यस वर्षको गोल्डेन ग्लोब्स अवार्डमा विविधतालाई समावेश गरी पुरस्कृत गरिएकोमा सर्वत्र प्रशंसा गरिएको छ। उत्कृष्ट प्रदर्शनका लागी नाटकीय चलचित्रको एक कलाकार देखि वर्षको उत्कृष्ट एनिमेटेड चलचित्र लाई पुरस्कृत गर्नाले हलीवूडमा रहेको विविधतालाई प्रष्ट्याएको छ।
लामो समयदेखि विविधतालाई समावेश नगरेको भन्दै आलोचित वार्षिक गोल्डेन ग्लोब्स अवार्डमा आइतबार हलीवूडले चलचित्र र टेलिभिजनका उत्कृष्ट पक्षहरूलाई सम्मान गरियो ।
तर उल्लेखनीय रचनात्मक उपलब्धिलाई मात्र सम्मान गर्ने हैन यो वर्ष गोल्डेन ग्लोब्सले यो उद्योगमा रहेको विविधतालाई समावेश गरेर एउटा बलियो सन्देश समेत दिन सफल भयो।
२०१९ को गोल्डेन ग्लोब्समा विविधताका विधाहरू उम्मेदवारीमा मात्र सीमित रहेनन्, निर्णायक मण्डलले त्यस्ता विधालाई विजेताका रूपमा समेत छनौट गरे।
संयुक्त राज्यमा आयोजना हुने प्रमुख सम्मान कार्यक्रमहरूलाई उद्घोषण गर्ने इतिहासमै पहिलो एसियाली महिला बनेकी स्याण्ड्रा ओ: ले आफ्नो भावुक भाषणका साथ कार्यक्रमको सुरुवात गरेकी थिइन।
"म यहाँ आएर यहाँ उपस्थित दर्शकहरूलाई हेर्न चाहन्थे र यो परिवर्तनको घडीको साक्षी बन्न चाहन्थे। आगामी वर्ष यो फरक हुन सक्छ, सायद हुन्छ तर अहिले यो साच्चिकै भएको छ।"
ओ:ले एन्डी स्यम्बर्गका साथमा यस कार्यक्रम सञ्चालन गरेकी थिइन र नाटक शृङ्खला 'किलिङ्ग इभ' का लागी आफ्नो दोस्रो गोल्डेन ग्लोब्स अवार्ड घर लान सफल भइन्।
हलीवूड विदेशी सञ्चार सङ्गठन (HFPA) द्वारा चुनिएका अन्य धेरै पुरस्कृतहरू भिन्न पृष्ठभूमिका रहेका थिए, जसमध्ये केही अत्यन्त सम्मानित मानिने विधाहरू समेत परेका थिए।
इजिप्सियन-अमेरिकी कलाकार रमि मलिकले बेलायती रक ब्यान्ड क्विनका प्रमुख गायक फ्रेडी मर्करीलाई असाधारण ढङ्गबाट चित्रित गरेकोमा उत्कृष्ट कलाकारको अवार्ड जिते।
मलिकले क्विनका सदस्यहरू ब्रायन मे र रोजर टेलर लाई उनीहरूको सङ्गीतमा विविधतालाई स्थान दिएकोमा धन्यवाद दिएका थिए।
कार्यक्रमका अन्य विधाहरूमा पनि विविधता प्रस्ट देखिएको थियो।

उत्कृष्ट एनिमेटेड चलचित्र स्पाइडर-म्यान बन्दा: यसको एक संस्करणमा सुपर हिरो थिए एक अफ्रिकी-ल्याटिन किशोर।
उक्त चलचित्रका उप-निर्देशक, अफ्रिकी-अमेरिकी पिटर र्यामजीले जो कोही र जुन कुनै रङ्गको व्यक्ति सुपर हिरो हुन सक्ने बताएका थिए।
उत्कृष्ट कमेडीका लागी ग्रिन बुकलाई पुरस्कृत गरियो, जुन चलचित्रमा एक अफ्रिकी-अमेरिकी पियानो वादक र उनका इटालियन- अमेरिकी चालक बिचको सम्बन्ध देखाइएको छ।
महेर्सला अलिले अफ्रिकी-अमेरिकी पियानो वादकका रूपमा खेलेको भूमिकाका लागी उत्कृष्ट सहयोगी भूमिका निर्वाह गर्ने कलाकार विधाको अवार्ड पाउन सफल भए।
अर्का गोल्डेन ग्लोब्सद्वारा पुरस्कृत ड्यारेन कृशले आफ्नी फिलिपिनो आमालाई वर्षौँ पहिले अमेरिकामा बसाई सरेकोमा धन्यवाद दिँदा दर्शकदिर्घाबाट ताली र प्रोत्साहन मिलेको थियो।





