहरूलाई राहत दिनका लागि मापदण्ड तयार गरेको छ।
सरकारले कोभिडका कारण जीविकोपार्जन गुमाएका ५ लाख घरपरिवारलाई प्रति परिवार १० हजार रुपैयाँ दिने निर्णय गरेको छ।
अनौपचारिक क्षेत्रमा काम गर्ने मानिस, दैनिक ज्यालादारी गर्ने मजदुर, कृषि र यातायात क्षेत्रका मजदुर, र सडकमा व्यापार गर्ने मानिस यो अनुदानका लागि योग्य हुनेछन्।
प्रधान न्यायाधीश
प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका केही न्यायाधीशलाई बोलाएर सम्मानजनक बहिर्गमनका बारेमा सल्लाह गर्ने भन्दै न्यायालयमा सुधार गर्न केही समय चाहिन्छ भनेपछि न्यायालयको सङ्कट यथावत् रहेको छ।
न्यायालयको मर्यादामा आँच आउने काम गरेको भन्दै सर्वोच्च अदालतका न्यायाधीश र बार एसोसिएसनले प्रधानन्यायाधीश राणाको राजीनामा माग गरिरहेका छन्, तर राणाले भने राजीनामा नदिने बताउँदै आएका छन्।

Supreme Court of Nepal Source: Supreme Court of Nepal
आइतबार सर्वोच्च अदालतको परिसरमा बार एसोसिएसनले गरेको विरोध प्रदर्शनमा सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य भन्छन्,
"न्यायपालिकाप्रति जनआस्था बढाउनलाई, न्यायपालिकाको शुद्धीकरण गर्नलाई, न्यायपालिकाको स्वतन्त्रता कायम राख्नलाई, र शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्तलाई बरकरार राखी संविधानको जगेर्ना गर्नको लागि यो हामीले बाध्यतावश गर्नुपरेको हो।"
आन्दोलनका क्रममा सर्वोच्च अदालतका न्यायधीशहरुले अदालतको कामकारबाही रोकेपछि न्यायालयको कामकारबाही प्रभावित बनेको छ। न्यायधीशहरुले राणालाई आफ्ना लागि पेशी नतोक्न भनिरहेका छन्, तर राणाले भने त्यसो गर्न पनि मानेका छैनन्।
यस हप्ता राणाले केही वरिष्ठ न्यायधीशहरुसँग सम्मानजनक बहिर्गमनका विषयमा सल्लाह गरेका थिए, तर उनले राजीनामा दिने भन्नुको सट्टामा समय मागेपछि त्यो छलफल पनि निष्कर्षविहीन बनेको छ।
विद्युत् निर्यात
नेपालले पहिलो पटक भारतमा विद्युत् निर्यात गर्ने अनुमति पाएपछि बढी भएको विद्युत् बेच्न थालेको छ।
पहिलो चरणमा त्रिशूली र देवीघाट विद्युत् गृहबाट ३९ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईआईएक्स) मा बिक्री भएको छ।
विद्युतको माग सबभन्दा उच्च भएको समय अर्थात् तिहारकै बेलामा प्राधिकरणले गृहस्थ मागलाई व्यवस्थापन गर्दै विद्युत् निर्यात समेत गरेको छ। यसभन्दा अघि विद्युत् आयात मात्र भइरहेको ढल्केबर–मुजफ्फपुर ४ सय केभी अन्तर्देशीय प्रसारण लाइन मार्फत विद्युत् निर्यात सुरु गरिएको हो।
यो कदमलाई नेपाल भारत व्यापार सम्बन्धको र विद्युत् निर्यात गरेर आर्थिक समृद्धि कमाउने नेपालको लक्ष्यको कोशेढुंगा मानिएको छ।
कोप २६
प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनलाई सम्बोधन गर्न बनेको अन्तर्राष्ट्रिय संयन्त्र कोप २६ मा विकसित मुलुकले दिने आर्थिक सहयोग नेपाल जस्ता जोखिममा रहेका मुलुकले सोझै र सरल तरिकाले पाउनुपर्ने बताएका छन्।

Source: Sher Bahadur Deuba/ twitter
स्कटल्याण्डको ग्लास्गोमा भएको उच्चस्तरीय सत्रमा सोमबार दिउँसो उनले भने,
विश्वको औसतभन्दा उच्च दरमा तापमान वृद्धि भइरहेकाले हिमालय क्षेत्रमा हिमनदीहरू सुक्दै छन्, हिमपात कम हुँदै छ, र बरफ पग्लिँदै छ। नेपालका ८० प्रतिशत मानिस प्राकृतिक र जलवायु सम्बन्धी विपद्को जोखिममा छन्। त्यसैले म विश्वका नेताहरूलाई हिमालय क्षेत्रको विशेष जोखिमलाई मान्यता दिएर जलवायु सम्बन्धी सबै वार्तामा हिमाली क्षेत्रका मुद्दालाई प्राथमिकता दिन अनुरोध गर्दछु।
जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्र र त्यहाँका बासिन्दा विशेष जोखिममा परेको देउवाले बताएका छन्।
कोप २६ का अध्यक्ष बेलायती मन्त्री आलोक शर्माले समेत नेपालको मुस्ताङ र सोलुखुम्बु जस्ता ठाउँमा जलवायु परिवर्तनको धेरै असर परेको बताएपछि सम्मेलनमा नेपालको चर्चा भएको छ।
जलवायु परिवर्तनले नेपालमा पानीको मूल सुक्ने, हिमाली क्षेत्रका हिउँ पग्लिने र हिमताल बढ्ने लगायतका विभिन्न असर पारिरहेको समयमा यसै महिना १०० जना भन्दा बढी मानिसको ज्यान जाने गरी बेमौसममा भारी वर्षा समेत भएको थियो।
यस पछिल्लो घटनाका बारेमा पनि नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सम्मेलनमा उल्लेख गरेकी छिन्।
देउवा-मोदी वार्ता
कोप २६ कै क्रममा प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर विभिन्न द्वीदेशीय मुद्दामा वार्ता गरेका छन्।
त्यस मध्येमा, देउवाले मोदीलाई भारत हुँदै नेपाल आउने तीनवटा नयाँ हवाई मार्ग खोलिदिन अनुरोध गरेका छन्।
देउवाले भैरहवा, नेपालगन्ज र महेन्द्रनगरका लागि पनि उडान गर्ने अनुमति मागेका छन् र यसलाई भारतीय पक्षले सकारात्मक रूपमा लिएको बताइएको छ।
यसका साथै दुई जनाबीच कोभिडको खोप, रासायनिक मलको आयात लगायतका मुद्दामा वार्ता भएको बताइएको छ।
तिहार र न्हुँ दयाँ भिन्तुना
यस हप्ता हिन्दु धर्मावलम्बीले महत्त्वपूर्ण चाड तिहार मनाएका छन् भने नेवाः समुदायले म्ह पूजा र नेपाल संवतको नयाँ वर्ष मनाएका छन्।
सरकारले तिहार मनाउनका लागि काठमान्डु बाहिर जाने मानिसलाई तत्काल खोप लगाउने व्यवस्था गरेको थियो। बल्खु, कोटेश्वर, कलङ्की जस्ता प्रमुख नाकामा पाल राखेर स्वास्थ्यकर्मीले सयौँ यात्रुहरूलाई खोप लगाएका छन्।
कोरोना महामारीका कारण अरू वर्ष भन्दा कम उल्लासका साथ यी चाडबाड मनाइएका छन्, र देउसी भैलो कार्यक्रम ९ बजे भन्दा पछाडि नगर्ने नियम लागु गरिएको थियो।

Source: Nepal Tourism Board
एसबीएस रेडियोका लागि काठमान्डुबाट सेवा भट्टराई